+

फिफा विश्वकपमा ट्रम्पको ‘फाउल’

२०८३ साउन  ६ गते १७:२४ २०८३ साउन ६ गते १७:२४

स्पेनी पत्रकार, लेखक तथा राजनीतिक विश्लेषक रोजा मारिया आर्टालले लेखेकी छिन्, ‘डोनाल्ड ट्रम्प स्पेनको राष्ट्रिय फुटबल टोलीका सदस्य होइनन्। उनले हिजो राति यो कुरा स्वीकार गर्न केही समय लगाए।’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकप फाइनलमा स्पेनलाई ट्रफी हस्तान्तरण गर्दा मञ्चमा लामो समय बसेर असहज व्यवहार देखाएको भन्दै आलोचना भइरहेको छ ।
  • फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पटकपटक हटाउन खोज्दा पनि ट्रम्प मञ्चबाट नहटेपछि उनी खेलाडीहरूको विजय उत्सवमा अवरोधक बनेको भनी विश्लेषकहरूले टिप्पणी गरेका छन् ।
  • विश्वकपका क्रममा फोलारिन बालोगुनको रातो कार्ड प्रकरणमा समेत ट्रम्पको राजनीतिक प्रभाव परेको आरोप लाग्दै आएको छ ।

५ साउन, काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अघिल्लो महिना दिएको मन्तव्यलाई सही साबित गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसपटक विश्वकप फाइनलमा ट्रफी हस्तान्तरणमा सरिक भए।

इन्फान्टिनोले पहिलोपटक यो मन्तव्य दिँदा आलोचना भइरहेको थियो। फुटबल क्षेत्रका जानकारहरूले फिफामा बिस्तारै राजनीतिको प्रवेश हुँदै गएको प्रतिक्रिया जनाएका थिए। फिफाले आफ्नै आचारसंहिता मिचेको आरोपसमेत खेपिरहेको थियो।

तर, आलोचनाका बाबजुद पनि यो विश्वकप ट्रम्पले मन पराउने शैलीमै अन्त्य भएको छ। विजेता स्पेनको टोलीले विश्वकप ट्रफी उचालेर सुनौलो कागजी वर्षामा रमाइरहँदा यस वर्षामा ट्रम्प पनि भिजेका छन्। तर, ट्रम्पले विश्वकप ट्रफी हस्तान्तरण गर्ने क्रममा केही असहज दृश्यहरू पनि देखिएका थिए।

स्पेनलाई विश्वकप ट्रफी प्रदान गरेपछि ट्रम्प मञ्चमा केही बेर रोकिए। स्पेनका कप्तान रोड्रीले उनलाई केही असहज रूपले हेरेका थिए। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले उनलाई त्यहाँबाट हटाउन खोजेका थिए। ट्रम्प टोलीसँगै उभिएका थिए। उनी क्यामेराको फ्रेमबाट हट्न मानेनन्।

ट्रम्पले यसअघि जुलाई २०२५ मा न्युजर्सीको मेटलाइफ रङ्गशालामा फिफा क्लब विश्वकपको फाइनल खेलमा पनि लगभग यस्तै व्यवहार देखाएका थिए।

उक्त खेलमा चेल्सीले पेरिस सेन्ट-जर्मन (पीएसजी) लाई पराजित गरेर उपाधि जित्यो। मैदानमा बनाइएको अग्लो मञ्चमा चेल्सीका कप्तान रिस जेम्स ट्रफी लिन उभिएका थिए। उनका खेलाडी साथीहरू वरिपरि जम्मा थिए। फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँगै ट्रफी हस्तान्तरण गरेपछि ट्रम्प मञ्चमै रोकिए।

केही क्षणका लागि समारोह अलमलमा परेको देखियो। चेल्सीका खेलाडीहरू एकअर्कालाई हेरिरहेका थिए। राष्ट्रपति मञ्चबाट ओर्लिने बेलाको पर्खाइमा उनीहरू अलमलिएका थिए। अन्ततः गोलकिपर रोबर्ट सान्चेजले कप्तान जेम्सलाई ट्रफी उचाल्न इसारा गरे। चेल्सीका कप्तानले ट्रफी उचालेको तस्बिरको बीचमा ट्रम्प पनि उभिरहेका थिए। यस्तो देखिन्थ्यो, मानौँ उनी पनि टोलीकै एक सदस्य हुन्।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका कोल पाल्मरले पछि भने, ‘उनी यहाँ आउँदै छन् भन्ने मलाई थाहा थियो। तर हामीले ट्रफी उचाल्ने बेलासम्म उनी मञ्चमै रहनेछन् भन्ने थाहा थिएन। त्यसैले म अलि अलमल्ल परेँ।’

तर यसपटक ट्रम्प मैदानमा प्रवेश गर्दा दर्शकहरूले उनीविरुद्ध हुटिङ गरेका थिए। उनी भने हात हल्लाउँदै मञ्चतर्फ गएका थिए। राष्ट्रिय गानपछि रङ्गशालाको ठूलो स्क्रिनमा उनलाई देखाउँदा मानिसहरूको मिश्रित प्रतिक्रिया आएको थियो। उनको बक्सको सिसा टल्किने भएकाले स्क्रिनमा उनलाई स्पष्ट देख्न गाह्रो भएको थियो।

ट्रम्पले यो प्रतियोगितालाई आफ्नो कार्यकालको एउटा मुख्य कार्यक्रमका रूपमा हेरेका थिए। यो अमेरिकाको २५०औँ वार्षिकोत्सव मनाउने समय पनि हो। ट्रम्प यसैबीचमा आफ्नो अमेरिकालाई विश्वसामु देखाउन चाहन्थे। खेलका क्रममा फक्स टेलिभिजनले ‘फ्रिडम २५० ग्रान्ड प्रिक्स’ को विज्ञापन प्रसारण गरेको थियो। यो राष्ट्रिय स्मारकहरू वरपर हुने एउटा अटो रेस हो। ह्वाइट हाउसले यसको प्रचार गरिरहेको छ।

ट्रम्पको पहिलो कार्यकालमा विश्वकप आयोजनाको अधिकार अमेरिका, क्यानडा र मेक्सिकोलाई दिइएको थियो। यो आठ वर्षपछि अहिलेसम्मकै ठूलो प्रतियोगिताका रूपमा आयो। यसमा ४८ टोली र १०४ खेलहरू थिए। छ हप्तासम्म चलेको यो खेललाई अर्बौँ मानिसहरूले हेरेका थिए।

‘हामी एउटा सकर (फुटबल) देश रहेछौँ भन्ने पुष्टि भएको छ,’ खेलअघि फक्ससँगको अन्तर्वार्तामा ट्रम्पले भनेका थिए, ‘हामी एउटा सकर देश हौँ, हामी झुक्किन चाहँदैनौँ। तर विश्वकपमा जस्तो भएको कुरा मैले अरू कहीँ देखेको छैन।’

यो विश्वकप ट्रम्प परिवारका लागि एउटा पारिवारिक माहोलजस्तो पनि बन्यो। मेलानिया ट्रम्प उनीसँगै बक्समा बसेकी थिइन्। उनको सम्पूर्ण परिवार एउटै बक्समा उपस्थित थियो। यसमा जेरेड कुश्नर, इभान्का ट्रम्प, एरिक ट्रम्प, लारा ट्रम्प, टिफनी ट्रम्प र माइकल बुलस थिए। खेलको क्रममा कुश्नरले नेटफ्लिक्सका सीईओ टेड सारान्डोससँग कुरा गरिरहेको देखिएको थियो।

मेक्सिकन राष्ट्रपति क्लाउडिया सेनबम र क्यानडेली प्रधानमन्त्री मार्क कार्नी ट्रम्पसँगै बक्समा बसेका थिए।

ट्रम्प फाइनलअघिका खेलहरूमा भने सहभागी भएका थिएनन्। समाचार संस्था बीबीसीले ट्रम्प फाइनलमा मात्र उपस्थित हुन सक्ने अनुमान लगाएको थियो।

‘स्पेनले साँच्चै राम्रो खेल्यो तर दुवैले राम्रो खेलेका थिए,’ ट्रम्पले खेलपछि पत्रकारहरूलाई भने। उनले यसलाई एउटा प्रतिस्पर्धात्मक खेल भनेका छन्। उनले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई जितको बधाई दिएको बताए।

आइतबार उनले पहिलो खेल हेरेका हुन्। तर ट्रम्पको प्रभाव यो विश्वकपमा धेरै अघिदेखि नै परेको थियो।

अमेरिका तीन आयोजक देशमध्ये एक मात्रै थियो। यसले क्यानडा र मेक्सिकोसँग प्रतियोगिता सेयर गरेको थियो। तर ट्रम्प आफूलाई अगाडि बढाउन सधैँ उत्सुक देखिए।

उनको प्रशासन प्रतियोगिताभर सक्रिय रह्यो। पराग्वेविरुद्धको पहिलो खेलमा विदेशमन्त्री मार्को रुबियो, यातायातमन्त्री सन पि. डफी र गृहमन्त्री मार्कवेन मुलिनले सरकारको प्रतिनिधित्व गरेका थिए। बोस्नियाविरुद्धको खेलमा वाणिज्यमन्त्री हावर्ड लुटनिक उपस्थित थिए। टर्कीविरुद्धको अन्तिम ग्रुप-स्टेज खेलमा ‘सेकेन्ड लेडी’ उषा भान्स उपस्थित थिइन्।

ट्रम्प यो विश्वकपभरि कतै न कतै आलोचित भइरहेका देखिन्छन्।

इरानी फुटबल टोलीप्रति अमेरिकी प्रशासनले गरेको व्यवहारले ट्रम्प आलोचित भए। त्यस्तै अमेरिकाका मुख्य स्कोरर फोलारिन बालोगुनलाई बोस्नियाविरुद्धको खेलमा रातो कार्ड प्रकरणमा पनि उनी थप आलोचित बन्न पुगे।

बालोगुनले रातो कार्ड पाएपछि ट्रम्प प्रत्यक्ष रूपमा संलग्न भए। बालोगुनले बेल्जियमसँगको महत्त्वपूर्ण खेल गुमाउनुपर्ने थियो। तर फिफाले अनौठो निर्णय गर्‍यो। उसले एक खेलको प्रतिबन्धलाई एक वर्षको परीक्षण कालमा बदल्यो।

ट्रम्पले इन्फान्टिनोसँग प्रत्यक्ष कुरा गरेपछि यो निर्णय आएको थियो। उनले इन्फान्टिनोलाई सो खेलको समीक्षा गर्न आग्रह गरेका थिए। ट्रम्पले पछि आफूले इन्फान्टिनोलाई खास निर्णय लिन नभनेको बताए। ‘मैले उनलाई के गर्ने भनेर भनिनँ,’ ट्रम्पले भने।

बालोगुनले खेल्न नपाएको भए यो प्रतियोगितामा ‘दाग’ लाग्ने उनले थपे। यो घटनाले अन्तर्राष्ट्रिय रूपमा विवाद सिर्जना गर्‍यो। फुटबल जगत्‌का आलोचकहरूले फिफाको स्वतन्त्र प्रक्रियामा राजनीतिक प्रभाव परेको प्रश्न उठाए। अमेरिका अन्ततः बेल्जियमसँग पराजित भयो।

त्यसैगरी फाइनल खेलमा ट्रम्पले देखाएको असहज व्यवहारले पनि उनी आलोचना झेलिरहेका छन्।

‘रिपब्लिकन्स अगेन्स्ट ट्रम्प’ ले यही व्यवहारलाई लक्षित गर्दै एक्समा लेखेको छ, ‘अत्यन्तै निराशाजनक। स्पेनको विश्वकप ट्रफी उत्सवका क्रममा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले नहटाएसम्म ट्रम्प मञ्चबाट हटेनन्।’

स्पेनी पत्रकार, लेखक तथा राजनीतिक विश्लेषक रोजा मारिया आर्टालले ट्रम्पले आफू स्पेनको राष्ट्रिय फुटबल टोलीका सदस्य नभएको कुरा बुझ्न धेरै समय लागेको भनेर व्यङ्ग्य गरेकी छिन्। उनले लेखेकी छिन्, ‘डोनाल्ड ट्रम्प स्पेनको राष्ट्रिय फुटबल टोलीका सदस्य होइनन्। उनले विश्वकप फाइनलको राति यो कुरा स्वीकार गर्न केही समय लगाए।’

प्रख्यात जर्मन इतिहासकार, समाजशास्त्री तथा लेखक डा. रेनर जिटेलम्यानले एक्समा लेखेका छन्, ‘धेरै मानिसहरूले उनलाई हटाउन खोज्दा पनि आफूले बाधा पुर्‍याइरहेको उनले महसुस नै गरेनन्।’

वामपन्थी राजनीतिक विश्लेषक अकाउन्ट ‘कल टु एक्टिभिजम’ ले लेखेको छ, ‘ट्रम्पले स्पेनलाई विश्वकप ट्रफी हस्तान्तरण गरे। जियानी इन्फान्टिनोले बाहिर पठाउन खोज्दा पनि उनले मञ्च छाड्न अस्वीकार गरे। यो मैले देखेको सम्भवतः सबैभन्दा लाजमर्दो कुरा हो।’

प्रख्यात अस्ट्रेलियाली खेलकुद विश्लेषक रोहन कोनोलीले ट्रम्पलाई दयनीय व्यक्तिको नाम दिएका छन्। ट्रम्पलाई चर्चाको भोको व्यक्तिका रूपमा चित्रण गर्दै उनले लेखेका छन्, ‘यो हुनेवाला नै थियो। हरेक सेकेन्ड चर्चाको केन्द्रमा नरहँदा सम्हाल्न नसक्ने एउटा दयनीय व्यक्ति।’

डोनाल्ड ट्रम्प विश्वकप
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय