+
नेपाल प्रिमियर लिग :

विश्वप्रसिद्ध अलराउण्डर शाकिब अल हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

२०८३ साउन  ११ गते १६:३८ २०८३ साउन ११ गते १६:३८

पोखरा एभेन्जर्सले सोमबार शकिबलाई तेस्रो सिजनको एनपीएलका लागि अनुबन्ध गरेको घोषणा गरेको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगको तेस्रो सिजनका लागि बंगलादेशी अलराउन्डर शाकिब अल हसनलाई अनुबन्ध गरेको छ ।
  • विश्व क्रिकेटका उत्कृष्ट अलराउन्डर शाकिबको आगमनले टोलीलाई थप मजबुत र प्रतिस्पर्धी बनाउने विश्वास पोखरा एभेन्जर्सले लिएको छ ।
  • महाप्रबन्धक अमित लोहानीले भने, \'शाकिब अल हसनजस्ता विश्वस्तरीय खेलाडीलाई पोखरा एभेन्जर्स परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं ।\'

११ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि पोखरा एभेन्जर्सले बंगलादेशका विश्वप्रसिद्ध क्रिकेटर शाकिब अल हसनलाई अनुबन्ध गरेको छ ।

पोखरा सोमबार शकिबलाई तेस्रो सिजनको एनपीएलका लागि अनुबन्ध गरेको घोषणा गरेको हो ।

विश्व क्रिकेटका सर्वकालीन उत्कृष्ट अलराउन्डरमध्ये एक मानिने शाकिब अल हसनले अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनको अनुभव, नेतृत्व क्षमता र खेल जिताउने प्रदर्शनले पोखरा एभेन्जर्सको टोलीलाई थप मजबुत बनाउने विश्वास क्लबले लिएको छ ।

४० वर्षिय शकिबसँग विश्वका ३० भन्दा बढी फ्रेन्चाइज टिमसँग खेलिसकेको छ । बंगलादेशका पूर्व कप्तान समेत रहेका शमिबले १२९ टी२० अन्तर्राष्ट्रिय खेल खेल्दै २ हजार ५५१ रन बनाएका छन् भने १४९ विकेट समेत लिएका छन् ।

यस्तै उनले सबैखाले टी२० मा गरी ४७८ खेल खेलेका छन् । जसमा उनले ७ हजार ८५३ रन बनाएका छन् भने ५१५ विकेट लिएका छन् ।

आईपीएल, बीबीएल, सीपीएल देखि विश्वका अधिकांश लिगको अनुभव भएका शकिब टी२० मा उत्कृष्ट अलराउण्डरको रुपमा चिनिन्छन् ।

विश्वस्तरीय खेलाडीलाई टोलीमा आबद्ध गर्दै पोखरा एभेन्जर्सले उपाधि जित्ने लक्ष्यलाई बलियो बनाएको जनाएको छ । साथै, नेपाली क्रिकेट समर्थकहरूलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीको खेल प्रत्यक्ष रूपमा हेर्ने अवसर प्रदान गर्ने क्लबको प्रतिबद्धतालाई पनि यस अनुबन्धले थप सशक्त बनाएको छ ।

‘शाकिब अल हसनजस्ता विश्वस्तरीय खेलाडीलाई पोखरा एभेन्जर्स परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं । उहाँको अनुभव, व्यावसायिकता र उत्कृष्ट अलराउन्ड प्रदर्शनले हाम्रो टोलीलाई मैदानभित्र मात्र होइन, मैदानबाहिर पनि प्रेरणा दिनेछ,’  पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहानी भन्छन्, ‘उहाँको आगमनले हाम्रो टोलीलाई थप प्रतिस्पर्धी बनाउनुका साथै नेपाल प्रिमियर लिगको आकर्षण पनि नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएका छौं। आगामी सिजनमा उहाँसँग मिलेर उत्कृष्ट नतिजा हासिल गर्ने अपेक्षा गरेका छौं ।’

एनपीएल सिजन ३ का लागि पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना, दिनेश खरेललाई रिटेन गरेको थियो भने विवेक राना मगर, सुदीप आर्याल, सन्नी बीके, विपिन आचार्य तथा प्रतीक पोखरेललाई अक्सनमार्फत टोलीमा आबद्ध गरिसकेको छ ।

शकिब पहिलो विदेशी खेलाडीको रुपमा टोलीमा अनुबन्ध भएका छन् भने टोलीका मुख्य प्रशिक्षकका रूपमा श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी बलापुवाडुगे अजन्ता विन्स्लो मेन्डिस नियुक्त भइसकेका छन् ।

पोखरा एभेन्जर्सले आगामी दिनमा पनि उत्कृष्ट स्वदेशी तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको संयोजनमार्फत प्रतिस्पर्धात्मक टोली निर्माण गर्ने जनाएको छ ।

पोखरा एभेन्जर्स शकिब अल हसन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय