News Summary
Generated by OK AI. Editorially reviewed.- काभा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी नेपाल लिग चरणका सबै पाँच खेलमा पराजित हुँदै प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्न असफल भएको छ ।
- अन्तर्राष्ट्रिय अनुभवको कमी र निर्णायक क्षणमा सम्हालिन नसक्दा नेपालले अग्रता लिएका खेलमा पनि जित हात पार्न सकेन ।
- प्रशिक्षक जगदीश भट्टले नेपालले दीर्घकालीन योजना र नियमित अन्तर्राष्ट्रिय प्रतिस्पर्धा पाएमा भविष्यमा उत्कृष्ट नतिजा हासिल गर्न सक्ने सम्भावना रहेको बताए ।
११ साउन, काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न पाकिस्तानको इस्लामावाद प्रस्थान गर्दा नेपालको लक्ष्य स्पष्ट थियो- एफआईभीबीको विश्व वरियतामा समावेश हुने र करिब एक दशकपछि सिनियर पुरुष टोलीका लागि पदक जित्ने ।
विश्व वरियता मान्यता प्राप्त प्रतियोगिता भएकाले नेपाल पहिलो खेल खेलेसँगै नेपाल विश्व वरियतामा समावेश भयो । तर दोस्रो लक्ष्य भने पूरा हुन सकेन ।
प्रतिस्पर्धात्मक प्रदर्शन गरेपनि नेपाल लिग चरणका पाँचै खेलमा पराजित हुँदै सेमिफाइनल पुग्न असफल रह्यो । सेमिफाइनल पुग्न असफल भएपछि नेपालको पदकको लक्ष्य पनि अधुरै रह्यो ।
२०१७ मा सेन्ट्रल जोनमा कांस्य पदक जितेको नेपालले त्यसपछि अहिलेसम्म पदक जित्न सकेको छैन । उमेर समूहमा काभा यू-२० मा भने नेपालले पदक जितेको थियो ।
यस पटक आयोजक पाकिस्तान बाहेक अन्य चार टोली नेपाल समान स्तरको भएकाले सेमिफाइनल पुग्ने र कम्तीमा पदक ‘टच’ गर्ने नेपालको लक्ष्य थियो । तर नेपालले हरेक खेलमा राम्रो प्रदर्शन गर्नका बाबजुद पनि नतिजामा चुक्यो । लिग चरणका सबै खेलमा पराजित हुँदा सेमिफाइनल पुग्न असफल रह्यो ।
लगातार पाँच खेल खेल्दा पाँचै हार बेहोरेको नेपाल तीन खेलमा पाँच सेटमा पुगेर पराजित भएको थियो । पाँच सेटमा पुगेर पराजित भएकोले उक्त खेलबाट १-१ अंक जोड्दा नेपालको खातामा ३ अंक भने रह्यो ।

अब नेपालले पाँचौं स्थानको लागि प्लेअफ म्याच खेल्नेछ । यो प्रतियोगिताको वरियता छुट्टयाउनका लागि मात्र खेलिनेछ ।
यस पटक सेटर हरिहजुर थापाको कप्तानीमा रहेको नेपाली टिममा युवा र नयाँ खेलाडीको बाहुल्य थियो ।
१२ मध्ये ६ खेलाडी पहिलो पटक राष्ट्रिय टिममा परेर खेलेका । ४ खेलाडीसँग गत वर्ष काभा नेसन्स लिग मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव थियो । सेटर हरिहजुर र लिबेरो विनोद चन्दले मात्र अन्तर्राष्ट्रिय स्तरमा अलि बढी अनुभव लिएका थिए ।
तर नयाँ खेलाडीहरुको जोशिलो प्रदर्शन पूरा खेल अवधिभर टिक्न सकेन । नेपालले उत्कृष्ट प्रदर्शन गरेपनि अन्तर्राष्ट्रिय अनुभवको कमी, निर्णायक क्षणमा सम्हालिन नसक्ने र विपक्षी टिमहरुको अनुभवले गर्दा नेपाल पराजित भयो ।
नेपालको प्रदर्शन
बलियो मानिएको कजाखस्तान विरुद्ध नेपालले पहिलो खेलमै शानदार प्रदर्शन गर्यो । प्रतिस्पर्धात्मक खेलमा पराजित भएपनि नेपालको पुनरागमनको व्यापक प्रशंसा भएको थियो । सुरुवाती दुई सेट गुमाएर पनि नेपालले शानदार कमब्याक गर्दै दुई सेट आफ्नो पक्षमा पारेर २-२ को बराबरी गरेको थियो ।
पाँचौं तथा निर्णायक सेटमा भने नेपालले त्यो लय कायम राख्न सकेन र ३-२ को सेटमा पराजित भयो । उक्त खेलमा कजाखस्तानले नेपाललाई २५-१९, २५-२१, ३२-३४, १९-२५,१५-९ ले पराजित गरेको थियो ।
श्रीलंका विरुद्धको दोस्रो खेलमा पनि नेपालले पाँचौ सेटमै पुगेर पराजित भयो । सुरुवाती सेट गुमाएपनि त्यसपछि नेपालले खेलमा पुनरागमन गर्दै अग्रता बनाएको थियो । लगातार दुई सेट जतेर २-१ को अग्रता बनाएको नेपालले यसमा पनि लय कायम राख्न सकेन ।
पहिलो सेट २५–१८ ले गुमाएको नेपालले दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै खेलमा पकड जमाएको थियो । तर चौथो सेट २५–२१ ले गुमाउँदा खेल निर्णायक सेटमा पुग्यो । जहाँ नेपालको पहिलो खेलकै अवस्था दोहोरियो । नेपालले ९–८ को अग्रता जोगाउन नसक्दा श्रीलंकाले सेट १५–१० ले आफ्नो पक्षमा पार्दै खेल जित्यो ।
तेस्रो खेलमा सबैभन्दा बलियो पाकिस्तानसँग नेपाल अपेक्षित चुनौती दिन सकेन र सहजै पराजित भयो । पाकिस्तानले नेपाललाई २५-१४, २५-१८, २५-१० ले पराजित गर्यो । नेपालमा आएर खेलेका खेलाडीहरु रहेको पाकिस्तानका लागि नेपाल विरुद्ध खेल्न कुन चुनौती नै भएन ।

लगातार तीन खेल हारेपछि सेमिफाइनल पुग्न नेपाललाई बाँकी दुवै खेल जित्नुपर्ने चुनौती थियो । तर चौथो खेलमा बंगलादेश विरुद्ध पनि नेपालको अवस्था उस्तै भयो ।
नेपालले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट सुरुवात गरेको थियो । तर दोस्रो सेटमा बंगलादेशले पुनरागमन गर्दै २५–१९ ले आफ्नो पक्षमा पार्दै खेल १-१ को बराबरीमा पुर्यायो ।
तेस्रो सेटमा नेपालले फेरि सुरुवातदेखि राम्रो प्रदर्शन गर्दै २५–२१ ले आफ्नो पक्षमा पार्दै खेलमा २-१ को अग्रता बनायो । अग्रता लिएको अवस्थामा खेल जित्न नेपाललाई १ सेट जिते हुन्थ्यो । तर नेपालले खेलमाथि नियन्त्रण राख्न सकेन र पाँचौं सेटमा पराजित भयो ।
प्रतिस्पर्धात्मक बनेको चौथो सेट बंगलादेशले २५–२३ ले जित्यो र खेल निर्णायक पाँचौं सेटमा पुगेको थियो । पाँचौ तथा निर्णायक सेटमा बंगलादेशले १५–११ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो ।
लिग चरणको पाँचौ खेलमा उज्वेकिस्तान विरुद्ध पनि नेपालले प्रतिस्पर्धात्मक खेल खेलेपनि सोझो सेटमै पराजित भयो । नेपालले यसअघि पनि उज्वेकिस्तानलाई पराजित गरिसकेको थियो । तर सोमबार त्यो नतिजा आएन ।
प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा नेपाल २४-२३ ले अघि थियो । सेट जित्नबाट एक अंक मात्र टाढा रहेको नेपाल चुक्यो । उज्वेकिस्तानले लगातार ३ अंक जोडेर टाईब्रेकमा २६-२४ ले सेट आफ्नो पक्षमा पार्यो ।
दोस्रो सेटमा पनि सुरुवातदेखि नै अग्रता बनाउँदै उज्वेकिस्तानले २५-२० ले जित्यो । तेस्रो सेटमा सुरुवात देखि नै अग्रता लिँदै उज्वेकिस्तानले २५-२२ ले आफ्नो पक्षमा पार्यो ।
कमजोरी र सुधार गर्नुपर्ने पक्ष
पाँचै खेलमा हेर्दा पाकिस्तानसँगको खेलबाहेक नेपालले राम्रो अवस्थामा हुँदा पनि खेल गुमाएको छ ।
नेपालले पाँचमध्ये चार खेलमा प्रतिस्पर्धात्मक खेल खेलेपनि नतिजा ल्याउन सकेन । त्यसमा दुई खेलमा अग्रता अग्रता लिएर पनि त्यसलाई नतिजामा रूपान्तरण गर्न सकेन । निर्णायक समयमा ब्लकिङ, रिसेप्सन र अनुभवको अभाव स्पष्ट देखियो । विपक्षी टोलीले दबाबमा गल्ती कम गर्दा नेपालले भने निर्णायक अंकहरू गुमायो । निर्णायक सेटमा नेपालले दबाब झेल्न सकेन ।
विशेषगरी टिममा अन्तर्राष्ट्रिय प्रतियोगिताको कम अनुभव भएका नयाँ खेलाडी हुँदा र भलिबलमा आवश्यक ब्लक र रिसिभ नै कमजोर हुँदा नेपालले जित नजिक पुगेर पनि नतिजा हात पार्न सकेन ।
काभा पुरुष भलिबल नेपालको लागि विश्व वरियतामा समावेश हुने, कमजोरी पत्ता लगाउने र आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राम्रो तयारी गर्ने माध्यम बन्यो ।
यस प्रतियोगिताबाट नेपाल एफआईभीबीको विश्व वरियतामा समावेश भयो । पहिलो खेल खेलेपछि नै ८३औं वरियतामा पुगेको नेपाल पाँच खेलपछि ९५औं वरियतामा रह्यो ।
यस प्रतियोगिताका लागि नेपाली टिममा ६ नयाँ अनुहार समावेश भएका थिए । हिमाल सुनारी, राजेन्द्र धामी, सुरज चुनारा, दिपेश कुँवर, सन्तोष विक, सरोज बर्देवा सबैले कजाखस्तान विरुद्धको पहिलो खेलमै डेब्यू गर्ने अवसर पाए ।
छ नयाँ खेलाडीलाई पहिलो पटक सिनियर राष्ट्रिय टोलीबाट अवसर दिइएको थियो । उनीहरूले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता देखाए । यसले नेपाली पुरुष भलिबलको भविष्यप्रति आशा जगाएको छ ।

नेपाली भलिबलमा लगानी गर्ने र निरन्तर ट्रेनिङ र अन्तर्राष्ट्रिय खेल हुने हो भने धेरै राम्रो प्रदर्शन गर्न सक्छ भन्ने देखाएको छ ।
प्रमुख प्रशिक्षक जगदीश भट्टका अनुसार नेपालले दीर्घकालीन योजना, नियमित प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा पाउने हो भने सेन्ट्रल एसियामा १४ राष्ट्रमध्ये नेपाल चौथो शक्तिका रूपमा स्थापित हुन सक्छ । ‘हामीले राम्रोसँग योजना बनाएर तयारी गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यौँ भने इरान, भारत र पाकिस्तान पछि हामी नै हुनेछौं’ उनले भने ।
इरान एसिया मात्र नभएर विश्वमै बलियो टिम हो र शीर्ष २० वरियतामा छ । दक्षिण एसियामा भारत र पाकिस्तान बलिया टिम हुने र निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएको छ र उमेर समूहमा पनि लगानी गरिरहेको छ ।
नेपालले पनि ग्रासरुट देखि उमेर समूहको लागि राम्रो योजना बनाएर अघि बढेमा आगामी दिनमा राष्ट्रिय टिम राम्रो बन्न सक्ने प्रशिक्षक भट्टले बताए । ‘अब फ्रेन्चाइज लिग पनि सुरु हुँदैछ । उमेर समूह र ग्रासरुटदेखि नै राम्रो प्रतिभाहरु खोजेर निरन्तर ट्रेनिङ गर्दै जाने हो भने नेपालको टिम धेरै राम्रो बन्न सक्छ’ भट्टले भने ।
काभा पुरुष भलिबलमा नतिजाले नेपालको कमजोरी देखायो, तर प्रदर्शनले सम्भावना पनि उजागर गरेको छ । पाँचमध्ये तीन खेल पाँच सेटसम्म पुग्नु, एक खेलमा शानदार कमब्याक र दुई खेलमा अग्रता लिनुका साथै छ नयाँ खेलाडीले आत्मविश्वासका साथ डेब्यू गर्नु नेपाली पुरुष भलिबलका लागि सकारात्मक संकेत हुन् ।
अब यी अनुभवलाई व्यवस्थित तयारी, घरेलु प्रतियोगिता र नियमित अन्तर्राष्ट्रिय एक्सपोजरसँग जोड्न सके भविष्यमा नेपालले पदकको लक्ष्यलाई वास्तविकतामा बदल्न सक्ने आधार देखिएको छ ।
प्रतिक्रिया 4