News Summary
Generated by OK AI. Editorially reviewed.- मार्वल स्टुडियोजले डेभिड जोन्सनलाई नयाँ ‘ब्ल्याक प्यान्थर’का रूपमा सार्वजनिक गरेको छ ।
- अभिनेता जोन्सनले सन् २०२८ को डिसेम्बर १५ मा प्रदर्शन हुने फिल्ममा टी’चालाका छोराको भूमिका निर्वाह गर्नेछन् ।
- मार्वलले अभिनेता रायन गोसलिङले ‘घोस्ट राइडर’को भूमिका निर्वाह गर्ने आधिकारिक जानकारी पनि दिएको छ ।
लस एन्जलस । मार्वल स्टुडियोजले कमिक-कन इन्टरनेसनलको प्रस्तुतिमा डेभिड जोन्सनलाई नयाँ ‘ब्ल्याक प्यान्थर’का रूपमा सार्वजनिक गरेको छ । उनले चाडविक बोसम्यानले निर्वाह गरेको पात्र टी’चालाका छोराको भूमिका खेल्नेछन् ।
मार्वलले नयाँ फिल्ममा रायन गोसलिङले ‘घोस्ट राइडर’को भूमिका निर्वाह गर्ने जानकारी पनि दिएको छ । यी दुवै बहुप्रतीक्षित फिल्महरू सन् २०२८ मा प्रदर्शन हुनेछन् ।
जोन्सन ‘ब्ल्याक प्यान्थर’ शृंखलाका निर्देशक रायन कुगलर तथा कलाकार लेटिसिया राइट र विन्स्टन ड्युकसँगै मञ्चमा उपस्थित भएका थिए । उनी छातीमा हात राख्दै मुस्कुराइरहेका देखिन्थे ।
‘ब्ल्याक प्यान्थर ३’ सन् २०२८ डिसेम्बर १५ मा प्रदर्शन हुनेछ ।
३२ वर्षीय अभिनेताले भने, ‘यो परिवारको हिस्सा बन्ने अवसर र आशीर्वाद पाएकोमा म कृतज्ञ छु । म धेरै कुरा भन्न चाहन्नँ, किनकि पर्दाले नै सबै कुरा बताओस् भन्ने चाहन्छु ।’
उनी ‘इन्डस्ट्री’, ‘द लङ वाक’ र ‘एलियनः रोमुलस’जस्ता फिल्म तथा शृंखलामा निर्वाह गरेका भूमिकाका लागि परिचित छन् ।

चाडविक बोसम्यानको सन् २०२० मा निधन भएको थियो । सन् २०२२ मा प्रदर्शन भएको ‘ब्ल्याक प्यान्थरः वाकान्डा फरेभर’मा टी’चालाको एक छोरा रहेको खुलासा भएपछि उनको स्थान कसले लिनेछ भन्ने अनुमान प्रशंसकमाझ सुरु भएको थियो । सम्भावित कलाकारका रूपमा ड्याम्सन इड्रिस र लेटिसिया राइटको नाम पनि चर्चामा थियो ।
सन् २०१८ मा प्रदर्शन भएको पहिलो ‘ब्ल्याक प्यान्थर’ उत्कृष्ट फिल्मको विधामा अस्करमा मनोनयन प्राप्त गर्ने पहिलो सुपरहिरो फिल्म बनेको थियो । यो फिल्मले विश्वभर १.३ अर्ब अमेरिकी डलरभन्दा बढी कमाएको थियो भने यसको सिक्वेलले ८५ करोड डलर आम्दानी गरेको थियो ।
रायन गसलिङले ‘घोस्ट राइडर’का लागि ‘स्टार वार्सः स्टारफाइटर’का निर्देशक सन लेभीसँग फेरि सहकार्य गर्नेछन् । गोसलिङले मार्वल स्टुडियोजका प्रमुख केभिन फाइगीलाई अभिवादन गर्दै आफू लामो समयदेखि यो भूमिका निर्वाह गर्न इच्छुक रहेको दर्शकलाई बताए ।
गोसलिङकी लामो समयदेखिकी जीवनसाथी इभा मेन्डेसले निकोलस केजसँग पहिलो छुट्टै ‘घोस्ट राइडर’ फिल्ममा अभिनय गरेकी थिइन् । उक्त फिल्म सन् २००७ मा प्रदर्शन भएको थियो । यो ‘आइरन म्यान’मार्फत मार्वल सिनेमेटिक युनिभर्स सुरु हुनुभन्दा एक वर्षअघिको कुरा हो ।
सोनीले सन् २०१२ मा यसको सिक्वेल प्रदर्शन गरेको थियो । त्यसपछि चलचित्रको अधिकार मार्वलकै स्वामित्वमा फर्किएको छ । तर ‘घोस्ट राइडर’ पात्र हालसम्म मार्वल सिनेमेटिक युनिभर्समा देखिएको छैन ।
प्रतिक्रिया 4