News Summary
Generated by OK AI. Editorially reviewed.- हरेक वर्ष साउन ६ गते नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइन्छ।
- कांग्रेसले बीपी कोइरालाले देखाएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मार्गलाई आत्मसाथ गर्दै आन्तरिक गुटबन्दी अन्त्य गरी जनविश्वास पुनः आर्जन गर्नुपर्ने देखिन्छ।
- परिवर्तित समयमा युवा पुस्ताको अपेक्षाअनुसार कार्यसम्पादन, पारदर्शिता र इमानदारीलाई प्राथमिकता दिएमा मात्र बीपीको विचार जीवन्त रहने र कांग्रेस बलियो हुनेछ।
हरेक वर्ष साउन ६ गते नेपाली कांग्रेसका संस्थापक नेता, नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका महानायक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवस मनाइन्छ। उहाँको तस्बिरमा माल्यार्पण गरिन्छ, विचारमाथि चर्चा हुन्छ, लोकतन्त्र र समाजवादका भाषण सुनिन्छन्। तर एउटा प्रश्न बारम्बार मनमा उठ्छ- के हामी बीपीलाई केवल सम्झिरहेका छौँ कि उहाँले देखाएको बाटोमा पनि हिँडिरहेका छौँ ?
बीपी कोइरालाको राजनीति कुनै व्यक्ति, परिवार वा गुटको वरिपरि केन्द्रित थिएन। उहाँका लागि राजनीति भनेको जनताको विश्वास जित्ने माध्यम, राष्ट्र निर्माणको अभियान र लोकतन्त्रलाई जीवनपद्धति बनाउने साधन थियो। उहाँले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र मेलमिलापलाई नेपाली राजनीतिको आधारशिला बनाउनुभयो। उहाँको दृष्टिमा लोकतन्त्र केवल निर्वाचन जित्नु होइन, फरक विचारको सम्मान गर्नु, योग्य व्यक्तिलाई अवसर दिनु र जनताप्रति जवाफदेही हुनु पनि हो।
आज नेपाली कांग्रेस देशको सबैभन्दा पुरानो र लोकतान्त्रिक इतिहास बोकेको दल हो। यसले लोकतन्त्रका लागि असङ्ख्य बलिदान दिएको छ। हजारौँ कार्यकर्ताको त्याग र सङ्घर्षले आजको लोकतान्त्रिक व्यवस्था स्थापित भएको हो।
त्यसैले कांग्रेसप्रति जनताको अपेक्षा पनि स्वाभाविक रूपमा बढी छ। तर दुर्भाग्यवश, पछिल्ला वर्षहरूमा पार्टीभित्र देखिएका विवाद, गुटगत प्रतिस्पर्धा, नेतृत्वप्रतिको असन्तुष्टि र सङ्गठनात्मक कमजोरीले जनविश्वासमा प्रश्न उठ्न थालेका छन्।
आज कांग्रेसको सबैभन्दा ठूलो चुनौती बाहिरी प्रतिस्पर्धी दल होइन, आफ्नै आन्तरिक कमजोरी हो। विचारभन्दा व्यक्ति, सङ्गठनभन्दा गुट, नीतिभन्दा पद र योगदानभन्दा पहुँचको संस्कृति विस्तार हुँदै गएको अनुभूति धेरै कार्यकर्ताले गरेका छन्। पार्टीभित्र फरक मत राख्नेहरूलाई प्रतिद्वन्द्वीका रूपमा हेर्ने प्रवृत्तिले लोकतान्त्रिक संस्कारलाई कमजोर बनाएको छ। बीपीले कल्पना गर्नुभएको कांग्रेस यस्तो थिएन।
राजनीतिमा परिवर्तनको चाहना सधैँ जनताबाट सुरु हुन्छ। अहिले नेपाली समाजमा पनि त्यही परिवर्तनको माग स्पष्ट देखिन्छ। काठमाडौँ महानगरका प्रमुख वालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, सांसद डा. मनिष झा, अमरेशकुमार सिंहलगायत धेरै व्यक्तित्वले सुशासन, पारदर्शिता, परिणाममुखी नेतृत्व र जवाफदेहिताको विषयलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएका छन्। उनीहरूको राजनीतिक यात्रा फरक हुन सक्छ, तर उनीहरूले उठाएका धेरै प्रश्न लोकतान्त्रिक शासन प्रणालीलाई अझ प्रभावकारी बनाउने दिशातर्फ केन्द्रित छन्।
यहीँनेर नेपाली कांग्रेसले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ। जनताले किन नयाँ विकल्प खोजिरहेका छन् ? किन युवा पुस्ता परम्परागत दलबाट टाढिँदै गएको अनुभूति हुन्छ ? यसको उत्तर केवल सामाजिक सञ्जाल वा प्रचारमा खोजेर पुग्दैन। उत्तर पार्टीभित्रको व्यवहार, निर्णय प्रक्रिया र जनतासँगको सम्बन्धमा खोज्नुपर्छ।
बीपीले राजनीतिमा युवाशक्तिलाई परिवर्तनको संवाहक मान्नुभएको थियो। उहाँ स्वयम् पनि अपेक्षाकृत कम उमेरमै राष्ट्रिय नेतृत्वमा स्थापित हुनुभएको थियो। उहाँले ‘नेतृत्व जन्मिँदैन, अवसर र सङ्घर्षबाट निर्माण हुन्छ’ भन्ने विश्वास राख्नुभयो। आज पनि कांग्रेसले यही शिक्षा आत्मसात् गर्न आवश्यक छ। युवालाई नारा लगाउने, झन्डा बोक्ने वा चुनावका बेला परिचालन गर्ने शक्ति मात्र होइन, नीति निर्माण र नेतृत्वको साझेदार बनाउनु समयको माग हो।
आजका युवाले वंश, पद वा इतिहासभन्दा बढी परिणाम खोज्छन्। उनीहरू पारदर्शिता, क्षमता, इमानदारी र उत्तरदायित्व हेर्छन्। त्यसैले कांग्रेसले आफ्ना ऐतिहासिक उपलब्धि मात्र सुनाएर भविष्य निर्माण गर्न सक्दैन। इतिहास गौरव हो, तर भविष्यको ग्यारेन्टी होइन। भविष्यका लागि नयाँ सोच, नयाँ कार्यशैली र नयाँ विश्वास आवश्यक हुन्छ।
बीपीको अर्को ठूलो विशेषता आत्मालोचनाको साहस थियो। उहाँ आफ्ना विचारमा दृढ हुनुहुन्थ्यो, तर आलोचनासँग डराउनुहुन्नथ्यो। लोकतन्त्रमा असहमति कमजोरी होइन, शक्ति हो भन्ने उहाँको विश्वास थियो। आज कांग्रेसभित्र पनि खुला बहस, वैचारिक विमर्श र फरक मतको सम्मानलाई संस्थागत गर्न सकियो भने सङ्गठन अझ बलियो बन्न सक्छ।
पार्टीलाई पुनर्जीवित गर्न केही आधारभूत सुधार अपरिहार्य देखिन्छ। सङ्गठनलाई गुटमुक्त बनाउने, आन्तरिक लोकतन्त्रलाई व्यवहारमा लागु गर्ने, योग्य र इमानदार कार्यकर्तालाई अवसर दिने, भ्रष्टाचारविरुद्ध स्पष्ट अडान लिने, स्थानीय तहदेखि केन्द्रसम्म कार्यसम्पादनको मूल्याङ्कन गर्ने र युवालाई नेतृत्व विकासको वास्तविक अवसर दिने नीति अब ढिला नगरी लागु गर्नुपर्छ।
कांग्रेसको शक्ति केवल उसका नेतामा होइन, गाउँदेखि सहरसम्म रहेका लाखौँ निष्ठावान् कार्यकर्तामा छ। ती कार्यकर्ताको सम्मान, योगदानको कदर र भावनाको संरक्षण हुन सके सङ्गठन स्वतः बलियो हुन्छ। बीपीले पनि कार्यकर्तालाई पार्टीको मेरुदण्ड मान्नुभएको थियो।
आज आवश्यकता कसैलाई दोष दिने होइन, आफूलाई सुधार्ने हो। प्रतिद्वन्द्वी दलको आलोचना गरेर मात्र कांग्रेस बलियो हुँदैन। कांग्रेस बलियो तब हुन्छ, जब उसले आफ्ना कमजोरी स्वीकार गर्छ, सुधारको साहस देखाउँछ र जनताको अपेक्षाअनुसार आफूलाई परिवर्तन गर्छ।
बीपी कोइरालाको विचार कुनै सङ्ग्रहालयमा राख्ने वस्तु होइन। त्यो जीवित दर्शन हो। त्यसलाई भाषणमा होइन, व्यवहारमा उतार्न सकियो भने कांग्रेसले आफ्नो गुम्दै गएको जनविश्वास पुनः प्राप्त गर्न सक्छ। लोकतन्त्रको रक्षा इतिहास सम्झेर मात्रै हुँदैन; लोकतान्त्रिक संस्कारलाई दैनिक राजनीतिक अभ्यासमा रूपान्तरण गरेर मात्र हुन्छ।
बीपीको सम्मान उहाँको तस्बिरमा फूल चढाएर मात्र पूरा हुँदैन। उहाँले देखाएको सत्य, साहस, नैतिकता, लोकतान्त्रिक संस्कार र जनउत्तरदायित्वको मार्गमा इमानदारीपूर्वक हिँड्न सके मात्र उहाँप्रतिको वास्तविक श्रद्धाञ्जलि हुनेछ।
आज कांग्रेससँग अझै इतिहास छ, सङ्गठन छ, अनुभव छ र जनताको विश्वास पुनः जित्ने अवसर पनि छ। प्रश्न एउटै हो— के हामी बीपीलाई सम्झनेमै सीमित रहनेछौँ कि उहाँको बाटो हिँड्ने साहस पनि गर्नेछौँ ?
(लेखक नेपाली कांग्रेस बागमती प्रदेश सदस्य तथा काठमाडौँ क्षेत्र नं. १ का पूर्व क्षेत्रीय सचिव हुन्। )
प्रतिक्रिया 4