+
+
Shares

बजारमा प्रतिबन्धित सामान छ्यापछ्याप्ती, विक्रेतालाई कारबाही चेतावनी

विभागले प्रतिबन्धित वस्तुको अनधिकृत पैठारी, भण्डारण र बिक्री वितरण गर्ने कार्य कानुन बमोजिम दण्डनीय रहेको भन्दै त्यस्ता कार्य तत्काल रोक्न चेतावनी दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले निकासी तथा पैठारीमा प्रतिबन्ध लगाएका वस्तुहरू बजार र डिजिटल माध्यमबाट बिक्री भइरहेको गुनासोप्रति वाणिज्य विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
  • विभागले प्रतिबन्धित वस्तुको आयात, भण्डारण र बिक्री वितरण तत्काल रोक्न चेतावनी दिँदै त्यस्ता कार्य कानुन बमोजिम दण्डनीय हुने जनाएको छ।
  • नियम उल्लंघन गर्ने व्यवसायीलाई निकासी पैठारी नियन्त्रण ऐन २०१३ तथा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कडा कारबाही गरिने विभागले उल्लेख गरेको छ।

११ साउन, काठमाडौं । सरकारले निकासी–पैठारी तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएका वस्तु बजारमा भौतिक र डिजिटल (अनलाइन) प्ल्याटफर्म मार्फत खुलमखुला बिक्री भइरहेको गुनासोप्रति वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभागले सूचना जारी गरी प्रतिबन्धित वस्तुको अनधिकृत पैठारी, भण्डारण र बिक्री वितरण गर्ने कार्य कानुन बमोजिम दण्डनीय रहेको भन्दै त्यस्ता कार्य तत्काल रोक्न चेतावनी दिएको हो ।

निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सरकारले २०७६ असार २, २०७६ चैत २४ लगायत मितिमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी निश्चित वस्तु निकासी वा पैठारीमा पूर्ण वा परिमाणात्मक बन्देज लगाएको थियो ।

तर, ती वस्तु अझै बजारमा निर्बाध बिक्री भइरहेको उजुरी परेपछि विभागले कारबाहीको चेतावनी सहित नयाँ सूचना जारी गरेको हो ।

सम्पूर्ण पैठारीकर्ता, सञ्चयकर्ता (भण्डारण गर्ने) र विक्रेतालाई कानुनले तोके बमोजिम दायित्व र सर्त पूर्ण पालना गरेरमात्र व्यापार–व्यवसाय सञ्चालन गर्न सचेत गराइएको छ ।

यदि कसैले कानुन विपरीत कार्य (प्रतिबन्धित वस्तुको आयात वा बिक्री) गरेको पाइए ‘निकासी पैठारी (नियन्त्रण) ऐन २०१३’, ‘उपभोक्ता संरक्षण ऐन २०७५’ तथा अन्य प्रचलित कानुन बमोजिम कडा कारबाही हुने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?