+
+
Shares

बीपीसँग हामीले अझै गर्न बाँकी रहेको मेलमिलाप

नेपाली कांग्रेसले बी.पी.लाई स्मरण गर्न कहिल्यै छोडेको छैन। तर स्मरण, त्यो जतिसुकै हार्दिक किन नहोस्, आफैंमा निष्ठाको प्रमाण होइन। उहाँको निधनको यस वार्षिकीमा नेपाली कांग्रेसले आफ्ना संस्थापकप्रति अर्पण गर्न सक्ने सबैभन्दा सच्चा श्रद्धाञ्जली उहाँका शब्द दोहोर्‍याउनु होइन; ती शब्दलाई अधिकारपूर्वक उच्चारण गर्न सक्ने निर्णय गर्ने विवेक र नैतिक साहस पुनः प्राप्त गर्नु हो।

डा. मिनेन्द्र रिजाल डा. मिनेन्द्र रिजाल
२०८३ साउन ६ गते ९:५१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउन ६ गते बिपी कोइरालाको निधन भएको ४४ वर्ष पूरा भएको छ र यस वर्षको स्मृति दिवस नेपाली कांग्रेसका लागि असाधारण पीडादायी घडीमा परेको छ।
  • बिपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति तत्कालीन राजनीतिक गतिरोध अन्त्य गर्न र प्रजातन्त्रको आधार निर्माण गर्न निर्णायक साबित भएको थियो।
  • नेपाली कांग्रेसले संस्थापक बिपी कोइरालाको स्मृतिको नाममा राजनीति गर्नुभन्दा उहाँले स्थापित गरेको निर्णय गर्ने विवेक र नैतिक साहस पुन: प्राप्त गर्न आवश्यक छ।

आज, साउन ६ गते, बी.पी. कोइरालाको निधन भएको ४४ वर्ष पूरा भएको दिन। यस वर्षको स्मृति दिवस उहाँले स्थापना गर्नुभएको नेपाली कांग्रेसका लागि असाधारण रूपमा पीडादायी घडीमा परेको छ। प्रतिनिधिसभामा पार्टी ३८ सिटमा सीमित भएको छ। सभापति आफ्नै निर्वाचन क्षेत्रमा पराजित हुनुभएको छ। पुरानो नेतृत्व र परिवर्तनको पक्षमा उभिएको नयाँ पुस्ता बीचको दूरी झन् फराकिलो बन्दै गएको छ, र दुवैले एउटै निर्वाचन पराजयबाट ठीक विपरीत निष्कर्ष निकालेका छन्।

यति मात्र होइन, धेरै वर्षदेखि केवल स्मृतिमा सीमित रहेको ‘विभाजन’ भन्ने शब्द फेरि पार्टीभित्र गम्भीरतापूर्वक उच्चारण हुन थालेको छ। यस्तो बेला बी.पी.लाई सान्त्वनाको स्रोतका रूपमा स्मरण गर्नु सहज हुन्छ। राजनीतिक संस्थाहरू कमजोर बन्दै जाँदा उनीहरूले आफ्ना संस्थापकहरूलाई प्रायः त्यसरी नै सम्झन्छन्— आफ्नो वर्तमानलाई मापन गर्ने मापदण्डका रूपमा होइन, उनीहरूबाट वैधता सापटी लिन सकिने स्रोतका रूपमा। तर त्यो उहाँको स्मृतिप्रतिको इमानदार व्यवहार हुँदैन। बी.पी.लाई केवल उद्धृत गर्नु पर्याप्त छैन। उहाँलाई पढ्नुपर्छ।

बी.पी.लाई पढ्नु भनेको उहाँको जीवनको परिचित रूपरेखाभन्दा धेरै गहिरो कुरा भेट्टाउनु हो। त्यो रूपरेखा यति धेरै दोहोरिएको छ कि लगभग हाम्रो राजनीतिक स्मृतिकै स्थायी अंश जस्तै बनिसकेको छ— राणा शासनको शताब्दी लामो निरंकुशताको अन्त्यमा निर्णायक भूमिका खेल्ने क्रान्तिकारी; नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री; २०१७ सालको शाही कदमबाट पदच्युत गरिएका सरकारप्रमुख; आफ्ना विश्वासबाट पछि हट्नुभन्दा झण्डै आठ वर्ष कारावास रोज्ने राजनीतिक बन्दी; अनि जेल र निर्वासनका कठिन दिनहरूमा पनि राजनीतिक निबन्ध, जेल संस्मरण र उच्चस्तरीय साहित्यिक उपन्यास लेखिरहने स्रष्टा—जसका लेखनले राजनीतिक शक्तिको प्रयोगजत्तिकै मानव चरित्रका जटिल आयामहरूमा गहिरो रुचि राख्ने एउटा असाधारण मस्तिष्कको परिचय दिन्छ। तर त्यो रूपरेखाले उहाँलाई असाधारण बनाउने गुणलाई समेट्दैन।

बी.पी. त्यस्ता नेता हुनुहुन्नथ्यो, जसले अडिगता र जडतालाई एउटै कुरा ठानोस्। वर्षौंको कारावासमा पनि नझुकेका त्यही नेता पछि त्यस्तो राजनीतिक निर्णयमा पुग्नुभयो, जुन उहाँका विरोधीहरूभन्दा पनि उहाँका धेरै अनुयायीहरूलाई तत्काल बुझ्न अझ कठिन भयो। उहाँले त्यही राजसंस्था— जसले उहाँलाई आफ्नो शत्रु ठानेको थियो र वर्षौंसम्म प्रताडित गरेको थियो—उसैतर्फ मेलमिलापको हात बढाउनुभयो। वास्तवमा, उहाँको राजनेतृत्वको विशिष्टता सबैभन्दा स्पष्ट रूपमा यही निर्णयमा प्रकट भयो—मेलमिलाप आफैंमा कुनै आदर्श भएकाले होइन, त्यसलाई जन्म दिने राजकीय विवेकका कारण।

फगत स्मरण गरेजत्तिकै सहज नहुने निर्णय

सत्तरीको दशकको मध्यतिर आइपुग्दा बी.पी. एउटा गम्भीर निष्कर्षमा पुग्नुभएको थियो। जेलमुक्त भएपछि केही वर्षको निर्वासनबाट स्वदेशको राजनीतिक अवस्थालाई गहिरिएर नियाल्दा उहाँलाई के स्पष्ट भयो भने, पञ्चायती व्यवस्था विरुद्धको निरन्तर प्रत्यक्ष टकरावले देशलाई प्रजातन्त्रतर्फ अघि बढाइरहेको थिएन। त्यसले प्रजातान्त्रिक आन्दोलनलाई यस्तो राजनीतिक गतिरोधमा गुजुल्ट्याइरहेको थियो, जसलाई अन्त्य गर्ने सामर्थ्य न राज्यसँग थियो, न आन्दोलनसँग। यसको उत्तरका रूपमा उहाँले ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ अघि सार्नुभयो। यो शब्दावली पनि उहाँकै थियो। यसको सार थियो— बेमेलको भाव नराखी राजसंस्थासँग संवाद गर्दै बहुदलीय प्रजातन्त्र पुनःस्थापनाको सहमतिमूलक बाटो खोज्नु; यस्तो बाटो, जो टकरावबाट सम्भव थिएन।

पछिल्तिरबाट हेर्दा यो नीतिलाई नरमपन्थ ठान्ने, वा मेलमिलापलाई आफैंमा लक्ष्य ठान्ने प्रवृत्तिका रूपमा बुझ्ने गल्ती गरिन सजिलो छ। तर त्यो न त उदारताको प्रदर्शन थियो, न मेलमिलापका लागि मेलमिलाप। यसले अझ कठिन कुराको अपेक्षा राख्थ्यो— त्यो हो, लोकतान्त्रिक नेतृत्वले आफ्नै राजनीतिक औचित्य प्रमाणित गर्ने इच्छाभन्दा प्रजातन्त्र पुनःस्थापनाको ठूलो उद्देश्यलाई माथि राख्न सक्ने क्षमता। बी.पी.ले विगत बिर्सिन आग्रह गर्नुभएको थिएन। उहाँले केवल यति भन्नुभएको थियो कि विगत स्वयं प्रजातान्त्रिक राजनीतिलाई बन्दी बनाउने कारागारमा परिणत हुनुहुँदैन।

त्यो प्रस्तावको व्यक्तिगत र राजनीतिक मूल्य पनि कम थिएन। उहाँकै पार्टीभित्र धेरैले यसलाई आत्मसमर्पणका रूपमा बुझे। उनीहरूका दृष्टिमा यो उहाँको वर्षौंको कारावासले प्रमाणित गरेको प्रजातान्त्रिक प्रतिबद्धताकै अस्वीकार जस्तो थियो। आजीवन संघर्षका सहयात्री गणेशमान सिंह समेत—जो निर्वासनबाट उहाँसँगै नेपाल फर्कनुभएको थियो र त्यसका व्यक्तिगत जोखिमहरू पनि उत्तिकै स्वीकार गर्नुभएको थियो—यस नीतिको औचित्य र सफलताप्रति गम्भीर रूपमा आश्वस्त हुनुहुन्नथ्यो।

तर बी.पी. आफ्नो निर्णयबाट विचलित हुनुभएन। उहाँको मूल्याङ्कनमा इतिहासले त्यस क्षणमा राजनीतिक आवेगले मागेको भन्दा भिन्न प्रकारको नेतृत्व खोजिरहेको थियो। त्यसैले लोकतान्त्रिक आन्दोलनलाई केवल टकरावले दिन नसक्ने सम्भावना उपलब्ध गराउन आफ्ना निकटतम सहकर्मीहरूलाई समेत निराश पार्न उहाँ तयार हुनुभयो। आफ्नै राजनीतिक औचित्य प्रमाणित गर्नुभन्दा आफ्ना अनुयायीहरूको दीर्घकालीन हितका लागि यस्तो मूल्य चुकाउन तयार हुने नेता विरलै हुन्छन्। बी.पी. त्यस्ता विरलैमध्ये एक हुनुहुन्थ्यो।

बी.पी.ले परिकल्पना गर्नुभएको लोकतान्त्रिक नेतृत्वको अवधारणासँग साक्षात्कार गर्नु भनेको आज पनि उहाँको जीवनकालमा जत्तिकै कठिन चुनौतीसँग साक्षात्कार गर्नु हो। उहाँका लागि राजनीति विरोधीलाई परास्त गर्ने वा आफूलाई सही सावित गर्ने प्रतिस्पर्धा मात्र थिएन। उहाँको विश्वासमा, निर्णायक क्षणहरूमा नेतृत्वको उच्चतर दायित्व भनेको लोकतान्त्रिक राजनीति स्वयं जीवित रहन सक्ने आधार र वातावरणको रक्षा गर्नु थियो

इतिहासको फैसला

बी.पी.का धेरै समकालीनले उहाँको निर्णयलाई जुन उदारताका साथ मूल्याङ्कन गर्न सकेनन्, इतिहासले अन्ततः त्यसभन्दा धेरै उदार फैसला प्रदान गर्‍यो। त्यसका दुई घटनाक्रम विशेष रूपमा उल्लेखनीय छन्। पहिलो घटनाक्रम आश्चर्यजनक रूपमा छिट्टै देखा पर्‍यो। बी.पी.को स्वदेश फिर्ती र राष्ट्रिय एकता तथा मेलमिलापको नीतिले नेपालको राजनीतिक वातावरणलाई आमूल रूपमा बदलिदियो। उहाँ फर्किएको दुई वर्ष नबित्दै, देशव्यापी विद्यार्थी आन्दोलनको बढ्दो दबाब र बी.पी.ले निर्माण गर्न सहयोग पुर्‍याएको नयाँ राजनीतिक वातावरणका बीच राजसंस्थाले २०३६ सालमा राष्ट्रिय जनमतसंग्रह घोषणा गर्‍यो।

२०१७ सालपछि पहिलोपटक नेपाली जनतालाई पञ्चायती व्यवस्थालाई समसामयिक सुधारसहित निरन्तरता दिने वा बहुदलीय प्रजातन्त्र पुनःस्थापित गर्ने भन्ने विकल्प रोज्ने अवसर प्रदान गरियो। जनमतसंग्रहले तत्काल प्रजातन्त्र पुनःस्थापित गरेन। तर त्यसले प्रजातान्त्रिक संघर्षको आधारभूत चरित्र भने अपरिवर्तनीय रूपमा बदलिदियो। त्यसपछि पञ्चायती व्यवस्थाले आफूलाई निर्विवाद वैधता प्राप्त राजनीतिक व्यवस्थाका रूपमा प्रस्तुत गर्न सक्ने आधार गुमाइसकेको थियो।

दोस्रो घटनाक्रम बी.पी.को निधनपछि आयो। उहाँको निधन भएको सात वर्ष नपुग्दै, उहाँकै निकटतम सहयात्री गणेशमान सिंहले २०४६ सालको जनआन्दोलनको नेतृत्व गर्नुभयो, जसले अन्ततः शान्तिपूर्ण रूपमा नेपालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापित गर्‍यो। एक समय बी.पी.को मेलमिलापको रणनीतिको प्रभावकारितामाथि प्रश्न उठाउने त्यही सहयात्रीले अन्ततः दशकौंको एक्लो टकरावले हासिल गर्न नसकेको उपलब्धि हासिल गर्ने आन्दोलनको नेतृत्व गरे। त्यस प्रजातान्त्रिक संघर्षमा देखाएको नेतृत्वको कदरस्वरूप गणेशमान सिंह राष्ट्रका ‘सर्वोच्च नेता’ का रूपमा सम्मानित हुनुभयो।

अर्को शब्दमा भन्नुपर्दा, इतिहासले केवल एउटा राजनीतिक रणनीतिलाई होइन, त्यसलाई जन्म दिने राजकीय विवेकलाई सही ठहर्‍यायो। जुन कुरालाई उहाँका धेरै समकालीनले राजनीतिक सम्झौता ठानेका थिए, समयक्रममा त्यही कुरा विस्तारै प्रजातान्त्रिक रूपान्तरणका लागि दूरदर्शी रणनीतिका रूपमा प्रकट भयो। शायद उहाँ जीवित रहँदासम्म सबैभन्दा कम सहज रूपमा महिमामण्डन गर्न सकिने पक्ष यही थियो।

तर अन्ततः बी.पी.को विरासतको यही पक्षले उहाँलाई असाधारण उदारता र दूरदर्शिता भएका राजनेताका रूपमा दिगो प्रतिष्ठा दिलायो— व्यक्तिगत महत्त्वाकाङ्क्षा, दलगत फाइदा र आफ्नै राजनीतिक स्थानभन्दा नेपालको दीर्घकालीन प्रजातान्त्रिक भविष्यलाई सदैव माथि राख्ने नेताका रूपमा। यही बी.पी.को त्यस्तो विरासत हो, जुन पुस्तौंपुस्तासम्म नेपालीको राजनीतिक चेतनामा जीवित रहनेछ, यस कारण कि त्यसको आधार कुनै एक ऐतिहासिक क्षणको परिस्थिति होइन, त्यसलाई नाघ्ने राजनीतिक नेतृत्वको यस्तो मापदण्ड हो, जुन समयसँगै आफ्नो प्रासंगिकता गुमाउँदैन। 

आज नेपाली कांग्रेससामु खडा भएको प्रश्न

निधन भएको ४४ वर्षपछि, नेपालले सामना गरिरहेको लोकतन्त्रको प्रश्न बीपीले सामना गर्नुभएको प्रश्नभन्दा फरक छ। आजको मूल चुनौती लोकतन्त्र पुनःस्थापित गर्नु होइन; लोकतान्त्रिक राजनीतिप्रति जनविश्वास पुनःस्थापित गर्नु हो। त्यसैले उहाँको जीवनबाट आजका समस्याका तयारी उत्तरहरू खोज्नु गल्ती हुनेछ। राष्ट्रिय एकता तथा मेलमिलापको नीति एउटा विशिष्ट ऐतिहासिक परिस्थितिको उपज थियो; तर त्यस नीतिलाई जन्म दिने राजकीय विवेक कुनै एक युगमा सीमित छैन। यही भिन्नता निर्णायक छ। बी.पी.को नैतिक अधिकार उहाँको आफ्नै विगतप्रतिको निष्ठामा आधारित थिएन। बरु, देशको प्रजातान्त्रिक भविष्यले माग गर्दा स्थापित मान्यताहरूलाई समेत पुनर्विचार गर्ने उहाँको साहसमा आधारित थियो। त्यसैले आजको प्रश्न नेपाली कांग्रेस उहाँका नीतिहरूप्रति अक्षरशः निष्ठावान् छ कि छैन भन्ने होइन। कुनै पनि गम्भीर राजनीतिक परम्परा अर्को युगका उत्तरहरू यान्त्रिक रूपमा दोहोर्‍याएर जीवित रहँदैन। वास्तविक प्रश्न त यो हो— के त्यस्ता उत्तरहरू पर्गेल्न सक्ने विवेक नेपाली कांग्रेसमा आज पनि बाँकी छ?

आफ्नो वर्तमान संकटको आकार सानो देखाएर पार्टीले यो प्रश्नबाट उम्कन सक्दैन। प्रतिनिधिसभामा सबैभन्दा ठूलो भए पनि सीमित प्रतिपक्षमा खुम्चिएको पार्टीले केवल निर्वाचनमा पराजय बेहोरेको छैन; उसले आत्मविश्वासको गम्भीर संकट पनि भोगिरहेको छ। यसलाई सामान्य राजनीतिक उतारचढाव भनेर टार्न सकिंदैन, न त समय आफैंले सबै समस्या समाधान गरिदिन्छ भन्ने आशामा बस्न सकिन्छ। निर्वाचनले नेतृत्वको प्रश्न पनि टुङ्ग्याएको छैन; बरु त्यसलाई अझ गहिरो बनाइदिएको छ।

पुरानो नेतृत्व र परिवर्तनको पक्षमा उभिएको नयाँ पुस्ताले एउटै पराजयबाट उल्लेखनीय रूपमा फरक निष्कर्ष निकालेका छन्। एउटा पक्ष समस्याको जरो संगठनात्मक क्षय र अनुशासनको शिथिलतामा देख्छ; अर्को पक्ष बदलिंदो समाजसँग पार्टीको सम्बन्ध, नेतृत्वको नवीकरण र कार्यशैलीमा आवश्यक परिवर्तन हुन नसक्नुमा। यी दुवै विश्लेषण पूर्णतः असंगत छैनन्। तर कुनै पनि आफैंमा पर्याप्त छैन। समस्या त्यतिबेला शुरु हुन्छ, जब दुवैले एकअर्कालाई पुनरुत्थानको अपरिहार्य साझेदारका रूपमा होइन, प्रमुख अवरोधका रूपमा हेर्न थाल्छन्।

बी.पी.को सबैभन्दा ठूलो विरासत नेपाललाई आफ्ना विरोधीसँग मेलमिलाप गर्न सिकाउनुमा थिएन। उहाँको सबैभन्दा ठूलो शिक्षा त लोकतान्त्रिक नेतृत्वलाई कुन क्षणमा आफ्नै औचित्य प्रमाणित गर्नुभन्दा मेलमिलाप नै उच्चतर राजनीतिक दायित्व बन्छ भन्ने देखाउनुमा थियो

यही बिन्दुमा आइपुग्दा बी.पी.को उदाहरण केवल स्मरणको विषय रहँदैन; त्यो समकालीन नेतृत्वलाई नाप्ने मापदण्ड बन्छ। उहाँको गहिरो अन्तर्दृष्टि केवल राजसंस्थासँग मेलमिलाप सम्भव छ भन्नेमा थिएन। उहाँको वास्तविक शिक्षा त यो थियो कि कुनै दलले आफूलाई सही साबित गर्ने आग्रहलाई आवश्यकता सकिएपछि पनि छोड्न नसके, न्यायोचित गुनासोहरू समेत प्रगतिका अवरोध बन्न सक्छन्।

आज नेपाली कांग्रेसभित्रका मतभेद असमाधेय वैचारिक विरोधाभासका कारण उत्पन्न भएका होइनन्। ती पुस्तागत दृष्टिकोण, नेतृत्वको वैधता र एउटै असफलतालाई फरक-फरक ढङ्गले व्याख्या गर्ने प्रवृत्तिबाट जन्मिएका मतभेद हुन्— यस्ता मतभेद, जुन कुनै पनि जीवित लोकतान्त्रिक दलमा स्वाभाविक हुन्छन्। तर जब एकअर्कामाथि विजय प्राप्त गर्ने आकाङ्क्षाले संस्थालाई जोगाउने दायित्वलाई उछिनेर अघि बढ्न थाल्छ, त्यही क्षण ती मतभेद खतरनाक बन्छन्।

इतिहासले कुनै सुनिश्चितता दिंदैन; उसले केवल मापदण्ड छोडेर जान्छ। इतिहासले आफूलाई कहिल्यै हुबहु दोहोर्‍याउँदैन। तर हरेक राजनीतिक पुस्ताले अन्ततः एउटै प्रकारको प्रश्नको सामना गर्नुपर्छ— आफ्नो समय र परिस्थितिले निर्धारण गरेका सीमाभित्र रहेर पनि आफूभन्दा ठूलो कुनै उद्देश्य जोगाउन ऊ के त्याग गर्न तयार छ?

 बी.पी.सँग हामीले अझै गर्न बाँकी रहेको मेलमिलाप

जब कुनै राजनीतिक दल अनिश्चितता र संकटको चरणमा प्रवेश गर्छ, त्यसका संस्थापकको स्मृतिमा आश्रय खोज्ने प्रलोभन स्वाभाविक रूपमा जन्मिन्छ। यो अस्वाभाविक पनि होइन। संस्थापकहरूले प्रायः त्यस्तो समयको प्रतिनिधित्व गर्छन्, जब कुनै दल उद्देश्यमा एकताबद्ध देखिन्थ्यो, आफ्नो दिशाप्रति विश्वस्त थियो, र इतिहासमा आफ्नो स्थानबारे आशंकामुक्त थियो। तर स्मृति कहिलेकाहीं आत्मपरीक्षणको विकल्प पनि बन्न सक्छ। संस्थाहरूले आफ्ना संस्थापकलाई सबैभन्दा बढी सम्मान गरिरहेका हुन्छन्, ठीक त्यही बेला उनीहरूले ती संस्थापकले स्थापित गरेका मापदण्ड सामना गर्न भने सबैभन्दा कम तयार रहेका हुन्छन्।

नेपाली कांग्रेसले बी.पी.लाई स्मरण गर्न कहिल्यै छोडेको छैन। तर स्मरण, त्यो जतिसुकै हार्दिक किन नहोस्, आफैंमा निष्ठाको प्रमाण होइन। उहाँको निधनको यस वार्षिकीमा नेपाली कांग्रेसले आफ्ना संस्थापकप्रति अर्पण गर्न सक्ने सबैभन्दा सच्चा श्रद्धाञ्जली उहाँका शब्द दोहोर्‍याउनु होइन; ती शब्दलाई अधिकारपूर्वक उच्चारण गर्न सक्ने निर्णय गर्ने विवेक र नैतिक साहस पुनः प्राप्त गर्नु हो।

बी.पी.ले परिकल्पना गर्नुभएको लोकतान्त्रिक नेतृत्वको अवधारणासँग साक्षात्कार गर्नु भनेको आज पनि उहाँको जीवनकालमा जत्तिकै कठिन चुनौतीसँग साक्षात्कार गर्नु हो। उहाँका लागि राजनीति विरोधीलाई परास्त गर्ने वा आफूलाई सही सावित गर्ने प्रतिस्पर्धा मात्र थिएन। उहाँको विश्वासमा, निर्णायक क्षणहरूमा नेतृत्वको उच्चतर दायित्व भनेको लोकतान्त्रिक राजनीति स्वयं जीवित रहन सक्ने आधार र वातावरणको रक्षा गर्नु थियो।

यही विश्वासले उहाँलाई राजसंस्थासँग राष्ट्रिय एकता तथा मेलमिलापको नीति अघि सार्न प्रेरित गर्‍यो। त्यो न विगत बिर्सने आग्रह थियो, न आत्मसमर्पण। त्यो राजकीय विवेकको निर्णय थियो। बी.पी.ले खोज्नुभएको राष्ट्रिय एकता तथा मेलमिलाप अब इतिहासको विषय बनिसकेको छ। तर उहाँप्रति नेपाली कांग्रेसले निर्वाह गर्न बाँकी रहेको मेलमिलाप इतिहासको विषय बनेको छैन। त्यो कुनै पुरानो राजनीतिक युगमा फर्किने भावुक आग्रह होइन। बरु, उहाँको जीवनले स्थापित गरेको निर्णय गर्ने विवेक, संयम र उदारताको मापदण्डसँग पुनः मेलमिलाप गर्ने आह्वान हो— राष्ट्र र लोकतन्त्रको दीर्घकालीन हितलाई तत्कालको व्यक्तिगत औचित्य वा राजनीतिक विजयभन्दा माथि राख्न सक्ने क्षमतासँग पुनः जोडिने आह्वान।

बी.पी.को विरासतको सबैभन्दा गहिरो र चुनौतीपूर्ण पक्ष पनि यही हो। किनभने यसले उहाँको नाम लिने हरेक पुस्तासँग एउटा कठिन प्रश्न सोध्छ- के हामी कुनै बहस जित्नु र त्यस बहसले सेवा गर्नुपर्ने लोकतान्त्रिक उद्देश्यको रक्षा गर्नु बीचको भिन्नता छुट्याउन सक्षम छौं?

यी प्रश्नहरू नेपाली कांग्रेसका लागि मात्र होइनन्; आफ्नो स्थापनाको ऐतिहासिक क्षणभन्दा दीर्घकालसम्म जीवित रहन चाहने हरेक लोकतान्त्रिक दलका लागि हुन्। तर नेपाली कांग्रेसका लागि तिनको महत्त्व अझ बढी छ, किनभने बी.पी.लाई आफ्नो संस्थापकका रूपमा दाबी गर्ने पार्टीलाई उहाँले स्थापित गर्नुभएको राजनीतिक अनुशासनबाट आफूलाई मुक्त ठान्ने सुविधा छैन।

बी.पी.को सबैभन्दा ठूलो विरासत नेपाललाई आफ्ना विरोधीसँग मेलमिलाप गर्न सिकाउनुमा थिएन। उहाँको सबैभन्दा ठूलो शिक्षा त लोकतान्त्रिक नेतृत्वलाई कुन क्षणमा आफ्नै औचित्य प्रमाणित गर्नुभन्दा मेलमिलाप नै उच्चतर राजनीतिक दायित्व बन्छ भन्ने देखाउनुमा थियो। बी.पी. कोइराला आज पनि केवल उद्धृत गरिनुभन्दा बढीका अधिकारी हुनुहुन्छ। उहाँलाई पढिनुपर्छ।

लेखक
डा. मिनेन्द्र रिजाल

डा. मिनेन्द्र रिजाल नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?