News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेकपा एमालेले छोडेका तीन मन्त्रालयको जिम्मेवारी अन्य मन्त्रीहरूलाई तोकेका छन् ।
- मुख्यमन्त्री बानियाँले शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी र कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरेका छन् ।
- सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी र परिणाममुखी बनाउन नयाँ मन्त्रालयगत कार्यविभाजन गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
७ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेकपा एमालेले छोडेको तीन मन्त्रालयमा कांग्रेसका तीन मन्त्रीलाई रिक्त मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।
एमालेका मन्त्रीहरूले बुधबार राजीनामा दिएसँगै आज (बिहीबार) नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मन्त्रिपरिषद्मा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष कार्यविभाजन सिफारिस गरेका छन् ।
सिफारिसअनुसार आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयमा यसअघि सहकारी विषय हेर्ने जिम्मेवारी पाएकी मन्त्री विनु रायमाझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा पर्यटन विषय हेर्ने सुरेश श्रेष्ठलाई सोहि मन्त्रालय र स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा युवा तथा खेलकुद विषय हेर्ने मन्त्री उर्मिला नेपाललाई कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।
यसअघि एमालेबाट भौतिक मन्त्री डा.दिनेशचन्द्र देवकोटा, कृषिमा मधूसुदन पौडेल र उद्योगमा विन्दु श्रेष्ठ मन्त्री थिए । एमालेका यी तीनसहित मन्त्रीहरू किरण थापा, भरत केसी र जयराम थापाले बुधवार मन्त्री पदबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।
गत २२ वैशाखमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय गत १ साउनमा लागू भगपछि ६ वटा मन्त्रालय खारेजमा परेका थिए । यो निर्णयअनुसार श्रम, रोजगार तथा यातायात, संस्कृति तथा पर्यटन, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य र वन तथा वातावरण तथा युवा तथा खेलकुद मन्त्रालय खारेजमा परेको हो ।
मुख्यमन्त्री बानियाँले खारेजमा परेका मन्त्रालयका मन्त्रीलाई विना विभागीय जिम्मेवारी तोक्दै उनीहरूलाई मन्त्रालयको थप विषयगत जिम्मेवारी पनि तोकिएको थियो । थप जिम्मेवारी दिँदा उद्योग, पर्यटन, श्रम तथा यातायात र स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा तीन–तीन जना मन्त्री भएका थिए । उद्योगमा पहिल्यै विन्दु श्रेष्ठ मन्त्री थिइन् ।
मन्त्रालय खारेजीमा परेका विना विभागीय मन्त्री जयराम थापालाई श्रम, रोजगार तथा यातायात र अर्का मन्त्री सुरेश श्रेष्ठले उद्योग मन्त्रालयमै संस्कृति तथा पर्यटन विषय हेर्ने जिम्मेवारी पाए । यसैगरी, मन्त्री किरण थापा मगरलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य विषय, मन्त्री उर्मिला नेपाललाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत नै युवा तथा खेलकुद विषय हेर्ने जिम्मेवारी दिइएको थियो ।
सामाजिक विकास मन्त्रालयमा पहिल्यै कञ्चनचन्द्र वादे मन्त्री थिए । यस्तै, मन्त्री भरतबहादुर केसीलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन तथा वातावरण विषय हेर्ने जिम्मेवारी दिइएको थियो । मुख्यमन्त्री बानियाँले मन्त्री विनु रायमाझी पौडेललाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयअन्तर्गत सहकारी विषय हेर्ने जिम्मेवारी दिएका थिए ।
मुख्यमन्त्री बानियाँले आज बिहीवार नयाँ मन्त्रालय कार्यविभाजन गर्दै शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यसैगरी प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्रालयको जिम्मेवारी प्रदान गरे । मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद्को कार्यसम्पादनलाई थप प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउन मन्त्रालयहरूको कार्यविभाजन गरिएको जनाएका छन् ।
प्रतिक्रिया 4