+
+
Shares

कप्तानगञ्ज घटना : सामाजिक सद्भाव कायम राख्न एमालेको आह्वान

'राज्यबाट सार्थक संवादको सट्टा तुजुक देखाउने काम भयो'

नागरिकको जिउधनको सुरक्षा गर्ने र मुलुकमा शान्ति-सुरक्षा कायम गर्ने प्राथमिक जिम्मेवारी बोकेको सरकार तथा स्थानीय प्रशासन संवेदनशील विषयमा चरम गैरजिम्मेवार, उदासीन र दिशाहीन देखिएको भन्दै एमालेले त्यसलाई ‘भर्त्सनायोग्य विषय’ भनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १८:१८

१२ साउन, काठमाडौं । नेकपा एमालेले सुनसरीको देवानगञ्ज गाउपालिका–३ कप्तानगञ्जमा उत्पन्न घटनाबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । एमाले महासचिव शंकर पोखरेलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको धारणा सार्वजनिक गरेका छन् ।

नागरिकको जिउधनको सुरक्षा गर्ने र मुलुकमा शान्ति-सुरक्षा कायम गर्ने प्राथमिक जिम्मेवारी बोकेको सरकार तथा स्थानीय प्रशासन संवेदनशील विषयमा चरम गैरजिम्मेवार, उदासीन र दिशाहीन देखिएको भन्दै एमालेले त्यसलाई ‘भर्त्सनायोग्य विषय’ भनेको छ ।

‘विवाद समाधानका लागि समयमै सार्थक संवाद र समन्वयको पहल गर्नुको सट्टा राज्य संयन्त्रबाट अनावश्यक बल प्रयोग गर्ने, तुजुक देखाउने र त्रासको वातावरण सिर्जना गर्ने कार्यले परिस्थितिलाई थप उत्तेजित बनाएको  छ,’ एमालेले भनेको छ ।

यस्तै, यस दु:खद एवं अकल्पनीय घटनामा परी अकालमै ज्यान गुमाउने देवानगञ्जका स्थानीय युवा ओमप्रकाश मेहताप्रति एमालेले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गम्भीर समवेदना व्यक्त गरेको छ ।

‘साथै घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको अविलम्ब, प्रभावकारी र पूर्ण नि:शुल्क उपचारको व्यवस्था मिलाउन, पीडित परिवारलाई उचित राहत एवं क्षतिपूर्ति प्रदान गर्न तथा घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न नेकपा (एमाले)  सरकारसँग जोडदार माग गर्दछ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राज्यलाई आफ्नो दमनकारी रवैया तत्काल रोकेर संयमताका साथ समस्याको दीर्घकालीन र शान्तिपूर्ण समाधान खोज्न आग्रह गर्दछ ।’

यस्तै, मुुलुकको राष्ट्रिय एकता, भाइचारा र सामाजिक सद्भाव नै हाम्रो मुख्य सामर्थ्य रहेको बताउँदै यस विषम र संवेदनशील घडीमा देवानगञ्ज र सिङ्गो सुनसरी क्षेत्रका नागरिकलाई कुनै पनि प्रकारको अफवाहमा नलागी वर्षौँदेखि कायम रहँदैआएको धार्मिक, सामाजिक र जातीय सद्भाव, आपसी एकता लाई अक्षुण्ण राख्न एमालेले आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?