सन् २०१५ को नोभेम्बर महिनामा सिने उद्योगमा भर्खरै बामे सर्दै गरेको नयाँ स्टुडियो ए २४ एउटा ठूलो धर्मसंकटमा थियो । यो स्टुडियोले लेखक तथा निर्देशक रोबर्ट एगर्सको हरर/मिस्ट्री फिल्म ‘द विच’ लाई सनडान्स फिल्म फेस्टिभलबाट किनेको थियो । फिल्ममा रोबर्टको डेब्यू थियो । स्टुडियोले फिल्मलाई हलहरूमा रिलिज गर्ने सोचिरहेको थियो । तर, त्यसबेला स्टुडियोसँग निर्देशक एगर्स र फिल्मकी मुख्य नायिका अन्या टेलर जोय सम्पर्कमा थिइनन् ।
सन् १६३० को दशकको पृष्ठभूमिमा बुनिएको र अर्ली मोर्डन इङ्ग्लिसमा संवादहरू लेखिएको यो फिल्मलाई सफल बनाउनु एक अर्थले स्टुडियोका लागि फलामको चिउरा चपाउनुसरह थियो । यस्तोमा बजारमा फिल्मको चर्चा चलाउन स्टुडियोले फरक बाटो रोज्यो । उसले धार्मिक संस्था ‘द स्याटानिक टेम्पल’ सँग सहकार्य गर्यो ।
किनकि ए २४ को मार्केटिङ टिमलाई धार्मिक स्वतन्त्रता र प्रजनन अधिकारको पक्षमा आन्दोलन गर्ने यो संस्था मिडियाको ध्यान आफूतिर तान्न माहिर छ भन्ने लागेको थियो ।
यसरी स्याटानिक टेम्पलले इतिहासमै पहिलोपटक कुनै फिल्मलाई सार्वजनिक रूपमा समर्थन गर्यो । यही मौकामा ए २४ ले फिल्मको विशेष स्क्रिनिङपछि हुने पोस्ट पार्टीमा मोटो रकम खर्चियो ।
यसका लागि स्याटानिक टेम्पलकी तत्कालीन प्रवक्ता जेक्स ब्ल्याकमोरले दुवै पक्षलाई फाइदा हुने गरी योजना बनाएकी थिइन् । उनको सोच थियो – फिल्मलाई लिएर चर्चा र विवाद खडा होस्; ताकि ‘द विच’ लाई सबैले सम्झिरहुन् ।
त्यसपछि न्युयोर्कको जेन होटलमा गरिएको पोस्ट पार्टी अत्यन्तै फरक शैलीको हुनपुग्यो । त्यहाँ फिल्म हेर्न आउने हरेकको निधारमा खरानी लगाइएको थियो । उनीहरूलाई अर्धनग्न कलाकारहरू, अनौठो संगीत बजाउने सङ्गीतकार र अत्यन्तै कडा स्वभावकी महिला (डोमिनेट्रिक्स) को बीचमा राखिएको थियो ।

त्यस्तो अनौठो पार्टी र सहकार्यले मिडियामा ठूलो खैलाबैला मच्चायो । कतिपय धार्मिक वृत्तमा त्रास नै फैलियो । तर, नतिजामा फिल्म साँच्चै नै चल्यो । १.५ मिलियन डलरमा ए २४ ले किनेको सो फिल्मले बक्स अफिसमा ४० मिलियनभन्दा बढीको व्यापार गर्यो ।
अर्कोतर्फ हलिउडको परम्पराभन्दा बिल्कुलै भिन्न प्रचार शैलीले ए २४ को ठूलो धर्मसंकट तोडियो । उसको सफलताको जग बस्यो ।
000
आज द विच रिलिज भएको एक दशकभन्दा बढी भइसकेको छ । तर, अझैं पनि हलिउडका नामी व्यक्तिहरूले ए २४ को उक्त मार्केटिङ शैलीबारे बेलाबखत कुरा गरिरहेका छन् ।
अहिलेसम्म यो स्टुडियोले मुनलाइट, द ब्रुटालिस्ट, एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स जस्ता फिल्महरूका लागि ९४ वटा नोमिनेसन र २१ वटा अस्कर अवार्डहरू जितिसकेको छ । त्यसमा पनि सबैभन्दा सफल वर्ष २०२३ रहन गयो । उक्त वर्ष ९ वटा अस्कर यो स्टुडियोले जितेको थियो ।
अहिले सिनेप्रेमीहरूका लागि यो स्टुडियो डिरेक्टर ड्रिभेन इन्डी सिनेमाको पर्यायवाची बन्दै गइरहेको छ । कतिपयले भेन स्टुडियो स्वयंलाई एक ‘निर्देशक’ पनि मान्ने गरेको देखिन्छ ।
हालै मात्र भेन्चर क्यापिटल लगानी भित्रिएपछि यो स्टुडियोको मूल्यांकन साढे तीन अर्ब डलर पुगेको छ । यसले गर्दा स्टुडियोले फिल्ममा गर्ने लगानी र व्यावसायिक महत्त्वाकांक्षा दुवै चुलिएका छन् ।
अहिले यो स्टुडियोसँग आफ्नै एउटा म्युजिक लेबल र अफ ब्रडवे नामक थिएटर छ । हालै मात्र यसले एआई प्रयोग गरेर फिल्ममेकिङ गर्न ए २४ ल्याब्स नामक नयाँ शाखा खोलेको छ ।
तर यो कम्पनी जति ठूलो हुँदैछ, यसले त्यस्तै उत्तेजक र विद्रोही सामग्रीहरूलाई पनि बिकाउ माध्यम बनाउँदैछ । यदि कुनै फिल्म विवादित वा उत्तेजक छ भने यसको मार्केटिङ विभाग झन् बढी हौसिन्छ । तर, यो कुरा नै स्टुडियोको सफलताको कारण पनि हो ।

२०१४ मा आएको साई-फाई थ्रिलर ‘एक्स माकिना’लाई एउटा अर्को उदाहरण मान्न सकिन्छ । उनीहरूले फिल्मको मुख्य पात्रका नाममा टिन्डर (डेटिङ एप) प्रोफाइल बनाएर मान्छेहरूलाई फिल्म हेर्न निम्तो दिएका थिए ।
कसरी सुरु भयो ए २४ ?
सुरुका दिनमा ए २४ फिल्म स्टुडियोको रूपमा थिएन । फिल्म वितरण गर्ने एउटा कम्पनी थियो । यसको काम फिल्म बनाउने नभई बनेका फिल्महरू किनेर तिनको बजारीकरण गर्नु र दर्शकमाझ पुर्याउनु थियो । यो पृष्ठभूमिबाट आएकाले पनि ए २४ बजारीकरणमा राम्रो भएको विश्लेषण हलिउडका समीक्षकहरूले गर्ने गर्छन् ।
यसबारे चर्चा हुने अर्को कुरा नाम पनि हो । तर, नामको पछाडि कुनै प्रतीकात्मक अर्थ छैन । कम्पनीका संस्थापक मध्येका एक ड्यानियल क्याट्स इटालीको ए २४ नामक राजमार्गमा गाडी चलाउँदै कतै गइरहेका थिए । उनलाई राजमार्गको नाम मन पर्यो । त्यसपछि कम्पनीको नाम नै ‘ए २४’ राखिएको थियो । तर यो नाम अमूर्त र रहस्यमयी भएकाले यसले स्टुडियोबारे एक प्रकारको कौतुहलता जगाउने काम भने गर्छ ।
यसरी यसको स्थापना सन् २०१२ मा न्यूयोर्कमा भएको थियो । तर त्यसबेला इन्डी सिनेमाहरूको अवस्था निकै नाजुक थियो । त्यतिबेलाका सबै कम्पनीहरू मिराम्याक्स (इन्डी सिनेमामा काम गर्ने डिस्ट्रिब्युटर कम्पनी) को सिको गर्थे वा त्यसकै सिको गरेर बनेका हुन्थे । तर ती कम्पनीहरू आफ्ना पुराना दर्शकहरूसँगै बुढो हुँदै गइरहेका थिए । नवीनता केही आइरहेको थिएन ।
८० को दशकमा मिराम्याक्सले आक्रामक बजारीकरण गरेर इन्डी सिनेमाहरूलाई व्यावसायिक रूपमा सफल बनाएको थियो । स्टिभन सोडरबर्गको ‘सेक्स, लाइज, एन्ड भिडियोटेप’ त्यसैको उदाहरण हो । तर सन् २००० को दशकसम्म आइपुग्दा यसका फिल्महरू अस्कर अवार्ड जित्ने सस्तो प्रपञ्च जस्ता मात्र देखिन थालेका थिए ।
अर्कोतर्फ त्यसै समयमा ए २४ का तीन युवा संस्थापकहरू – डेभिड फेन्केल, ड्यानियल क्याट्स र जोन हजेज – मिराम्याक्सको स्वर्णिम युगलाई ब्युँताउन चाहन्थे । उनीहरू आफ्नै पुस्ताका लागि कलात्मक र बौद्धिक फिल्महरू बनाउन चाहन्थे । त्यसबेला लागत कम राख्दै डिजिटल मिडियाको माध्यमबाट प्रचारप्रसार गरेर यसबाट पैसा कमाउन सकिन्छ भन्नेमा उनीहरूको विश्वास थियो ।
तर, ए २४ ले सुरुमा किनेका दुईवटा फिल्महरू बक्स अफिसमा फ्लप भए । तेस्रो फिल्म हार्मोनी कोरिनको ‘स्प्रिङ ब्रेकर्स’ भने ब्लकबस्टर साबित भयो ।
यो फिल्मको ट्रेलर हेर्दा सुरुमा सुन्दरी केटीहरूको रमाइलो र चोरीचकारीको कथा जस्तो लाग्छ । तर फिल्मले बिस्तारै अर्कै मोड लिन्छ । त्यसमा ब्रिट्नी स्पियर्सको गीतसँगै अपराध देखाइन्छ । यस्ता भाइरल हुने दृश्य र अन्तिमको नसोचेको ट्विस्ट नै ए २४ स्टुडियोको मुख्य पहिचान बन्न गयो।

त्यसमाथि स्टुडियोले टिभी विज्ञापन छोडेर अनलाइन प्रचारमा जोड दियो । र त्यसमा स्टुडियो सफल पनि भयो । अवार्डको समयमा पनि स्टुडियोले पुराना र औपचारिकता छोडेर सिधै युवाहरूलाई मन पर्ने शैली अपनाउन थाल्यो ।
त्यसपछि आएको सोफिया कोपोलाको फिल्म ‘द ब्लिङ रिङ’ पनि निकै सफल भयो । यो फिल्मले इन्टरनेट र पप-कल्चरको प्रयोग गरेर हलिउडका धनीहरूलाई लुट्ने युवाहरूको कथा भन्थ्यो ।
स्टुडियोको मुल कुरा
प्रायः ए २४ ले कोपोला जस्ता आफ्नै कथा लेख्ने र निर्देशन गर्ने फिल्ममेकरहरूसँग मात्र काम गर्ने गरेको छ । यसले गर्दा यसका हरेक फिल्म कुनै एक व्यक्तिको दिमागको फरक र विशेष उपज जस्ता देखिन्छन् ।
यो स्टुडियो फरक खालका हरर र आर्ट हाउसका लागि पनि चिनिन्छ । जस्तै, ‘मिडसोमार’ फिल्ममा निर्देशक आरी एस्टरले एउटा धोकेबाज प्रेमीलाई भालुको छालाभित्र हालेर जिउँदै जलाएको बीभत्स दृश्य देखाएका छन् ।
यसरी सधैं ए २४ का फिल्महरू स्वाद र विषयवस्तुमा फरक हुन्छन् । अनि यसले सधैँ अनौठा र विशेष कथाहरूलाई ठाउँ दिने भएकाले नै दर्शकहरू यसलाई अरूभन्दा भिन्न र खास मान्छन्।
त्यस्तै आजको सिनेमा बजारमा पुराना फिल्मका सिक्वेल र रिबुटहरूको भीड देखिन्छ । त्यसको ठीक विपरित ए २४ भने सधैं नयाँ र अनौठो विषयको खोजीमा हुन्छ ।
त्यसमामाथि ए २४ ले निर्देशकहरूलाई आफ्नो भिजन अनुसार काम गर्न पूर्णस्वतन्त्रता दिन्छ । सिर्जनात्मक दृष्टिकोणबाट हेर्दा यसो गर्नु जोखिमपूर्ण भएता पनि यसले फिल्मलाई मौलिक बनाउन सहयोग गर्छ ।
तर मार्केटिङमा भने ए २४ ले पूर्ण नियन्त्रण राख्छ । किनकी यो स्टुडियोले यसमा दख्लता नै प्राप्त गरेको छ । जस्तो; आरी एस्टरको पहिलो फिल्म ‘हेरेडिटरी’ को प्रचार गर्दा स्टुडियोले फिल्मको मुख्य ट्विस्ट (३० मिनेटपछि मुख्य पात्रको टाउको काटिने दृश्य) लाई ट्रेलरमा समावेश गरेन ।
प्रचारप्रसारका क्रममा कतै पनि खुलाएन । फिल्मलाई एउटा सामान्य ‘भूत प्रेतको फिल्म’ जस्तो गरेर प्रचार गर्यो । तर, यही रणनीतिले काम गर्यो । किनकि मान्छेहरूले माउथ अफ पब्लिसिटी गरिदिए । यही कारण ७५ मिलियन डलरमा बनेको सो फिल्मले विश्वभरबाट ९० मिलियनभन्दा बढी कमायो ।
आजको समयमा आउँदा ए २४ ले फिल्मसँगै टेलिभिजनमा पनि हात हालेको छ । नेटफ्लिक्स, एचबीओ जस्ता प्लेटफर्महरूसँग मिलेर यसले बिफ, युफोरिया जस्ता विश्व प्रसिद्ध सिरिजहरू बनाएको छ । अनि सुरुको आधा दशक अरूले बनाएका फिल्महरू किन्ने मात्र काम गरेको यो कम्पनीले आजकाल भने आफैं पनि फिल्म उत्पादन गर्छ । फिल्म उत्पादन गर्न धेरै पैसा लाग्ने भएकाले सुरुमा वितरणमा मात्र केन्द्रित हुनु सुरक्षित पनि थियो । तर, आफ्नो ब्रान्ड बलियो बनाएपछि उनीहरूले आफैं फिल्म बनाउने निर्णय गरे ।

उनीहरूले निर्माण गरेको पहिलो फिल्म मुनलाइट हो । त्यसपछि अनकट जेम्स, एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स आदि हुन् ।
यद्यपि ए २४ का सबै फिल्महरू सफल नै हुन्छन् भन्ने छैन । उनीहरू वर्षमा धेरै फिल्महरू रिलिज गर्छन् । उदाहरणका लागि २०२२ मा उनीहरूले २० वटा फिल्म रिलिज गरेका हुन् । जुन प्यारामाउन्ट जस्तो ठूलो स्टुडियो भन्दा पनि बढी हो । धेरै फिल्म बनाउँदा केही फिल्महरू कमजोर हुनु स्वाभाविक हो ।
तर ए २४ ले आफ्ना नराम्रा वा कमजोर फिल्महरूलाई लुकाउन पनि जानेको छ । उनीहरूले डाइरेक्ट टिभी वा एप्पल टिभीसँग सम्झौता गरेका छन् । उनीहरूले त्यहीँ नै कमजोर ठानिएका फिल्महरू पठाउँछन् । त्यसो हुँदा ती कमजोर फिल्महरू कहिल्यै ठूला हलमा वा चर्चित इन्डी थियटरमा देखाइँदैनन् । यसले कम्पनीको ब्रान्ड भ्यालुमा पनि आँच आउन दिँदैन ।
अहिले यो आलेख तयार पारिरहँदा पनि ए २४ को ४ वटा फिल्महरू हलमा लागिरहेका छन् । नेपालमा पनि रिलिज भएको ब्याकरूम्स भने यो स्टुडियोको अहिलेसम्मकै सबैभन्दा बढी कमाउने फिल्म बनेको छ । इन्टरनेटको हरर र मन्स्टर थिममा आधारित यो फिल्मलाई जम्मा २१ वर्षका केन पार्सन्सले बनाएका थिए ।
यसरी परपम्परागत न्यारेटिभभन्दा फरक भएर निस्कँदा एउटा सानो डिस्ट्रिब्युटर कम्पनी आज पहिल्यै सेट भइसकेको हलिउडका ठूला ठूला कम्पनीहरूलाई धक्का दिने अवस्थामा पुगेको छ ।
प्रतिक्रिया 4