+
+
Shares
वार्ता : नाइमा नेपाल मोबिलिटी एक्स्पो :

यसपालि ५५ भन्दा बढी अटो ब्रान्ड सहभागी हुनेछन्

दोस्रो संस्करणमा ४० भन्दा बढी नयाँ मोडेल लन्च हँदैछन् । जसमा आईसीई भेहिकल, ईभी र हाइब्रिड सोलुसन पनि समावेश छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १९:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ आयोजना हुने भएको छ ।
  • एक्स्पोमा ५५ भन्दा बढी अटोमोबाइल ब्रान्डहरूले सहभागिता जनाउने र ४० भन्दा बढी नयाँ सवारीसाधनका मोडेलहरू सार्वजनिक गरिने तयारी रहेको छ ।
  • आयोजक संस्था नाइमाका अनुसार यस पटकको एक्स्पोमा अटोमोबाइल क्षेत्रका विज्ञहरूबीच विभिन्न प्राविधिक विषयमा नि:शुल्क लर्निङ सेसनसमेत सञ्चालन गरिनेछ ।

२६ देखि ३१ साउनसम्म दोस्रो संस्करणका ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ भृकुटीमण्डपमा हुँदैछ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले दोस्रो संस्करणको एक्स्पो गर्न लागेको हो । देशकै ठूलो अटो एक्स्पो मानिएको यो संस्करण तयारी अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा आउने अवलोनकर्ताले १ सयदेखि २ सय रुपैयाँ शुल्क तिरेर एक्स्पोमा प्रवेश गर्न पाउँछन् ।

यसै सन्दर्भमा अटो एक्स्पोका सदस्य तथा शारडा ग्रुपका निर्देशक गौरव शारडासँग एक्स्पो तयारी, व्यवस्थापन लगायत विषयमा अनलाइनखबरले गरेको कुराकानी :

दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को तयारी कस्तो भइरहेको छ ? यो एक्स्पोलाई अरू वर्षभन्दा फरक र विशेष बनाउन के-के गरिँदैछ ?

हाम्रो तयारी, जुन योजना बनाउने चरण थियो, त्यो लगभग सकिएको छ । अब कार्यान्वयन गर्नमात्र बाँकी छ । सबै प्रायोजक र प्रदर्शक शतप्रतिशत आइसकेका छन् । यसपालिको विशेष कुरा के छ भने एक्स्पोको ६ दिन नै नेपाल पुलिस क्लबको ‘ब्लु प्याभिलियन’ मा हामीले ‘लर्निङ सेसन’ राखेका छौं । त्यहाँ अटोमोबाइल र मोबिलिटी क्षेत्रका विभिन्न विषयमा अन्तर्राष्ट्रिय र स्थानीय विज्ञ, इन्फ्लुएन्सर र सरोकारवालाबीच छलफल हुनेछ । रोड सेफ्टी, स्किल डेभलपमेन्ट, ब्याट्री म्यानेजमेन्ट र अहिले चर्चामा रहेको इथानोल ब्लेन्डिङजस्ता विषयमा नि:शुल्क टक शोहरू हुनेछन् । यो एक्स्पोको एउटा महत्त्वपूर्ण पाटो हो ।

यसपालि एक्स्पोमा कति ब्रान्ड र कम्पनी सहभागी हुँदैछन् ? कुन-कुन नयाँ मोडेल, नयाँ प्रविधि वा नेपाली बजारमै पहिलो पटक सार्वजनिक हुने सवारीसाधन प्रदर्शन हुँदैछन् ?

मोबिलिटी एक्स्पोको दोस्रो संस्करणमा ५५ भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ । यो संस्करणका लागि हामीलाई आएको जानकारी अनुसार यसपालि ४० भन्दा बढी नयाँ मोडेल लन्च हँदैछन् । जसमा आईसीई भेहिकल, ईभी र हाइब्रिड सोलुसन पनि समावेश छन् ।

एक्स्पोमा आउने उपभोक्ताका लागि कम्पनीहरूले कस्ता अफर, छुट, फाइनान्सिङ, एक्स्चेन्ज तथा बिक्रीपछिका सुविधा ल्याएका छन् ?

सबै ब्रान्डले ग्राहकलाई आकर्षित गर्न केही न केही विशेष अफर लिएर आउनेछन् । साथै, हाम्रा बैंकिङ र इन्स्योरेन्स पार्टनरहरूले पनि विशेष सुविधा उपलब्ध गराउने छन् ।

सामान्यतया एक्स्पोहरू दसैंतिहारको समयमा हुन्थे, यसपालि केही अगाडि नै गर्न लागिएको हो ? यसको केही खास कारण छ ?

सामान्यतया एक महिनाअघि हुने गर्थ्यो । यसपालि भृकुटीमण्डपको उपलब्धता हेरेर हामीले यो मिति तय गरेका हौं । गत वर्ष पनि हामीले यही समयमा गरेका थियौं ।

पहिलो संस्करणपछि अब यो दोस्रो संस्करणमा आउँदा, अघिल्लो वर्षको अनुभवबाट केही सुधार वा परिवर्तन गर्नुभएको छ ?

पक्कै पनि, हामीले अघिल्लो वर्षभन्दा केही राम्रो गर्ने प्रयास गरेका छौं । गत वर्ष अवलोकनकर्ता र प्रदर्शकहरूबाट पार्किङको गुनासो आएको थियो, त्यसैले यसपालि नेपाल पुलिस क्लबको ब्लु प्याभिलियन मुनिको पार्किङ पनि लिएका छौं । साथै ‘पठाओ’ सँग सहकार्य गरेर अवलोकनकर्तालाई आउन–जान सहुलियतको व्यवस्था मिलाएका छौं । गत वर्षको खानाका स्टलहरूमा धेरै प्रकारका खाना भएन भन्ने गुनासो आएको थियो । अहिले खानाका स्टलमा पनि धेरै विविधता ल्याउने प्रयास गरेका छौं । हरेक उमेर समूहका लागि एक्स्पोमा केही न केही आकर्षण रहने छ ।

एक्स्पोको मुख्य उद्देश्य गाडी बिक्रीमात्र हो कि अरू केही पनि छ ?

मुख्य उद्देश्य ग्राहक र कम्पनीलाई एउटै थलोमा ल्याउने त हो नै, तर नाइमाको नारा नै ‘मोबिलिटी सोलुसन फर अल’ हो । त्यसैले लर्निङ सेसन, ईभी चार्जिङ सोलुसन, सिकाइ सेसन हुन्छन् । जहाँ विद्यार्थीसँगको अन्तर्क्रिया जस्ता कुराले यसमा थप मूल्य गर्नेछन् । बढीभन्दा बढी अन्तर्क्रिया गराउने प्रयास गरेका छौं । मोबिलिटी अलि फराकिलो शब्द हो । बिन्दु ‘क’ बाट बिन्दु ‘ख’ सम्म पुग्ने हरेक माध्यम मोबिलिटी हो । त्यसैले हामीले यो व्यापक अर्थ बोक्ने शब्द प्रयोग गरेका हौं ।

सरकार तथा सरोकारवाला निकायहरूलाई यो एक्स्पो मार्फत कस्तो खालको सन्देश दिन खोज्नुभएको छ ?

हाम्रो लर्निङ सेसनमा विभिन्न मन्त्रालय र विभागका सरकारी सरोकारवालालाई पनि बोलाएका छौं । त्यहाँ विज्ञहरूले विश्वका उत्कृष्ट अभ्यासबारे कुरा गर्नुहुने छ । ती छलफलबाट निस्केका निष्कर्षलाई डकुमेन्ट बनाएर हामीले सम्बन्धित सरकारी निकायमा पनि पेस गर्ने छौं ।

कर बढेको अवस्थामा एक्स्पो गरिराख्नुभएको छ । यस्तो अवस्थामा ग्राहक कतिको आउलान् ?

अहिले कर बढेको मात्रै होइन, केही केसमा कर घटेको पनि छ । ३५ लाखभन्दा मुनिका गाडीमा २.५ प्रतिशत कर घटेको पनि छ । जसलाई गाडी चढ्नु छ, त्यसले ट्याक्स कुरेर त बस्दैन । जसलाई गाडी किन्नु छ उनीहरू हेर्न पक्कै आउँछन् । ईभीमा कर परिवर्तन भएको छ । अवलोकन गरेर आफ्नो इच्छा अनुसार गाडी किन्न सक्नुहुन्छ ।

अन्त्यमा, नाइमा नेपाल मोबिलिटी अटो एक्स्पोमा आउन चाहने दर्शक र गाडी खरिद गर्ने योजनामा रहेका उपभोक्तालाई के भन्न चाहनुहुन्छ ?

यो आजसम्मकै सबैभन्दा ठूलो अटो शोमात्र नभई नेपालकै ठूलो एक्स्पोमध्ये एक हो । साइज, ब्रान्ड तथा उपलब्धता सबै हिसाबले अहिलेसम्मकै सबैभन्दा ठूलो एक्स्पो हो ।

५५ भन्दा बढी ब्रान्ड अहिलेसम्मका कुनै पनि शोमा सहभागी भएका थिएनन् । त्यसकारण पनि यो नेपालको सबैभन्दा ठूलो शो हो । एउटै छानामुनि धेरै प्रकारका ब्रान्ड उपलब्धता पाउनुहुन्छ । ४० भन्दा बढी नयाँ लन्चका साथ यो एउटा राम्रो अवसर हो । अगस्ट ११ देखि १६ सम्म (साउन २६ देखि ३१ सम्म) भृकुटीमण्डपमा परिवार र साथीभाइका साथ आउनुहोस्, नयाँ प्रविधि हेर्नुहोस् र आफ्नो सुझाव दिनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?