News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनले फिफा विश्वकप २०२६ को उपाधि उचाल्दै प्रतियोगिताभर व्यक्तिगत र सामूहिक रूपमा अनेकौँ नयाँ कीर्तिमान कायम गरेको छ।
- अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३८ खेलसम्म अपराजित रहँदै स्पेनले इटालीको नाममा रहेको अघिल्लो विश्व कीर्तिमान भङ्ग गरेको छ।
- गोलरक्षक उनाइ सिमोनले प्रतियोगिताका ८ मध्ये ७ खेलमा क्लिनसिट राख्दै विश्वकप इतिहासकै नयाँ कीर्तिमान बनाएका छन्।
४ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधिसँगै स्पेनले ट्रफी मात्र जितेन, प्रतियोगिताभर व्यक्तिगत र सामूहिक दुवै क्षेत्रमा नयाँ–नयाँ कीर्तिमान पनि रच्यो ।
प्रशिक्षक लुइस डे ला फुएन्तेको टोलीले पासिङ, रक्षात्मक प्रदर्शन, क्लिनसिट, ड्रिब्लिङ र अपराजित यात्रासहित विश्वकप इतिहासका धेरै पुराना कीर्तिमान भङ्ग गरेको छ ।
सर्वाधिक पास, सर्वाधिक खेल्ने समय, अपराजित यात्रा लगायत विभिन्न कीर्तिमानहरू स्पेनले कायम गरेको छ ।
रोड्रीको विश्वकप इतिहासकै सर्वाधिक सफल पास
स्पेनका कप्तान रोड्रीले प्रतियोगिताभर ७९० सफल पास पूरा गर्दै आफ्नै विश्वकप कीर्तिमान तोडे । उनले कतार २०२२ मा बनाएको ६३८ पासको कीर्तिमानलाई निकै पछि छोडे । यसपटक उनका सहकर्मी पाउ कुबार्सी (६६८) र आयमेरिक लापोर्ते (६१८) दोस्रो र तेस्रो स्थानमा रहे ।
कुकुरेला र कुबार्सीले खेले सबैभन्दा धेरै मिनेट
स्पेनका डिफेन्डर मार्क कुकुरेला र पाउ कुबार्सीले प्रतियोगिताभर ७५० मिनेट मैदानमा बिताए । अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टरसँगै उनीहरू प्रतियोगिताका सबैभन्दा धेरै मिनेट खेल्ने आउटफिल्ड खेलाडी बने ।
ओयारजाबालको अथक मेहनत
मिकेल ओयरजाबालले प्रतियोगिताभर ५८ पटक विपक्षीबाट बल खोस्दै सबैभन्दा धेरै टर्नओभर गराए । स्पेनकै पेड्री र मोरक्कोका निल एल आयनाउई ५१–५१ टर्नओभरसहित पछाडि रहे । डानी ओल्मोले भने सबैभन्दा धेरै ३०५ डिफेन्सिभ प्रेसर दिएका खेलाडी बने ।
३८ खेलसम्म अपराजित स्पेन
फाइनलको जितसँगै स्पेनले अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३८ खेल अपराजित रहने नयाँ विश्व कीर्तिमान बनायो । मार्च २०२४ मा कोलम्बियासँग पराजित भएपछि स्पेनले २९ खेल जित्यो भने ९ खेल बराबरी खेल्यो । स्पेनले यसअघि इटालीको नाममा रहेको ३७ खेलको कीर्तिमान तोडेको हो ।

यमालको ड्रिब्लिङमा दबदबा
१९ वर्षीय लामिन यमालले प्रतियोगिताभर ३५ सफल ड्रिब्लिङ गर्दै सबैभन्दा धेरै सफल टेक-अन गर्ने खेलाडी बने । फ्रान्सका किलियन एम्बाप्पे (२८), अर्जेन्टिनाका लियोनेल मेसी (२५), ब्राजिलका भिनिसियस जुनियर (२३) र बेल्जियमका जेरेमी डोकु (२१) त्यसपछि रहे ।
विश्वकप जित्ने चौथो सबैभन्दा कान्छा खेलाडी
१९ वर्ष ६ दिनका यमाल विश्वकप जित्ने संयुक्त रूपमा चौथो सबैभन्दा कान्छा खेलाडी बने । उनीभन्दा कम उमेरमा विश्वकप जित्ने खेलाडीहरू ब्राजिलका पेले, रोनाल्डो र इटालीका जिउसेप्पे बेर्गोमी मात्र छन् । पाउ कुबार्सी पनि सातौं स्थानमा रहे ।
स्पेनको सर्वाधिक गोल
स्पेनले प्रतियोगिताभर १४ गोल गर्यो । यो विश्वकपमा स्पेनले गरेको अहिलेसम्मकै सर्वाधिक गोल हो । यसअघि सन् १९८६ मा १२ गोल गरेको स्पेनले २०१० को उपाधि यात्रामा भने केवल ८ गोल गरेको थियो ।
लगातार सात जितसहित च्याम्पियन
स्पेनले उद्घाटन खेल बराबरी खेलेपछि लगातार सात खेल जित्दै विश्वकप उचाल्यो । विश्वकप इतिहासमा ब्राजिल (२००२–०६) को लगातार ११ जितपछि यो दोस्रो उत्कृष्ट शृंखला हो ।
उनाइ सिमोनको क्लिनसिट
गोलरक्षक उनाइ सिमोनले ८ खेलमध्ये ७ खेलमा क्लिनसिट राख्दै विश्वकप इतिहासकै नयाँ कीर्तिमान बनाए । यसअघि एक संस्करणमा सबैभन्दा धेरै ५ क्लिनसिटको कीर्तिमान थियो । उनले लगातार ६५० मिनेट गोल नखाई इटालीका वाल्टर जेन्गाको ५१७ मिनेटको कीर्तिमान पनि तोडे ।

ओयरजाबाल स्पेनका महान् गोलकर्ताको सूचीमा
ओयरजाबालले प्रतियोगिताभर ५ गोल गर्दै विश्वकपको एउटै संस्करणमा स्पेनका लागि सर्वाधिक गोल गर्ने खेलाडीहरूको बराबरी गरे । यसअघि इमिलियो बुट्रागुएनो (१९८६) र डेभिड भियाले (२०१०) पनि समान ५ गोल गरेका थिए ।
फेरान टोरेसको ऐतिहासिक निर्णायक गोल
फाइनलमा बेन्चबाट आएर विजयी गोल गर्ने फेरान टोरेस विश्वकप फाइनलमा प्रतिस्थापन खेलाडीका रूपमा विजयी गोल गर्ने इतिहासकै दोस्रो खेलाडी बने । यसअघि २०१४ मा जर्मनीका मारियो गोट्जेले यस्तो उपलब्धि हासिल गरेका थिए ।
च्याम्पियन टोलीको सबैभन्दा मजबुत रक्षा
स्पेनले प्रतियोगिताभर केवल एक गोल मात्र खायो । विश्वकप जित्ने कुनै पनि टोलीले एकै संस्करणमा यति कम गोल खाएको यो पहिलो पटक हो ।
यसअघि फ्रान्स (१९९८), इटाली (२००६) र स्पेन (२०१०) ले उपाधि जित्ने क्रममा २–२ गोल बेहोरेका थिए ।
प्रतिक्रिया 4