+

पुनर्जन्मको अवधारणा धार्मिक अन्धविश्वास कि सुल्झिँदो वैज्ञानिक रहस्य ?

२०८३ साउन  १० गते ११:३९ २०८३ साउन १० गते ११:३९

प्रथम कम्प्युटर माइक्रोप्रोसेसरका निर्माता फिजिसिस्ट ‘फेडेरिको फेगिन’ पनि चेतना मस्तिष्कको उपज होइन कन्ससनेस आधारभूत तत्व हो भन्छन् ।

पुनर्जन्मको अवधारणा धार्मिक अन्धविश्वास कि सुल्झिँदो वैज्ञानिक रहस्य ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पुनर्जन्मको अवधारणालाई वैज्ञानिक आधारमा प्रमाणित गर्न विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूमा चेतना र क्वान्टम फिजिक्ससम्बन्धी विविध अनुसन्धानहरू भइरहेका छन्।

कथा वा किंवदन्तीको रूपमा पुनर्जन्मको अवधारणा हाम्रा लागि कुनै नौलो विषय होइन । तर एकपटक विचार गर्नुहोस, ‘पुनर्जन्म’ कथा मात्र नभई विज्ञानद्वारा प्रमाणित तथ्य हो भन्ने थाहा पायौँ भने हाम्रो जीवन दृष्टिकोण प्राथमिकता र जीवन जिउने कला एवम् व्यवहारमा कस्तो परिवर्तन आउँथ्यो होला ? कहिल्यै पूरा नहुने प्रतिस्पर्धा, ईर्ष्या, द्वेष, अहंकार र असुरक्षाको भावमा यसको कस्तो प्रभाव पर्न सक्थ्यो होला ?

‘नियर डेथ एक्सपेरियन्स (एनडीई) अर्थात मृत्यु निकटको अनुभव’ बाट गुज्रेका सर्जनहरू, वैज्ञानिक एवम् विशेषज्ञहरू लगायत यसको अनुसन्धानमा लागेका छन् ।

आजकल इन्द्रीयातित ज्ञान (एक्सट्रासेन्सोरियल पर्सैप्सन), टेलिप्याथी, रिमोट भिविङ्ग, ट्रान्सपर्सनल साइकोलोजी जस्ता चेतना सम्बन्धी विविध विषयमा विश्वका प्रख्यात विश्वविद्यालयमा अनुसन्धान हुन थालेको छ।

केही वर्ष अघिसम्म पुनर्जन्मको विषयमा बहस गर्नु धार्मिक अन्धविश्वासी बन्नु जस्तो हुन्थ्यो । न्युटोनियन फिजिक्स, आइन्सटाइनको सापेक्षता हुँदै क्वान्टम फिजिक्सको चरणमा आइपुग्दा भौतिक पदार्थ अर्थात ‘म्याटर’ को अस्तित्वको नवीनतम बुझाइसँगै ‘कन्ससनेस’ अर्थात चेतना र पुनर्जन्मसम्बन्धी विषयहरूले प्रतिष्ठित पब्लिकेसन एवम् जर्नलहरूमा स्थान पाइरहेका छन् । र, विज्ञान यसलाई नकार्न नसकिने विषयका रूपमा स्वीकार्न बाध्य भएको छ ।

अनुसन्धानकर्ता र वैज्ञानिकहरूले मृत्युको समय चेतना पूर्ण नष्ट नहुने साथै पुनर्जन्म सत्य हुनसक्ने यस्ता ४ वैज्ञानिक आधारहरू पेश गरेका छन ।

१. पूवर्जन्मको विस्तृत स्मृति भएका बालबालिकामा युनिभर्सिटी अफ भर्जिनियाले गरिरहेको अनुसन्धान

करिब ४ वर्षको पुग्दा रायनले आफ्नो पहिलेको घर जान चाहेको र पहिलेका परिवारका सदस्य भेट्न चाहेको बताउँछन् । पहिलेको कुनै अर्को घर वा परिवारका सदस्य नभएकोले उनकी आमा अलमलमा पर्छिन् । उनले पहिलेको जीवनमा आफू एक कलाकार भएको र हलिउडमा बस्ने गरेको भन्दै बिगतको आफ्नो जीवनको विस्तृत जानकारी दिन्छन् । यस्तो अपत्यारिलो कुराले हैरान आमाले हलिउडको फोटो अर्काइभ देखाउँछिन् ।

एक पुरानो फोटोमा उनले आफूलाई मार्टी मार्टिनको रूपमा पहिचान समेत गराउँछन् । आफ्नो बच्चा मानसिक बिरामी ठानी उनी बालमनोचिकित्सक जिम टकरसँग देखाउन जान्छिन् । मार्टी मार्टिनका जीवनका सयौँ तथ्य रायनसँग खोतल्छन टकरले ।

ती मध्ये ५५ वटा तथ्यहरू संसय अर्थात ‘साइन्टिफिक स्केप्टिजम’ को प्रक्रियाबाट केलाउँदा सत्य प्रमाणित भयो । यसपछि रायनलाई मार्टिनको जीवनको यो स्तरको जानकारीको स्रोत पुनर्जन्म बाहेक अन्य कुनै स्थापित सिद्धान्तबाट ब्याख्या हुन नसक्ने ठहर
गरियो ।

मनोचिकित्सक एवम् पुनर्जन्मका अनुसन्धानकर्ता प्रोफेसर जिम टकर दशकौँदेखि यस्ता पूर्वजन्मको स्मृतिको दावी गर्ने बालबालिकाको पूर्णत वैज्ञानिक तरिकाबाट अध्ययन गरिरहेका छन् । युनिभर्सिटी अफ भर्जिनियाले २२०० भन्दा बढी यस्ता पूर्वजन्मको स्मृति भएका बालबालिकामा अध्ययन गरेको छ ।

स्मृतिको आधारमा पूर्वजन्मको अपत्यारिलो विस्तृत विवरण दिने यस्ता बालबालिका मध्ये ६८ प्रतिशत बिगतमा अकाल वा अकस्मात मृत्युको शिकार भएको पाइएको छ । २० प्रतिशत भन्दा बढी बालबालिकामा अहिलेको बर्थमार्क र पूर्वजन्मको मृत्युको कारणको घाउमा समेत सम्बन्ध पुष्टि भएको छ । ४० जना बालबालिका कहिल्यै नसुनेको पूर्वजन्मको भाषा बोल्ने गरेको समेत पाइएको छ जसलाइ ‘जिनोग्लोसिया’ भनिन्छ । म्यानमार जन्मेका जुम्ल्याहाले पूर्वजन्मको जापनिज भाषामा कुरा गर्ने गरेको तथ्य चर्चित ‘जिनोग्लोसिया’ को एक उदाहरण हो ।

२. ‘नियर डेथ एक्सपेरियन्स’ मा गरिएका अध्ययन एवम् प्रतिष्ठित जर्नलमा प्रकाशित अनुसन्धानहरू

मृत्युको कल्पना गर्दा हामी व्यक्तिको मुटु, मस्तिष्क र फोक्सो लगायतका अंगले कार्य गर्न छोडे पछिको चेतना शून्यता हुँदै पूर्णअन्धकार तर्फको यात्रा भन्ने बुझ्ने गर्छौं । मृत्युको यात्रामा धेरै पर पुगेर पुनः जीवनमा फर्किएका व्यक्तिहरूको एनडीई नामबाट परिचित यस्तो अनुभव भने अपत्यारिलो छ।

पेशाले न्युरोसर्जन हुन् अमेरिकी चिकित्सक डा. एवेन अलेक्जेन्डर । चेतन अनुभव पूर्णत क्रियाशील मस्तिष्कको उपज भन्ने मान्यतामा अडिग छन् उनी । एउटा दुर्लभ बिरामीको कारण ७ दिन पूर्णत अचेत अवस्थामा अस्पतालमा रहनुपरेको थियो उनले । रोगको प्रकृतिको कारण उनी बाँच्ने सम्भावना पहिले नै अत्यन्त न्यून मानिएको थियो । उनलाई मृत भनेर उपचार बन्द गर्न लागेको अवस्थामा होसमा पर्किन्छन र पूर्णत स्वस्थ हुन्छन् ।

जसलाई चिकित्सकीय हिसाबले चमत्कार मानिएको थियो । इइजीमा जीवनको कुनै लक्षण नदेखिने ‘क्लिनिकल्ली डेड’को अवस्थामा उनी असम्भव एवम् अतिविशिष्ट अनुभवबाट गुज्रिन्छन् । अहिले उनी मृत्युलाई चेतनाको अवस्था परवर्तन (डाइमेन्सन सिफ्ट) को प्रक्रिया मात्रै हो भनी मान्छन् ।

हाम्रो मृत्युको बुझाइ नै गलत रहेछ, कन्ससनेस मस्तिष्कबिना पनि अस्तित्वमा रहन सक्छ भनी करिअरको प्रर्वाह नै नगरी किताब नै प्रकाशन गर्छन् उनी । उनका अनुसार त्यो एनडीई पछि उनको जीवनलाई हेर्ने दृष्टिकोण र जिउने तरिका नै फरक, सहज र आनन्दमय भएर गएको छ ।

प्रतिष्ठित जर्नल ल्यान्सेटमा प्रकाशित ‘पिम भान लोमेल’ को एनडीई अध्ययनका अनुसार मृत्युसँग संघर्ष गर्नुपर्ने अवस्थाबाट गुज्रिने करिब १८ प्रतिशतमा एनडीई पाइन्छ र व्यक्तिको पृष्ठभुमिमा तमाम विविधताका बाबजुद पनि त्यस्तो अनुभवमा अपत्यारिलो समानता पाइन्छ ।

यसका प्रमुख लक्षणहरूमा चेतना शरीरबाट भिन्नरूपमा माथि गई आफ्नो अचेत शरीर र अन्य वास्तविकता माथिबाट देख्नु, अत्यन्त आनन्द एवम् सकारात्मक अनुभव रहेका छन् । साथै अनौठो सुरुङ यात्रा हुँदै प्रकाशतर्फ वा अलौकिक दुनियाँको यात्रा, जीवनको वहुआयामिक समीक्षा, मृत्यु भइसकेका कोही आफन्तको कन्ससनेससँग भेटको वा वृहत अन्तरसम्बन्धका अनुभूतिहरू पर्छन् ।

अक्सिजनको कमी, भ्रम वा हालुनेसन लगायत अन्य तमाम कारणहरूलाई विवेचना र अस्वीकार गर्दे शारीरीक मुत्युपछि पनि कन्ससनेसको अस्तित्व एक फरक सुक्ष्म वा अव्यक्त अवस्थामा जारी रहन सक्ने बलियो सम्भावना देखाउँछन यी अनुसन्धानहरूले, लोमेल भन्छन ।

३. सन २०२२ को क्वान्टम इन्टयाङ्गलमेन्टमा नोबेल पुरस्कार, एवम् अव्जरवर इफेक्टले उजागर गरेको रहस्य

सम्बन्धित ‘पार्टिकल’ हरूलाइ छुटयाएर करोडौँ माइल टाढा लगे पनि उनीहरूमा एक अनोन्याश्रित सम्बन्ध रही रहने गरेको पाइयो । एउटा ‘पार्टिकल’ मा ल्याइने परिवर्तनले अर्कोमा आउने परिवर्तन, गुण र अवस्थालाई तुरन्तै निर्धारण गर्ने गरेको र यो असर प्रकाशको गति भन्दा पनि छिटो हुने गरेको पाइयो ।

आइन्सटाइनले यो सम्बन्ध देखेका थिए तर तत्कालीन भौतिक विज्ञानले ब्याख्या नै गर्न नसक्ने प्रकाशको गति भन्दा छिटो हुने यो सञ्चारको विषयलाई उनले ‘स्पुकि एक्सन एट अ डिस्टेन्स’ भनेका थिए । यसको प्रमाणिक व्याख्याको विषय ‘क्वान्टम इन्टयाङ्गलमेन्ट’ मा सन २०२२ को नोवेल पुरस्कार नै प्रदान गरिए पछि वैज्ञानिकहरू ‘स्पेश–टाइम’ नष्ट नहुने आधारभूत वास्तविकता नभै ‘कन्ससनेस वा चेतना’ आधारभूत तत्व हुन सक्ने आँकलन गर्न थालेका छन् ।

अर्को तर्फ पदार्थ वा म्याटरको अन्तिम अस्तित्व पूर्णत भौतिक नभई पदार्थ र तरंगको अनिश्चित अवस्था हुने र चेतनाले अवलोकन गरेपछि मात्र यसको स्वरुप निर्धारण हुने प्रसिद्ध डबल स्लिट एवम् अब्जर इफेक्टको’ प्रयोग पछि ‘कन्ससनेस वा चेतना’ आधारभूत तत्व हुनसक्ने अवधारणामा थप बल पुगेको छ ।

‘क्वान्टम सिद्धान्तका’ पिता म्याक्स प्लाँकले भनेका थिए– अहिले मलाई लाग्छ कन्ससनेस आधारभूत तत्व हो र ‘म्याटर’ ‘कन्ससनेस’ बाट उत्पन्न भएको हो न कि ‘कन्ससनेस’ ‘म्याटर’ बाट लामो समय सायद हामी फरक दृष्टिकोण बनाएर समय खेर फाल्यौँ ।

‘हार्ड प्रब्लम अफ कन्ससनेस’ को अवधारणाले पनि यही मान्यतातर्फ इंगित गर्दछ ।

यी सिद्धान्तहरूले मस्तिष्क चेतनाको निर्माणमा भन्दा अभिव्यक्तिमा बढी महत्वपूर्ण हुन सक्ने सम्भावना औँल्याउँछन । एनडीईका विश्व प्रख्यात अनुसन्धानकर्ता तथा कार्डियोलोजिस्ट डा. पिम भान लोमेल भन्छन्–मस्तिष्कले रेडियो वा टेलिभिजन सेटले जस्तै मुलतः ‘कन्सस युनिभर्सल फिल्डको रिसिभर र मोडुलेटर’ को भूमिका निर्वाह गर्छ । कन्ससनेस मस्तिष्कले निर्माण गर्ने होइन । टेलिभिजन बिग्रिँदैमा स्टेशनवाट प्रसारित सामग्रीको पूर्णत: अन्त्य नहुने उदाहरण पेश गर्दै उनी भन्छन्– मृत्यु पनि पूर्णअन्त्य होइन ।

प्रथम कम्प्युटर माइक्रो प्रोसेसरका निर्माता फिजिसिस्ट ‘फेडेरिको फेगिन’ पनि चेतना मस्तिष्कको उपज होइन कन्ससनेस आधारभूत तत्व हो भन्छन् । म यो अवधाराणालाइ छिटै प्रयोगशालामै प्रमाणित गर्ने अठोट उनले देखाएका छन् ।

४. नोबेल पुरस्कार मनोनित वैज्ञानिक एरभिन लाज्लोको ‘आकाशिक रेकर्डको’ वृहत अवधारणा

दुइ पटक नोबेल शान्ति पुरस्कारका लागि मनोनित संयुक्त राष्ट्र संघका पूर्वसल्लाहकार ‘सिस्टम थियोरिस्ट’ एरभिन लाजलोले हालसम्म भएका भौतिक विज्ञान, जीव विज्ञान, उदविकास, कस्मोलोजी, क्वान्टम फिजिक्स र कन्ससनेसका क्षेत्रमा भएका तमाम अनुसन्धानलाई विवेचना र संश्लेषण गर्दै ‘इन्टिग्रल थियोरी अफ एभ्रिथिङ’ प्रस्तुत गरेका छन् । कयौँ वैज्ञानिकबाट प्रसंशा पाएको यो सिद्धान्तले सृष्टिको प्रलय र व्यक्तिको मृत्यु हुँदा सबै कुरा पूर्णतः नष्ट हन्छ भनेर मान्ने हो भने आजको विकसित अवस्थामा मानव आइपुग्न सम्भव नै छैन भन्ने वैज्ञानिक आधार पेश गरेको छ ।

उनका अनुसार मृत्यु र ब्रम्हाण्ड नै नष्ट हुँदा समेत कायम रहने ‘मेमोरी एवम् इन्फर्मेसन फिल्ड’ अर्थात ‘कस्मिक कन्ससनेस’ को अस्तित्वले मात्र बहु–ब्रम्हाँड(मल्टिभर्स) देखि पृथ्वीमा देखिने अलौकिक घटना र व्यक्तिहरूका अलौकिक क्षमतालाई पूर्णतः व्याख्या गर्न सक्छ । सृष्टिको भूत वर्तमान र भविष्यको सम्पूर्ण जानकारीको यो स्रोतलाई उनले ‘आकाशिक रेकर्ड’ को नाम दिएका छन् ।

अहिले अनुमान लगाउने गरिन्छ, ‘होलिस्टिक मेडिसिन’ का पिता मानिने ‘एडगर क्यासी’ को अद्‍भूत क्षमता सायद यो इन्फर्मेसन फिल्डसँग सम्पर्क बनाउन सक्ने खुबीको कारण थियो । इन्द्रीयातित ज्ञानका अनेक स्वरुपहरू जस्तै साइकिक खुबीहरू, टेलिप्याथी, टेलिपोर्टेसन, रिमोट भिविङ, इन्ह्यान्सड कन्ससनेसदेखि सिद्व योगी र ऋषि मुनिहरूको खुबी पनि यो सिद्धान्तको व्याख्यामा अटाउन सक्छन् ।

धर्म, संस्कार, आस्था र प्रथाका नाममा कयौँ व्यक्तिहरू परिचित धर्मगुरु र बाबाहरू बाट नै ठगिने गरेका घटनाहरूले गर्दा हामी धर्ममा व्याख्या गरिएका कयौँ विषयहरूमा अनावश्यका नकारात्मक धारणा बनाउन पुग्छौँ । पुनर्जन्म पनि एक संवेदनशील विषय हो । यसलाई बिनापरीक्षण स्विकार नगरौँ । तर, बिनापरिक्षण अस्वीकार पनि नगरौँ किनकी मृत्युप्रतिको सही दृष्टिकोण नै जीवन जिउने कलाको प्रमुख आधार हो ।

(डा. पुष्पराज पौडेल आयुर्वेद विशेषज्ञ हुन भने, डा. वैकुण्ठरमण सुवेदी क्लिनिकल साइकोलोजिस्ट हुन )

अन्धविश्वास चिकित्सा विज्ञान पुनर्जन्म
लेखक
डा. पुष्पराज पौडेल/डा. वैकुण्ठरमण सुवेदी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय