+
+
Shares

नगेन्द्रराज शर्मा : सम्झनाको सिलसिला

यसअघि उहाँ एकपल्ट झण्डै मृत्युको मुखमा पुगेर फर्किनुभएको थियो । यो पल्ट मृत्युले जित्यो ।

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०८३ साउन ९ गते ११:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली साहित्यिक पत्रकारिताका शिखर व्यक्तित्व नगेन्द्रराज शर्माको ३१ असार २०८३ मा निधन भएको छ ।
  • उनले लामो समयसम्म \'अभिव्यक्ति\' साहित्यिक पत्रिकाको सम्पादन र प्रकाशन गरी नेपाली साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्‍याएका छन् ।
  • आफ्नो जीवनकालमा उनले नेपाली साहित्यकारहरूको बृहत् अभिनन्दन गर्नुका साथै साहित्यिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

३१ असार २०८३ बिहानै सामाजिक सञ्जालबाट थाहा भयो, नेपालमा नगेन्द्रराज शर्मा अर्थात् नराशको देहान्त भएछ । यो समाचार दुःखद थियो तर अनपेक्षित थिएन । केही महिनायता उहाँको स्वास्थ्य निरन्तर खराब हुँदै गइरहेको थियो । ओछ्यान पर्नुभएको थियो । अस्पतालमा भन्दा घरमा सहज हुने भएकाले घरमै राखिएको थियो । र घरमै उहाँको देहान्त भयो ।

म नेपाल जाँदा उहाँलाई भेट्न जाने नियमितता नै थियो । तर यो पल्ट एक्लै जान मन लागेन । उहाँलाई गाह्रो भएको छ र पूरै ओछ्यान पर्नुभएको जानकारीले मलाई कसरी भेट्न जाने भन्ने भइरहेको थियो ।

तर एक संयोग के प-यो भने २ जेठ २०८३ का दिन पुतलीसडकको एक साहित्यिक कार्यक्रमपछि अभिव्यक्तिको सम्पादकीय टोली उहाँको घरमा उहाँका छोराहरूसँग अभिव्यक्तिको प्रकाशन विषयमा बैठक बस्ने गरी जान लाग्नुभएको रहेछ । म पनि उहाँहरूसँगै जाने, नगेन्द्रदाइलाई भेट गरेपछि म फर्कने, उहाँहरू बैठक सकेर आउने गरी हामी लाग्यौं अभिव्यक्ति परिसर ।

नगेन्द्रदाइ ओछ्यानमै उठ्न नसक्ने गरी कोल्टे सुतिरहनुभएको थियो । मलाई देख्नेबित्तिकै उहाँले भन्नुभयो, ‘तपाईंलाई म उतै पर्खुँला !’ उहाँको यो वाक्यले मन एक तमासको भयो । साथमा पवन आलोक र श्रीओम श्रेष्ठ रोदन र देविका तिमिल्सिना हुनुहुन्थ्यो।

उहाँले अर्को वाक्य बोल्नुभयो, ‘मर्न साह्रै गाह्रो हुँदोरहेछ ।’

यो वाक्यले झन् नरमाइलो लाग्यो । मेरा ओठ बन्द थिए । साथीहरू कोठाबाट बाहिर निस्कनुभयो । मलाई उहाँको तस्वीर लिन मन थियो । तर कसरी लिनु । सोध्न पनि आँट आइरहेको थिएन । मेरो मनले भनिरहेको थियो, अब फेरि उहाँसँग भेट हुने छैन । अनि मैले उहाँका छोरालाई भनें, ‘सामाजिक सञ्जालमा राख्दिन, फोटो लिउँ है ।’

उनले हुन्छ भनेपछि मैले फोटो लिएँ । त्यसपछि फटाफट कोठाबाट बाहिरिएँ ।

त्यो भेट नै उहाँसँगको अन्तिम भेट भयो । उहाँका ती दुई वाक्य नै मेरा लागि अन्तिम वाक्य भए । त्यो फोटो नै उहाँसँगको अन्तिम फोटो भयो ।

०००

नगेन्द्रदाइसँग मेरो पहिलो भेट नयाँ सडक पीपलबोटमा भएको थियो । तीसको दशकमा । मैले लेख्न सिक्दै गरेको बेला थियो । मेरो पहिलो रचना ‘किनारा’ शीर्षकको कथा फ्रेण्डस् क्लब कोपुण्डोलको मुखपत्र ‘आस्था’ मा प्रकाशित भइसकेको थियो । पठनको सिलसिला द्रूत गतिमा चलिरहेको थियो । तर आफूले लेखेका रचनाहरू कता कसरी प्रकाशित गर्ने त्यति मेलोमेसो पाइनसकेको समय थियो । साहित्यिक पत्रिकाहरू मधुपर्क, रूपरेखा आदि पीपलबोट मुनिको पत्रिका पसलमा किनेर पढ्ने गर्थें र कसोकसो पीपलबोटमा पुग्ने साहित्यकारहरूसँग परिचयको सिलसिला शुरु भइसकेको थियो।

हरिभक्त कटुवाल त्यहाँ देखा पर्थे । साहित्यकारहरूले चिया अड्डा बनाएको मोतीमहल रेष्टुँरा जाने भैसकेको थिएँ । त्यसै क्रममा एकदिन एक एकजना खाइलाग्दो व्यक्तिले मोटरसाइकल ल्याएर त्यहीं अड्याए । डिक्कीबाट एक हाते व्याग निकाले । त्यसको जिपर खोलेर पत्रिका निकाले । त्यहाँ भएका साहित्यकारहरूलाई एकएक कपी वितरण गरे । उनले मलाई पनि दिए । त्यो थियो ‘अभिव्यक्ति’ पत्रिका ।

उनले भने, ‘भर्खरै प्रेसबाट ल्याएको । हिजै ल्याउँथें तर अञ्चलाधीश कार्यालयबाट पास भएन ।’

खासमा त्यतिबेला पुस्तक पत्रिका वा मुद्रित सामाग्री अञ्चलाधीश कार्यालयबाट सेन्सर पास नगरी बजारमा ल्याउन पाइन्नथ्यो । पत्रिका बाँडिसकेपछि उनले मोती महलमा लगेर सबैलाई चिया खुवाए ।

अन्तमा मदनमणि दीक्षितलाई पुत्र मोहले पराजित ग-यो र आफ्नो चाहना अनुसार नगेन्द्रराज शर्मालाई सदस्य सचिवमा सिफारिस गर्न सक्नुभएन । यसले नगेन्द्रदाइलाई पनि स्वाभाविक चोट त पुग्यो नै ।

मेरो मानसपटलमा आजपर्यन्त जीवन्त रहेको यस्तो तस्वीर छ नगेन्द्र दाइसँगको पहिलो भेटको । लेख रचना जम्मा गरेर, विज्ञापन खोजेर, आफैंले प्रुफ हेरेर, छपाइका लागि मुद्रण र कागजको जोहो गर्थे उनी । त्यस्तो पत्रिका प्रेसबाट निक्लेपछि हत्त न पत्त नयाँ सडक पीपलबोट आएर साहित्यकारहरूलाई निःशुल्क वितरण गरेर मात्र होइन तिनलाई चिया समेत खुवाएर सन्तोषको लामो सास फेर्ने उहाँको त्यो बानी, चरित्र वा भनूँ नियमितताको जति तारिफ गरे पनि कमै हुन्छ ।

०००

परिचयको केही महिनापछि मैले प्रकाशनका लागि मेरो एक कथा दिएँ नगेन्द्रदाइलाई । उहाँको उत्तर थियो, ‘प्रकाशन योग्य भए छापिन्छ ।’

अभिव्यक्तिको नयाँ अंक निस्किएपछि सदाझैं उहाँ पत्रिका लिएर नयाँ सडक आउनुभयो र त्यहाँ उपस्थित साहित्यकारहरूलाई वितरण गर्न थाल्नुभयो । मलाई पनि दिनुभयो । हतार–हतार पत्रिका पल्टाएर विषय सूची हेरें । कथाकारमा मेरो नाम देखें । मेरो कथाको शीर्षक देखें । मलाई हुनसम्मको आनन्द लाग्यो । त्यो कथा थियो, ‘यौटा यस्तै यथार्थ’ ।

त्यसपछि त अभिव्यक्तिमा मेरा कथाहरू प्रशस्तै प्रकाशित भए । मेरो पहिलो कथा सङ्ग्रहको शीर्षक कथा ‘सुतेको समुद्र’ अभिव्यक्तिमा प्रकाशित भएको थियो ।

मैले कुराकानीमा, कतिपय अन्तर्वार्ताहरूमा, विभिन्न सन्दर्भहरूमा मलाई कथाकारको रुपमा स्थापित गराउने पत्रिका र सम्पादक अभिव्यक्ति र नगेन्द्रराज शर्मा हुन् भन्दै आएको छु । यो पूर्णतः सत्य कुरा हो, जसलाई म कहिल्यै भुल्न सक्दिन ।

त्यसो त मैले एक ताका अभिव्यक्तिमा अन्तर्वार्ता स्तम्भ नै चलाएको थिएँ । धेरै साहित्यकारहरूको अन्तर्वार्ता त्यो सिलसिलामा प्रकाशित भएका छन् ।

तीसको दशकको मध्यदेखि आजपर्यन्त अभिव्यक्ति र नदेन्द्रराज शर्मासँग म सदा जोडिइरहें, निकट भइ नै रहें ।

अमेरिका बस्न थालेपछि नेपाल गएको बखत उहाँलाई भेट्न नियमित झैं नै जान्थें । अनि अभिव्यक्तिका मैले लिन छुटेका अङ्कहरू र ताजा अङ्कका केही प्रति दिँदै भन्नुहुन्थ्यो, ‘यसो साथी भाइलाई अमेरिकामा बाँड्नुहोला ।’

पत्रिका वितरणसँग सम्बन्धित एक चाखलाग्दो प्रसङ्ग छ ।

म त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा काम गर्थें । नगेन्द्र दाइ पनि सेडामा काम गर्नुहुन्थ्यो, जुन त्रिवि अन्तर्गत नै थियो । अर्थात् हामी दुबै त्रिविका कर्मचारी । तर म भने आन्तरिक लेखा परीक्षण शाखामा थिएँ ।

त्रिवि अन्तर्गतका त्रिविकै बजेटबाट चल्ने क्याम्पस कार्यालयको आन्तरिक लेखा परीक्षणका लागि पूरै देशभर वर्षै भरि गइरहनुपर्थ्यो । एक दिन उहाँले अभिव्यक्ति वितरण सम्बन्धमा सल्ला गरौं भन्नुभयो ।

अनि आफ्नो मोटरसाइकलमा ठमेलस्थित मोमो केभ नामक रेष्टुँरा लैजानु भयो । उहाँको प्रस्ताव थियो– म नेपालका विभिन्न शहर अफिसको कामको सिलसिलामा जाँदा अभिव्यक्ति पनि साथमै लैजाउँ । म त्यसमा मञ्जुर भएँ । पत्रिका विक्रीबाट उठेको आधा रकम मलाई दिने पनि प्रस्ताव गर्नु भयो ।

म दङ्ग परें ।

अनि हामीले केही बेर मोमो र पेय लिंदै साहित्यका विविध पक्ष, लेखन आदि विषयमा गफ ग-यौं । मैले हाम्रो समझदारी अनुसार अभिव्यक्ति पत्रिका काठमाडौंको न्यूरोड बाहेकका पत्रिका पसलहरू, पाटन तथा काठमाडौं बाहिर हेटौंडा, जनकपुर, चितवन, विराटनगरसम्म लगें । पत्रिका पसलमा दिएँ । तर नियमित ती ठाउँमा जाने काम पर्दैनथ्यो ।

नेपाली साहित्यमा छन्द कविताको शिखर ब्यक्तित्व माधव घिमिरेको जन अभिनन्दन हुनुपर्छ भनेर नगेन्द्रदाइ लागिपर्नुभएको थियो । त्यस सिलसिलामा उहाँसहितको टोलीले देशव्यापी भ्रमण गरेर आर्थिक श्रोत जुटाएको थियो,

फेरि अर्कोपल्ट जाँदा कुनै पत्रिका पसले भेटिंदैनथे, कुनैले चिन्दैनथे, कुनैले अर्को हप्ता आउनोस् भनेर टार्थे, तर म त्यसका लागि एक हप्ता कुर्न सक्दिनथें । यी विविध कारणले अभिव्यक्ति वितरणको काम पूर्णतः असफल भयो ।

यो बेग्लै कुरा हो, एकाध पसलेले इमान्दारीपूर्वक दिएको थोरै रकम भने मैले नगेन्द्रदाइलाई दिएँ । तर यो काम र हाम्रो सम्झौता अनुसार अघि बढ्न सकेन । तर हाम्रो सम्बन्ध, सम्पर्क र आत्मीयता भने उस्तै रहिरह्यो ।

०००

सर्जकको रुपमा नगेन्द्रदाइको उर्वर काल बीस देखि तीसको दशक थियो ।

उहाँले लगालगी दुई उपन्यास लेख्नु भयो -‘महापुरुष’ र ‘दिवा स्वप्न’ । ती दुवै उपन्यास रत्न पुस्तक भण्डारबाट विसं २०२८ र २०२९ मा प्रकाशित भए ।

उहाँले तेश्रो उपन्यास पनि लेख्न थाल्नुभएको थियो तर त्यसलाई कहिल्यै पूरा गर्नुभएन । उपन्यासमा पारिवारिक घटना परिघटनाको विसद चित्रण भएकोले त्यसलाई प्रकाशित गर्दा विग्रह हुने भयले उहाँले त्यसलाई पूरा गर्ने र प्रकाशन गर्नेतिर कहिल्यै सोच्नु भएन ।

तर उहाँले कथा लेखनमा भने निरन्तरता दिनुभयो । उहाँको पहिलो कथा सङ्ग्रह वि.सं. २०३९ सालमा प्रकाशित भयो साझा प्रकाशनबाट ‘पीपलको बोटमुनि’ । त्यसको अर्को वर्ष मेरो पनि पहिलो कथा सङ्ग्रह ‘सुतेको समुद्र’ साझा प्रकाशनबाट नै प्रकाशित भएको हो । यस हिसाबले हामी दौंतरी कथाकार भयौं ।

उहाँ समसामयिक विषयलाई कलात्मक रुप दिएर कथा सिर्जना गर्न सक्षम हुनुहुन्थ्यो । त्यसको अब्बल दृष्टान्तको रुपमा ‘पीपलको बोटमुनि’ र ‘बाबा, बिनु थाहा’ कथाको मलाई सम्झना हुन्छ ।

‘पीपलको बोटमुनि’ कथा नयाँ सडकको पीपलममुनिको दृष्य र पात्रहरूको कथा हो, जसमा तत्कालीन समयका साहित्यकारहरूले परिचित पात्रहरू भेट्न सक्छन् ।

त्यस्तै तीसको दशकमा नेपालका विभिन्न ठाउँमा भित्ते लेखन हुन्थ्यो । मकवानपुर जिल्लाका नेता रुपचन्द विष्टले जताततै थाहा लेख्ने गर्दथे किंवा उनका अनुसरणकर्ता, कार्यकर्ताहरूले भित्ता रङ्ग्याउँथे । त्यस्तै विशेष गरी वाइरोडको वाटोमा ‘बाबा‌‌+बिनु’ नामको भित्ते लेखन भयो ।

सम्भवतः कुनै पागल-प्रेमी जोडिको नाउँ हुनसक्ने अनुमान गरिन्थ्यो । सडक छेउका ठूला ढुङ्गाहरूमा ‘बाबा+विनु’ लेखिएका देखिन्थे । यसैलाई विषयवस्तु बनाएर नगेन्द्रदाइले कथा लेख्नुभयो । यी दुवै उहाँका चर्चित कथाहरूमध्ये पर्दछन् ।

कविता विधामाउहाँले खासै लेख्नुभएन । तर उहाँको एक सदावहार मुक्तक भने म सधैं सम्झन्छुः

‘जब यौवन यौवन यहाँ आँखी छ
आँखा, आँखामा आमन्त्रणको झाँकी छ
किन चासो कि, कहाँ रात विताएँ मैले
यही काफी छ कि ममा वैंश अझै बाँकी छ ।’

लेख्न त उहाँले केही पुस्तकको भूमिका पनि लेख्नुभएको छ । मेरै ‘दुई दशकका चिन्तनहरू’ पुस्तकमा पनि उहाँले भूमिका लेख्नुभएको छ ।

तर पछिपछि सिर्जनात्मक लेखनमा भन्दा अभिव्यक्तिको सम्पादनमै बढी रमाउनुभयो । यसैले उहाँलाई सक्रिय र चलायमान बनायो । नेपालका विभिन्न जिल्ला गाउँ, शहरसम्म र त्यहाँका साहित्यकारहरूको सान्निध्यमा पु-यायो । पछि त उहाँले लेख्ने भनेको झण्डै अभिव्यक्तिको सम्पादकीय मात्र हुन पुग्यो ।

०००

नगेन्द्रदाइ स्वाभिमानी हुनुहुन्थ्यो ।

हुन त साहित्यकारहरू प्रायः स्वाभिमानी नै हुन्छन् । तर उहाँ अब्बल दर्जाको स्वाभिमानी हुनुहुन्थ्यो । प्रज्ञा प्रतिष्ठानको कुलपतिमा मदनमणि दीक्षितको नियुक्तिपछि मदनमणि माडसापलाई एउटा ठूलो धर्म सङ्कटले घे-यो -सदस्य सचिवमा कसलाई नियुक्त गर्ने भनेर ।
कारण के थियो भने, उहाँ नगेन्द्रदाइलाई सदस्य सचिव बनाउन चाहनुहुन्थ्यो । तर डा. ध्रुवचन्द्र गौतम आफ्ना प्रिय सुपुत्र विनोद दीक्षितका घनिष्ठ मित्र भएकाले विनोद ध्रुवचन्द्रलाई सदस्य सचिव बनाउनुपर्छ भनेर जोड दिइरहेका थिए ।

अन्तमा मदनमणि दीक्षितलाई पुत्र मोहले पराजित ग-यो र आफ्नो चाहना अनुसार नगेन्द्रराज शर्मालाई सदस्य सचिवमा सिफारिस गर्न सक्नुभएन । यसले नगेन्द्रदाइलाई पनि स्वाभाविक चोट त पुग्यो नै ।

यो चोटलाई थामथुम पार्न प्रतिष्ठान गठन प्रक्रिया पूरा भएपछि प्रतिष्ठानबाट प्रकाशित हुने समकालीन साहित्यको प्रधान सम्पादकका लागि नगेन्द्रदाइलाई प्रस्ताव गरियो । तर उहाँले साफ इन्कार गरिदिनुभयो ।

तर पछि मदनमणि दीक्षित र डा. ध्रुवचन्द्र गौतमबीच सम्बन्धमा समस्या आयो । बोलचाल बन्द भयो । प्रतिष्ठान मदनमणि दीक्षित नेतृत्वको समूह र डा. ध्रुवचन्द्र गौतम नेतृत्वको समूहका रुपमा समानान्तर चल्न थाल्यो ।

नगेन्द्रदाइले भने मदनमणि दीक्षितलाई पूरा कार्यकाल साथ दिनुभयो ।

०००

तीसको दशकमा र त्यसपछि पूर्णरुपले बन्द नहुन्जेल मदनमणि दीक्षितको समीक्षा साप्ताहिक साहित्यकारहरूका लागि एक प्रकारको चौतारो नै थियो । त्यहाँ नवोदित देखि स्वनामधन्य साहित्यकारहरू समेत पुग्थे । मदनमणि दीक्षितलाई भेट्ने लालसाले।

तर समीक्षा पत्रिकालाई समाचार, विचार वा अन्य लेखनले सहयोग नियमित रुपले गर्नेहरूमा रोचक घिमिरे, नगेन्द्रराज शर्मा, डा.ध्रुवचन्द्र गौतम र कहिलेकाहीं ध्रुव सापकोटा हुन्थे । विनोद दीक्षित त मदनमणि परिवारकै भइहाले ।

उनीहरू शुक्रबार बिहान निस्किने पत्रिकाको अन्तिम तयारीका लागि बिहीबार अबेरसम्म समीक्षा कार्यालय र प्रेसमा भेला हुन्थे । मदनमणि निवास, समीक्षा कार्यालय र प्रेस एउटै घरमा थियो ।

राति समीक्षाको अन्तिम सामाग्री समेत मुद्रणमा गएपछि रसमय खानपान चल्थ्यो । यो मित्रता समीक्षाबाहिर पनि निरन्तर हुन थाल्यो । अनि नगेन्द्रदाइ, ध्रुवचन्द्र गौतम, ध्रुव सापकोटा, रोचक घिमिरे र विनोद दीक्षितको एक टोली बन्यो, मित्र मण्डली बन्यो र काठमाडौंको साहित्यिक जगतमा ‘पाण्डव’ को उपनाम पाए संयुक्त रुपमा ।

अनि उहाँहरूको उपनाम पनि राखियो । ‘कट्टेल सरको चोटपटक’ उपन्यास लेख्ने डा. ध्रुबचन्द्र गौतम ‘कट्टेल सर’ का नामले बोलाइने भयो, ध्रुव सापकोटालाई ‘छट्टेल’ भनियो । नगेन्द्रदाइ लाई ‘नागुवावु’ भनिन्थ्यो । यो टोली कहिलेकाहीं संयुक्त स्वच्छन्द यात्रा, तीर्थ यात्रा वा समुद्रको किनार पनि पुग्थे । रोचक घिमिरे बाहेक चारैजना रसमय वातावरणमा रमाउने प्रकृतिका थिए ।

०००

नगेन्द्रदाइलाई चिनाउने र पर्यायवाची बनाउने ‘अभिव्यक्ति’ नै हो । यसका सुरुवाती अङ्कहरूमा पारिजात, शङ्कर लामिछाने जस्ता स्वनामधन्य लेखकका रचनाहरू प्रकाशित भएका छन् । तर ‘अभिव्यक्ति’ मा मोहन कोइरालाको कुनै रचना पनि प्रकाशित भएको पाइँदैन ।

यसको कारण नगेन्द्रदाइ आफैंले कुनै अन्तर्वार्तामा खुलाउनुभएको छ ।

नगेन्द्रदाइले मोहन कोइरालालाई कविता माग्नु भयो।

जवाफमा मोहन कोइरालाले सोध्नुभयो ‘पारिश्रमिकको व्यवस्था के छ ?’

जवाफमा नगेन्द्रदाइले भन्नु भयो, ‘नयाँ पत्रिका हो अहिले पारिश्रमिकको व्यवस्था छैन ।’ मोहन कोइरालाले भन्नुभयो, ‘पारिश्रमिकको व्यवस्था भएपछि दिउँला ।’

नगेन्द्रदाइको भनाइमा, अभिव्यक्तिमा प्रकाशनार्थ कविता रचनाहरू यति धेरै आउन थाल्यो कि पारिश्रमिक लिएर मोहन कोइरालाकहाँ रचना माग्न जानुपर्ने आवश्यकता नै भएन ।

अभिव्यक्तिले नयाँ–नयाँ रचनाकार र काठमाडौंबाहिरका कवि लेखकका रचनालाई सधैं उचित स्थान दियो । काठमाडौंमा मात्र होइन काठमाडौं बाहिर पनि सबै कवि लेखकले आफ्नो पत्रिका भनेर स्नेह गर्न थाले । यो स्नेहले नै नगेन्द्रदाइलाई अपार, अतुलनीय र अनन्त सन्तुष्टि दिन्थ्यो, उहाँ यसैमा रम्नुभयो जीवनभर ।

०००

नगेन्द्रदाइले सुरुमा टिम्बर कर्पोरेसन अफ नेपालमा जागिर खानुभयो । त्यसपछि सेडामा लामो समय जागिरे जीवन बिताउनुभयो।

त्यही जागिरकै क्रममै आफन्तको एक कम्पनीमा आकर्षक पारिश्रमिक पाउने गरी त्यहाँ पनि केही समय जागिर खानुभयो, त्रिभुवन विश्वविद्यालयमा बेतलवी बिदा लिएर । त्यसक्रममा उहाँको बसाइ कलकत्ता र भुटान पनि भयो ।

उहाँले मित्रपार्कको आफ्नो निवासमा प्रेस पनि चलाउनु भयो ।

मेरो एक कविताको पुस्तक ‘अचानक एकदिन’ उहाँकै प्रेसमा मुद्रण भएको थियो ।

तीसको दशकमा हरिभक्त कटुवाल जो उहाँले अति मायाँ गर्ने मित्र हुनुहुन्थ्यो, उहाँ बेरोजगार भएको अवस्थामा एक वर्षका लागि पत्रिका सम्पादन गर्ने र त्यसबाट आएको रकम हरिभक्तले नै पाउने गरी चलाउन दिनुभएको थियो । तर हरिभक्तले वर्षमा निकाल्नु पर्ने ६ अंक निकाल्न सकेनन् र पुनः नगेन्द्रदाइ आफैंले चलाउन थाल्नुभयो ।

अन्यथा अभिव्यक्तिलाई उहाँले सदासर्वदा सन्तानलाई झैं मायाँ गरेर अघि बढाइरहनुभयो । पछिल्लो समय भने सामूहिक रुपमा वा संस्थागत रुपमा अघि बढाउने निर्णय गरेर आफू संस्थापक तथा संरक्षक रहेर साहित्यकार पवन आलोक प्रधान सम्पादक रहनुभएको छ । कार्यकारी सम्पादक देविका तिमिल्सिना तथा उहाँका दुई सुपुत्र प्रणयराज घिमिरे र ओपलराज घिमिरे सम्पादक रहनुभएको छ ।

०००

नेपाली साहित्यमा छन्द कविताको शिखर ब्यक्तित्व माधव घिमिरेको जन अभिनन्दन हुनुपर्छ भनेर नगेन्द्रदाइ लागिपर्नुभएको थियो । त्यस सिलसिलामा उहाँसहितको टोलीले देशव्यापी भ्रमण गरेर आर्थिक श्रोत जुटाएको थियो, भव्य अभिनन्दन समारोह भएको थियो र गतिलो अभिनन्दन ग्रन्थ समेत प्रकाशित गरेको थियो ।

उहाँको सक्रियता लोभलाग्दो थियो ।

साहित्यिक सम्पर्क पनि हुने, आर्थिक श्रोत पनि जुटाउन सकिने तथा देश दर्शन पनि हुने । यो एकसाथ हुँदा उहाँलाई निकै सन्तोष लागेको थियो ।

त्यही भ्रमणको स्वादले पछि साहित्यकारहरूको टोली बनाएर नेपालका विभिन्न स्थानहरूमा उहाँले भ्रमण गर्नुभयो । मानिसहरू बुढौली लागेपछि घरमै थुप्रिने हुन्छन् । तर उहाँ युवकोचित जोश र जाँगरका साथ भ्रमण गरिरहनु भएको थियो ।

०००

चालिसको दशकमा गौशालामा एक रेष्टुँरा थियो- कार्की किचेन । त्यहाँ एकाधपल्ट खानपान गरिसकेपछि रेष्टुँरा चलाउनु हुने कार्कीजीले नगेन्द्रदाइलाई अनुरोध गरे, ‘साहित्यकारहरू स्वभावैले मदीराप्रेमी हुन्छन् । मलाई पनि साहित्यमा रुचि छ । महिनाको एकदिन म खानेकुराको आधा मोल मात्र लिन्छु । जमघट गरौं न ।’

नगेन्द्रदाइले आफ्ना साथीभाईहरूलाई भन्नुभयो । विस्तार–विस्तार हरेक महिना हुने साहित्यकारको जमघट बाक्लो हुन थाल्यो । कहिलेकाहीं त्यो रेष्टुँरामा साहित्यिक गोष्ठी पनि हुन थाल्यो । अनौपचारिक गोष्ठी त महिनाको एकपल्ट हुन्थ्यो नै ।

त्यही रेष्टुँरामा बगर फाउण्डेसनका तर्फबाट प्रकाशित मेरा दुई कृति ‘गुडवाई अमेरिका’ र ‘तेलको धूप’ को विमर्श कार्यक्रम पनि सम्पन्न भएको थियो । त्यस कार्यक्रममा रचनाका सम्पादक रोचक घिमिरेका साथै नगेन्द्रदाइ पनि अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।

त्यसदिन उहाँलाई कतै विहे भोजमा सरिक हुन जानु थियो । तर उहाँ त्यस विमर्श कार्यक्रममा सहभागी भएर मात्र विहाभोजमा जानु भएको थियो । यो उहाँको मप्रतिको स्नेहका साथै साहित्यप्रतिको पनि उहाँको स्नेह थियो ।

कार्की किचेनको त्यो भेटघाटको नाम बिस्तारै ‘अभिव्यक्ति भेटघाट’ को रुपमा हुन थाल्यो । लामै समय कार्की किचेनमा चलेको त्यो भेटघाट पछि नारायण गोपाल चोकको एक दुई रेष्टुँरामा निरन्तर भयो । नारायण गोपाल चोकको दक्षिण पश्चिममा रहेको एक रेष्टुँरावालाले त ‘अभिव्यक्ति भेटघट’ को ब्यानर नै बनाएर स्वागत गर्न थाल्यो ।

म त्यही रेष्टुँरामा केही पल्ट गएको छु, अमेरिकाबाट जाँदा । र एक अभिव्यक्ति भेटघाटमा मैले भनें, ‘यो अभिव्यक्ति भेटघाटमा भेटघाट र खानपान त हुन्छ । पुस्तक पत्रिका कोशेली साटासाट पनि हुन्छ । यी सब राम्रा पक्ष छन् । तर म आज एक प्रस्ताव गर्न चाहन्छु ।’

यति भन्दा सबैले मैले के भन्न लागेको हुँ भनेर जिज्ञासु आँखा मतर्फ लगाए । मैले भनें, ‘हामी अभिव्यक्ति पत्रिकाको नाममा भेला हुन्छौं । एउटा अलिक नयाँ काम गरौं । अभिव्यक्तिमार्फत नेपाली साहित्यिक पत्रकारिता र साहित्यलाई यति ठूलो योगदान गर्ने नगेन्द्रदाइको अभिनन्दन किन गरौं ?’

त्यसदिन उपस्थित सबैले ताली बजाएर मेरो प्रस्तावको स्वागत गर्दै मेरै नेतृत्वमा अभिनन्दन समारोह समिति बनाउने प्रस्ताव आयो । तर मेरो स्थायी वसोवास अमेरिका भएकाले म बाहिरबाट सहयोग गर्छु भन्दै पवन आलोकजीलाई सो समितिको अध्यक्षता गर्न विनम्र आग्रह गरें । उहाँले मान्नुभयो र सदस्य सचिव चाहिँ म नै हुनुपर्नेमा अड्डी लिनुभयो र समारोहमा उपस्थित हुन समेत आग्रह भयो ।

यसरी अभिव्यक्ति भेटघाटमा गरिएको प्रस्तावले अन्ततः मूर्त रूप लियो । नेपालका धेरै साहित्यिक संघसंस्थाहरूले पनि अभिनन्दन समारोहलाई सफल बनाउन हातेमालो गरे । पञ्चे बाजा बजाएर नगेन्द्रदाइ र भाउजुलाई प्रज्ञा प्रतिष्ठानको हलमा पु-याइयो र पूर्ण कदको ताम्रपत्रमा तयार गरिएको अभिनन्दन पत्र वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशीको हातबाट प्रदान गरियो । यो एक साहित्यकार तथा साहित्यिक पत्रकारको बृहत् जनअभिनन्दन थियो ।

तर म भने सो समारोहमा उपस्थित हुन सकिनँ । बरू मैले उहाँको संक्षिप्त जीवनीको पुस्तिका प्रकाशन गरेर सो समारोमा उपस्थित सबैलाई बितरणको व्यवस्था मिलाएँ ।

उहाँको अभिनन्दनपछि अभिनन्दन ग्रन्थ पनि प्रकाशित भयो । यो अर्को उपलब्धि थियो । त्यस्तै रोशन थापा निरबको सम्पादनमा उहाँका पूर्वप्रकाशित सबै पुस्तकहरूको संकलित रचनाहरूको ग्रन्थ समेत प्रकाशित भयो । यी सबले उहाँ निकै प्रशन्न हुनुभएको र सन्तुष्टि प्राप्त भएको बताउनुहुन्थ्यो ।

त्यति मात्र नभएर उहाँको नाममा साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना पनि भयो र त्यो बर्षेनी प्रदान गरिंदै आएको छ । यो हिसाबले नगेन्द्र दाइले आफ्नो जीवनलाई अत्यन्त सार्थक रुपमा बिताउनुभएको थियो भनेर मजाले भन्न सकिन्छ ।

यसअघि उहाँ एकपल्ट झण्डै मृत्युको मुखमा पुगेर फर्किनुभएको थियो । यो पल्ट मृत्युले जित्यो । तर उहाँको लेखनले बनाउनु भएको इतिहास र साहित्यिक पत्रकारितामार्फत पु-याउनु भएको योगदान सदा विजेता नै रहनेछ ।

लेखक
गोविन्द गिरी प्रेरणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?