News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा आर्थिक वर्ष २०८२/८३ मा ४९ अर्ब रुपैयाँ बराबरका २२ लाख ६७ हजार ४ सय १९ थान स्मार्टफोन आयात भएको छ ।
- नेपाली बजारमा महँगा र प्रिमियम स्मार्टफोनको माग बढेकाले आयात परिमाणको तुलनामा आयात मूल्य उच्च दरले वृद्धि भएको छ ।
- नेपालको व्यावसायिक स्मार्टफोन बजारमा ९९ प्रतिशतभन्दा बढी हिस्सा चीन र भारतको रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
७ साउन, काठमाडौं । नेपालमा स्मार्टफोन प्रयोग र आयात तीव्र रूपमा बढ्दै गएको छ ।
भन्सार विभागको तथ्यांकले गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा करिब ४९ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको देखाएको छ ।
अघिल्लो आवको तुलनामा गत वर्ष स्मार्टफोन आयात परिमाणमा सामान्य वृद्धि भए पनि यसका लागि बाहिरिने रकम र सरकारले संकलन गर्ने राजस्वमा भने उच्च वृद्धि भएको छ ।
परिमाणको तुलनामा आयात मूल्य उच्च दरले बढ्नुले नेपाली बजारमा महँगा र प्रिमियम स्मार्टफोन माग निकै बढेको विश्लेषण गर्न सकिन्छ ।
भन्सार तथ्यांक अनुसार आव २०८२/८३ मा नेपालले कुल २२ लाख ६७ हजार ४ सय १९ थान स्मार्टफोन आयात गरेको छ । यसका लागि नेपालबाट ४८ अर्ब ६९ करोड ३४ लाख बाहिरिएको छ । सरकारले स्मार्टफोन आयातबाट ९ अर्ब ८ करोड २३ लाख रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।
अघिल्लो आव २०८१/८२ मा नेपालले कुल २१ लाख ८४ हजार ६ सय ९४ थान स्मार्टफोन आयात गरेको थियो । जसको कुल आयात मूल्य ३५ अर्ब ५४ करोड ७३ लाख थियो भने सरकारले त्यसबाट ६ अर्ब ६२ करोड ७६ लाख बराबर राजस्व संकलन गरेको थियो ।
कुन देशबाट कति आउँछ स्मार्टफोन ?
कुन देशबाट कति स्मार्टफोन आउँछ भन्ने तथ्यांक केलाउँदा नेपालको मोबाइल बजारमा चीन र भारतको एकछत्र राज देखिन्छ ।
गत आव आयात भएका कुल स्मार्टफोनमध्ये सबैभन्दा धेरै चीनबाट भित्रिएका छन् । तथ्यांक अनुसार चीनबाट मात्रै ३६ अर्ब ७९ करोड २७ लाख रुपैयाँ बराबरका १८ लाख ८९ हजार ६ सय ६४ थान स्मार्टफोन नेपाल भित्रिएका छन् । यसबाट मात्रै सरकारले ६ अर्ब ८६ करोड राजस्व पाएको छ ।
त्यसैगरी दोस्रो धेरै स्मार्टफोन भारतबाट आयात भएको छ । गत वर्ष भारतबाट १० अर्ब ९९ करोड ६ लाख रुपैयाँ बराबरका ३ लाख ६४ हजार ८ सय ४२ थान स्मार्टफोन आयात भएको छ ।
नेपालमा अमेरिका, अस्ट्रेलिया, जापान, यूएई, दक्षिण कोरिया लगायत दर्जनौं देशबाट स्मार्टफोन भित्रिए पनि ती व्यक्तिगत प्रयोजन वा निकै कम मात्रामा आएका छन् ।
व्यावसायिक रूपमा आयात हुने कुल स्मार्टफोनको ९९ प्रतिशतभन्दा बढी हिस्सा चीन र भारतले मात्रै ओगटेको भन्सार तथ्यांकले देखाउँछ ।
प्रतिक्रिया 4