News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद वर्षमान पुनले निर्वाचन आयोगलाई आधुनिकीकरण गर्दै प्रविधिमैत्री र विश्वसनीय बनाउनुपर्नेमा जोड दिएका छन्।
- उनले निर्वाचनमा एआई र डिपफेकजस्ता प्रविधिबाट फैलिने भ्रामक सूचना तथा उम्मेदवारको चरित्र हत्यालाई मुख्य चुनौतीका रूपमा औंल्याएका छन्।
- पुनले विदेशमा रहेका नेपालीलाई मतदान प्रक्रियामा सहभागी गराउन र ईभीएमको सुरक्षा सुनिश्चित गर्न आयोगलाई सुझाव दिएका छन्।
१२ साउन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले निर्वाचन आयोगलाई आधुनिकीकरण गर्दै प्रविधिमैत्री र विश्वसनीय बनाउनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार संसदीय सुनुवाइ समितिमा प्रश्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको सुनुवाईका क्रममा सांसद पुनले यस्तो बताएका हुन् ।
सांसद पुनले प्रश्तावित आयुक्त सुब्बाको २५ वर्षको कार्यअनुभव, सूचना प्रविधि (आईटी) क्षेत्रको विज्ञता र संयुक्त राष्ट्रसंघीय मिसनमा गरेको कार्यसम्पादनको प्रशंसा गर्दै उनको अवधारणा पत्र र प्रश्तुति प्रभावकारी रहेको बताए ।
पुनले निर्वाचनमा भित्रिएको नयाँ प्रविधि र त्यसले निम्त्याउन सक्ने चुनौतीबारे चिन्ता व्यक्त गरे । आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिपफेक र एल्गोरिदमका कारण निर्वाचनको समयमा भ्रामक र उत्तेजक सामग्री प्रचार हुनसक्ने उनको भनाइ थियो ।
सांसद पुनले मुलुकबाहिर रहेका ठूलो संख्याका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा सहभागी गराउनुपर्ने आवश्यकता औंल्याए । हालैको निर्वाचनमा मतदान प्रतिशत न्युन रहेको उल्लेख गर्दै उनले प्रविधिको प्रयोगमार्फत निर्वाचन क्षेत्र बाहिर र विदेशमा रहेका नेपालीहरूलाई मतदान गर्ने व्यवस्था मिलाउन आयोगलाई सुझाव पनि उनले दिए ।
‘निर्वाचनको समयमा प्रविधिको दुरुपयोग गरी भ्रामक सूचना फैलाउने र उम्मेदवारको चरित्र हत्या गर्ने जोखिम बढेको छ । यो आगामी निर्वाचनको मुख्य चुनौती हो,’ पुनले भनेका छन्, ‘ईभीएमको प्रयोगले मतपरिणाम छिटो आउने भएपनि यसको ह्याकिङ र सुरक्षा सुनिश्चितता मुख्य विषय हो ।’
विगत एक दशकदेखि ईभीएमको चर्चा चले पनि यसको विश्वसनीयतामाथि अझै प्रश्न उठिरहेको पुनले बताए ।
प्रतिक्रिया 4