News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनले विश्वकप जितेपछि त्यहाँका नागरिकले उत्सव र जिम्मेवारीबीचको सन्तुलन कायम गर्दै भोलिपल्टै नियमित काममा फर्केर अनुशासनको उदाहरण प्रस्तुत गरेका छन्।
- फुटबलको विश्वकपले स्पेनमा रहेका फरक पहिचान, भाषा र राजनीतिक मतभेद बोकेका मानिसहरूलाई केही क्षणका लागि एउटै राष्ट्रिय भावनामा उभ्याउन सफल भएको छ।
- विश्वकपको ट्रफी केवल खेलको जित नभई लाखौँ मानिसलाई एकताबद्ध गरी समाजको साझा भावना सिर्जना गर्ने ऐतिहासिक क्षणका रूपमा स्पेनमा देखिएको छ।
६ साउन, बार्सिलोना । स्पेन बस्न थालेको डेढ दशक बितिसक्यो। यो अवधिमा मैले ला लिगाका अनगिन्ती खेल देखेँ। ‘एल क्लासिको’ को उन्माद नजिकबाट महसुस गरेँ। युरोकप जित्दा स्पेन कसरी उत्सवमा डुब्छ भन्ने पनि देखेँ। तर, आफ्नै देशको टोली विश्वकपको फाइनल खेल्दा स्पेन कस्तो बन्छ भन्ने दृश्य भने यसपालि पहिलोपटक पत्रकारको आँखाले हेर्ने अवसर पाएँ।
विश्वकप फाइनलको दिन बिहान बार्सिलोनाको मेट्रोमा यात्रा गरिरहँदा एकछिन लाग्यो- सायद आज विश्वकप फाइनल हुँदै छैन। आइतबारको बिहान भएकाले सहर आफ्नै नियमित लयमा थियो। मानिसहरू आरामसँग दैनिकीमा व्यस्त थिए। कसैले हातमा कफी बोकेका थिए, कोही मोबाइलको स्क्रिनमा हराइरहेका थिए, कोही कानमा इयरफोन लगाएर यात्रामा मग्न थिए।
परिवारहरू किनमेलका लागि निस्किएका थिए। केही रेस्टुरेन्ट र क्याफे खुलिसकेका थिए। सुपरमार्केटमा सामान्य चहलपहल थियो भने धेरैजसो पसल आइतबार भएकाले बन्द थिए। पर्यटकहरू सग्रादा फामिलिया, ला राम्ब्ला र बार्सिलोनाको समुद्रकिनारमा तस्बिर खिच्न व्यस्त थिए। कतैबाट पनि केही घण्टापछि विश्व फुटबलको सबैभन्दा ठूलो खेल हुँदै छ भन्ने आभास पाइँदैनथ्यो।
विश्वकपको उपाधिका लागि स्पेन अर्जेन्टिनासँग भिड्न लागेको थियो। पूरा देशको नजर एउटै खेलमा केन्द्रित हुनुपर्ने दिन थियो, तर बिहानको बार्सिलोना असाधारणभन्दा पनि सामान्य देखिन्थ्यो।
त्यही बेला मैले मोबाइल खोलेँ। नेपाल भने अर्कै संसारमा थियो। फेसबुक, टिकटक र अन्य सामाजिक सञ्जाल विश्वकपकै बहसले भरिएका थिए। कसैले स्पेनको सम्भावित सुरुवाती टोली सार्वजनिक गरिरहेको थियो। कसैले अर्जेन्टिनाको रणनीति विश्लेषण गर्दै थियो।
मेस्सीका समर्थकहरू अर्जेन्टिनाको पक्षमा खुलेका थिए भने रोनाल्डोका धेरै समर्थक स्पेनतिर उभिएका देखिन्थे। हजारौँ किलोमिटर टाढा रहेको नेपाल बिहानैदेखि विश्वकपमै बाँचिरहेको थियो। विश्वकप खेल्ने देश स्पेन भने अझै आफ्नो नियमित लयमै थियो। यो दृश्यले मलाई सोच्न बाध्य बनायो।
हाम्रोतिर विश्वकप सुरु हुनुभन्दा धेरै अघि नै बहस सुरु हुन्छ। चियापसलदेखि सामाजिक सञ्जालसम्म, साथीभाइको जमघटदेखि कार्यालयसम्म- सबैतिर फुटबलकै चर्चा हुन्छ। खेल सुरु हुनुअघि नै लाखौँ प्रशिक्षक, विश्लेषक र टिप्पणीकार जन्मिसकेका हुन्छन्। कसैले टोली चयनको आलोचना गर्छ, कसैले प्रशिक्षकलाई रणनीति सिकाउँछ, कसैले रेफ्रीको निर्णयमाथि बहस गर्छ।
यहाँ फुटबलप्रतिको प्रेम असाध्यै छ, तर त्यो प्रेमले मानिसको दैनिकीलाई नियन्त्रण गर्दैन। यहाँ फुटबलप्रति मोह छ, तर त्यो मोहले अनुशासनलाई विस्थापित गर्दैन। उत्सव मनाउने बेला आएपछि मानिसहरू पूर्ण रूपमा उत्सवमा डुब्छन्, तर त्यसअघि जीवन आफ्नै लयमा चलिरहन्छ। सायद यही कारणले स्पेनले फुटबललाई हेर्ने होइन, बाँच्ने तरिका संसारका धेरै देशको भन्दा फरक छ।
यहाँ विश्वकप चार वर्षमा एकपटक आउँछ, तर फुटबल हरेक हप्ता हुन्छ। शनिबार-आइतबार ला लिगा हुन्छ। मङ्गलबार-बुधबार च्याम्पियन्स लिग हुन्छ। बिहान रेडियो खोल्दा फुटबल, पत्रिका पल्टाउँदा फुटबल, बारमा जाँदा फुटबलकै बहस। फुटबल यहाँ कुनै असाधारण घटना होइन, दैनिक जीवनको एउटा स्वाभाविक हिस्सा हो। त्यसैले विश्वकप फाइनलले बिहानको दैनिकी रोक्दैन। तर त्यसले रातलाई इतिहासमा बदल्न सक्छ।
साँझ पर्न थालेपछि मैले बिहान देखेको बार्सिलोना विस्तारै बदलिँदै गएको देखेँ। मेट्रोका डिब्बाभित्र स्पेनको जर्सीको सङ्ख्या बढ्दै गयो। बिहान कफीको कप बोकेर हिँडेका मानिसहरू अब स्पेनको झन्डा काँधमा बेरेर यात्रा गरिरहेका थिए। स्टेसनहरूमा गीत गुञ्जिन थाले। कतै तीन पुस्ता एउटै जर्सीमा थिए। कतै साना बालबालिकाको अनुहार स्पेनको झन्डाको रङले रङ्गिएको थियो।
मानौँ, बिहान आफ्नो काममा व्यस्त देखिएको सहरले साँझ एउटा नयाँ परिचय धारण गरिरहेको थियो।
बार्सिलोना महानगरपालिकाले अपेक्षाभन्दा धेरै समर्थक आउने अनुमान गर्दै अन्तिम समयमा सार्वजनिक स्क्रिनको स्थान नै परिवर्तन गरेको थियो। सुरुमा लेस कोर्ट्समा राख्ने योजना रहेको विशाल स्क्रिन अन्ततः फोरुमको प्लेटाफोर्मा मरिनामा सारियो। त्यहाँ पर्यटक थिए। आप्रवासी थिए। ल्याटिन अमेरिकी थिए। अफ्रिकी मूलका परिवार थिए। एसियाली अनुहार पनि उत्तिकै थिए।

फाइनल खेलको कथा भने मैदानभित्र मात्र सीमित रहनेवाला थिएन। अन्तिम सिटीसँगै बार्सिलोनाका सडकहरूको दृश्य फेरियो। गाडीका हर्न लगातार बज्न थाले। सार्वजनिक स्क्रिन, बार र रेस्टुरेन्टबाट निस्किएको भिड विस्तारै प्लासा कातालुन्या, पासेइग दे ग्रासिया, समुद्रकिनार र सहरका मुख्य सडकतर्फ फैलियो।
उस्तै दृश्य म्याड्रिड, भ्यालेन्सिया, सेभिया, बिल्बाओ र देशका अन्य सहरहरूमा पनि देखियो। विशेषगरी म्याड्रिडको सिबेलेस क्षेत्रमा हजारौँ समर्थक बिहानसम्म उत्सवमा सहभागी रहे। विश्वकप जितेको उत्सव रातभर चलेको थियो। सामाजिक सञ्जालमा भिडियोहरू छाइरहेका थिए।
तर बिहान भएपछि सहर फेरि आफ्नै लयमा फर्किसकेको थियो। मानिसहरू काममा निस्किसकेका थिए। सुपरमार्केटमा किनमेल गर्नेहरूको चहलपहल उस्तै थियो। सरकारले सार्वजनिक बिदा घोषणा गरेन। विश्वकप जितेको खुसी अनुहारमा झल्कन्थ्यो, तर त्यसले दैनिकीलाई अव्यवस्थित बनाएको थिएन।
सायद यही दृश्यले मलाई सबैभन्दा धेरै सोच्न बाध्य बनायो। हामीकहाँ ठूलो सफलतापछि उत्सव धेरै दिनसम्म चल्छ। बहस, चर्चा र भावनाले दैनिकीलाई समेत प्रभाव पार्छ। तर स्पेनमा मैले उत्सव र जिम्मेवारीबीचको एउटा सन्तुलन देखेँ। खुसी मनाउने बेला उनीहरू पूरै खुलेर मनाउँछन्, तर त्यो सकिएपछि फेरि आफ्नो जिम्मेवारीमा फर्किन्छन्।
यसपटक स्पेनिस सञ्चारमाध्यमहरूले पनि नयाँ पाठ सिकाए। मैले ‘एल पाइस’, ‘ला भान्गार्डिया’, ‘एल मुन्डो’, ‘मार्का’, ‘एएस’ लगायतका पत्रपत्रिका पढ्दै जाँदा एउटा समानता भेटेँ।
उनीहरूले केवल खेलको स्कोर, रणनीति वा गोलको विश्लेषण मात्र लेखेका थिएनन्। उनीहरूले समाजका कथा खोजेका थिए।
कसैले लामिन यामालको सफलतालाई एउटा आप्रवासी परिवारको सपना पूरा भएको कथाका रूपमा प्रस्तुत गरे। कसैले सन् २०१० मा बाबुको काँधमा बसेर आन्द्रेस इनिस्टाको गोल हेरेको बालकले अहिले आफ्नै छोरालाई काँधमा राखेर दोस्रो विश्वकप जित मनाइरहेको तस्बिरलाई पहिलो पृष्ठमा स्थान दिए। कतै वृद्ध समर्थकका आँसु समाचार बने। कतै सार्वजनिक स्क्रिनमा भेटिएका तीन पुस्ताको एउटै परिवार।

त्यतिबेला मलाई महसुस भयो- स्पेनमा विश्वकपको सबैभन्दा ठूलो कथा ट्रफी होइन, त्यो ट्रफीले समाजमा सिर्जना गरेको साझा भावना हो। विश्वकपको कथा फाइनलको रातमै टुङ्गिएन। राष्ट्रिय टोली ट्रफीसहित म्याड्रिड फर्किँदा राजधानीले फेरि अर्को इतिहास देख्यो। विजय उत्सवमा लाखौँ समर्थक सडकमा उत्रिए।
स्पेनलाई बुझ्न फुटबल मात्र बुझेर पुग्दैन, यसको इतिहास र राजनीति पनि बुझ्नुपर्छ। ला लिगा सुरु भएपछि बार्सिलोना र रियल म्याड्रिडबीचको प्रतिद्वन्द्विता केवल खेलमा सीमित रहँदैन। त्यसमा क्याटालोनियाको पहिचान, भाषा, इतिहास र राजनीतिक बहस पनि मिसिएको हुन्छ।
बार्सिलोनाको मैदानमा क्याटालोनियाको झन्डा फहरिन्छ। म्याड्रिडमा रियल म्याड्रिडको विजय सिबेलेसमा मनाइन्छ। वर्षभरि यी दुई पहिचान फरक-फरक देखिन्छन्। तर विश्वकपको रात मैले अर्को स्पेन देखेँ।
त्यहाँ कसैले तपाईं ‘बार्सिलोनाका समर्थक कि रियल म्याड्रिडका ?’ भनेर सोधेन। सायद यही विश्वकपको सबैभन्दा ठूलो शक्ति हो। लाखौँ मानिसलाई एउटै भावनामा उभ्याउन सक्ने त्यो अद्भुत क्षमता नै स्पेनको सबैभन्दा ठूलो जित थियो।
विश्वकप सकियो। ट्रफी अब सङ्ग्रहालयमा पुग्नेछ। खेलाडीहरू आ-आफ्नो क्लबमा फर्किनेछन्। समर्थकहरू फेरि ला लिगा, च्याम्पियन्स लिग र नयाँ सिजनका बहसमा व्यस्त हुनेछन्। केही सातापछि सायद यो उत्सव पनि अर्को स्मृतिमा सीमित हुनेछ।
मैले यहाँ डेढ दशक बिताएँ। यो अवधिमा धेरै चुनाव देखेँ, राजनीतिक आन्दोलन देखेँ, क्याटालोनियाको स्वतन्त्रताको बहस देखेँ, आर्थिक सङ्कटका चर्चा देखेँ, महामारी पनि देखेँ। धेरैपटक समाचारका शीर्षकहरूले स्पेनलाई विभाजित देशका रूपमा चित्रित गरे। कहिले भाषा, कहिले राजनीति, कहिले क्षेत्रीय पहिचान, कहिले क्लब फुटबल- स्पेनलाई छुट्टाछुट्टै कोणबाट चिनाइयो।
तर विश्वकपको त्यो रात ती सबै शीर्षक केही घण्टाका लागि हराए। त्यो रात मानिसहरू कसैले आफू क्याटालान हो कि अन्दालुसियन, बास्क हो कि म्याड्रिड भनेर चिनाएनन्। कसैले आफू बार्सिलोनाको समर्थक कि रियल म्याड्रिडको समर्थक भनेर पनि परिचय दिएन। सायद खेलको वास्तविक शक्ति त्यही हो।
खेलले सधैँ समस्या समाधान गर्दैन। राजनीतिक मतभेद पनि अन्त्य गर्दैन। इतिहास बदल्दैन। तर केही क्षणका लागि मानिसहरूलाई एउटै भावनामा उभ्याउने क्षमता भने खेलसँग हुन्छ। विश्वकपले यसपटक स्पेनमा त्यही गर्यो।

नेपाल सम्झिएँ। हामीकहाँ पनि विश्वकपको उन्माद कम हुँदैन। सायद कतिपय अवस्थामा खेल्ने देशमा भन्दा पनि बढी हुन्छ। हामी महिनौँअघि नै समर्थक बन्छौँ। बहस गर्छौं, विश्लेषण गर्छौं, सामाजिक सञ्जाल रङ्गिन्छ। कहिलेकाहीँ त हामी खेल हेर्नुभन्दा बहस गर्नमै बढी समय खर्च गर्छौं।
समर्थन भनेको ठूलो स्वरमा कराउनु मात्र होइन, आवश्यक बेला एक ठाउँमा उभिन सक्नु पनि हो। उत्सव भनेको धेरै दिनसम्म सडकमा बसिरहनु मात्र होइन, जिम्मेवारी पूरा गर्दै खुसी मनाउन सक्नु पनि हो। र, राष्ट्रिय गौरव भनेको केवल झन्डा फहराउनु मात्र होइन, त्यो गौरवलाई दैनिक जीवनको अनुशासनसँग जोड्न सक्नु पनि हो।
मैले देखेको वास्तविक स्पेन मैदानभित्र थिएन। त्यो मेट्रोमा थियो। सार्वजनिक स्क्रिन अगाडि थियो। आप्रवासी र स्थानीय एउटै झन्डामुनि उभिएको दृश्यमा थियो। र, अर्को बिहान कुनै हल्ला नगरी फेरि समयमै काममा फर्किएको अनुशासित समाजमा थियो। त्यसैले यो लेख विश्वकपको कथा मात्र होइन।
यो मैले डेढ दशकदेखि बस्दै आएको देशलाई एउटा ऐतिहासिक रातमा फेरि एकपटक नयाँ आँखाले हेरेको कथा हो। सायद त्यसैले, मेरो लागि स्पेनले जितेको सबैभन्दा ठूलो ट्रफी सुनको कप होइन। त्यो त लाखौँ फरक भाषा, फरक विचार, फरक इतिहास र फरक पहिचान बोकेका मानिसलाई केही घण्टाका लागि भए पनि एउटै ‘हामी’ मा उभ्याउन सक्ने क्षमता हो।
ट्रफी समयसँगै सङ्ग्रहालयमा पुग्छ। पदक खेलाडीहरूको सम्झनामा रहन्छ। गोलका दृश्यहरू इतिहासका अभिलेखमा सुरक्षित हुन्छन्। तर एउटा राष्ट्रको वास्तविक विजय त्यतिबेला देखिन्छ, जब लाखौँ अपरिचित मानिस एउटै खुसीमा मुस्कुराउँछन्, एउटै गीत गाउँछन्, एउटै झन्डामुनि उभिन्छन् र भोलिपल्ट फेरि कुनै होहल्ला नगरी आफ्नै जिम्मेवारीमा फर्किन्छन्। सायद त्यसैले, मैले स्पेनलाई विश्वकप जितेको मात्र देखिनँ, मैले एउटा समाज जितेको देखेँ।


प्रतिक्रिया 4