News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशन सकिएको एक महिनापछि बुधबार समीक्षा र केन्द्रीय समितिमा मनोनयनको एजेण्डासहित बैठक बोलाएको छ ।
- संशोधित विधानअनुसार सभापति रवि लामिछानेले पदाधिकारीसहित ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार प्रयोग गर्दै नयाँ नाम प्रस्ताव गर्नुहुनेछ ।
- पार्टीको सक्रिय राजनीतिमा रहेका पुराना केन्द्रीय सदस्य तथा विभिन्न पक्षका प्रतिनिधिहरूलाई समेत समेट्ने गरी सभापतिले पदाधिकारी मनोनयन गर्ने तयारी गरेका छन् ।
१२ साउन, काठमाडौं । महाधिवेशन सकिएको एक महिनापछि रास्वपाले समीक्षा र केन्द्रीय समितिमा मनोनयनको एजेण्डा राखेर बैठक बोलाएको छ । बुधबार हुने बैठकमा केन्द्रीय समितिमा मनोनयन गर्ने एजेण्डा पनि तय छ ।
केन्द्रीय सदस्य हुँदै पदाधिकारी समेत मनोनयन हुने छन् । मनोनयनमा स्थापनाकालमा केन्द्रीय सदस्य रहेका र अहिले पार्टीमा सक्रिय भूमिका निर्वाह गरिरहेका व्यक्त्तिहरू प्राथमिकतामा पर्न सक्ने नेताहरूले बनाउँछन् ।
रास्वपाले २०७९ साल असार १७ गते निर्वाचन आयोगमा २१ सदस्यीय केन्द्रीय समितिको नाम पेश गरेको थियो । तत्कालीन समयमा केन्द्रीय सदस्य बनेकाहरूमा अधिकांश सक्रिय राजनीतिमा छन् भने कतिपय निष्क्रिय छन् ।

तत्कालीन समयमा निर्वाचन आयोगमा बुझाइएको २१ जना केन्द्रीय सदस्यहरूको सूचीमा रवि लामिछाने, डोलप्रसाद अर्याल, डा. मुकुल ढकाल, कविन्द्र बुर्लाकोटी, दीपकराज बोहरा, विपिन कुमार आचार्य, महेश्वर घिमिरे, बसुमाया तामाङ, उपेन्द्र पाण्डे, इश्रा मुल्ला मिया, गणेश पराजुली, सोबिता गौतम, कुसुम महर्जन, विष्णु कुमार श्रेष्ठ, रामकृष्ण भट्टराई, डा. प्रभात अधिकारी, गीता रेग्मी, डा. राकेश यादव, प्रमिला कलुजु, रविना घिमिरे र एलिजा गुरुङ थिए । सभापतिमा रवि लामिछाने र प्रवक्तामा डा. मुकुल ढकालको थप पदीय जिम्मेवारी सहितको सूची पेस गरिएको थियो ।
रास्वपाको यो चार वर्षे यात्रामा सक्रिय राजनीति गरेका केन्द्रीय सदस्यमा करिब ५० प्रतिशतले प्रथम महाधिवेशनमा प्रतिस्पर्धा गरेनन् ।
रास्वपा गठन गरी निर्वाचन आयोगमा त्यसेबला पेस गरिएका केन्द्रीय सदस्यहरूमा ९ जनाले नयाँले महाधिवेशनमा सोही पदमा प्रतिस्पर्धा गरेनन् ।
पूर्वसहकोषाध्यक्ष वसुमाया तामाङसहित अघिल्लो केन्द्रीय सदस्यमा रहेका नेताहरू उपेन्द्र पाण्डे, इश्रा मुल्ला मियाँ, विष्णु कुमार श्रेष्ठ, रामकृष्ण भट्टराई, डा. प्रभात अधिकारी, प्रमिला कुलुजु, एलिजा गुरुङ, महेश्वर घिमिरे लगायतले प्रतिस्पर्धा गरेनन् । महाधिवेशनको समयमा विरामी परेका कारण इश्रा मुल्ला मिया सहभागी हुन नसकेको जानकारी गराएको छ ।
संस्थापक केन्द्रीय सदस्यहरू गीता रेग्मी र रविना घिमिरे रास्वपाको सक्रिय राजनीतिमा हाल क्रियाशील छैनन् ।
स्थापनाकालका अर्का केन्द्रीय सदस्य डा.राकेश यादव करिब छ महिना रास्वपा रहेर निष्क्रिय बनेका थिए । अर्का संस्थापक केन्द्रीय सदस्य महेश्वर घिमिरे केही समयको विदेश बसाईपछि पुनः पार्टी राजनीतिमा क्रियाशील भएका छन् ।
संस्थापक केन्द्रीय बनेका र महाधिवशेनमा प्रतिस्पर्धा नगरेका बसुमाया तामाङ, कुशुम महर्जन, प्रमिला कुलुजु र एलिजा गुरुङ हाल सांसद पदमा छन् ।
संस्थापक केन्द्रीय सदस्य डीपी अर्याल हाल सभामुख पदमा छन् । केन्द्रीय सदस्य सहित प्रवक्ताको रूपमा डा. मुकुल ढकाल नाम निर्वाचन आयोगमा पठाइएको सूची थियो । ढकाल हाल रास्वपामा छैनन् ।

स्थापनाकालीन केन्द्रीय सदस्य र महाधिवेशनमा प्रतिस्पर्धा नगरेकाहरू नयाँ समितिमा पर्ने/नपर्ने चर्चा रास्वपामा सुरु भएको छ । संशोधित विधान अनुसार १५१ सदस्यीय केन्द्रीय सदस्यमा सभापतिले ५१ जना मनोनीत गर्ने अधिकार छ ।
पार्टीको सक्रिय राजनीतिमा रहेका र पार्टी गठनको बेला केन्द्रीय सदस्य बनेकाहरूलाई सभापति रवि लामिछानेले सोही पदमा निरन्तरता दिने गरी सम्भावना उच्च रहेको रास्वपाका एक नेताले जानकारी गराए । उनले भने,‘पार्टी गठनको बेलादेखि निरन्तर सक्रिय केन्द्रीय सदस्य बनेका केही नेताहरू महाधिवेशनमा लड्नुभएन । क्रियाशीलताको आधारमा सभापतिले मनोनीत गर्नसक्नु हुन्छ ।’
सभापति लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यहरूमा रिक्त पदमा केहीलाई मनोनीत गर्ने गरी बुधबारको केन्द्रीय समितिको बैठकमा नाम पेश गर्ने भएका छन् ।
महाधिवेशनको समीक्षा गर्ने गरी पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकका लागि छलफलका लागि पाँच एजेण्डा तय भएको महामन्त्री विपिनकुमार आचार्यले जानकारी गराएका छन् ।

केन्द्रीय समिति बैठकका पाँच एजेण्डामध्ये एक सांगठनिक व्यवस्थापन र मनोनयन सम्बन्धमा छ । सभापति लामिछानेले केन्द्रीय समितिको बैठकमा केही नामहरू मनोनयनका लागि प्रस्तुत गर्ने जानकारी यसअघि नै महामन्त्री आचार्यले जानकारी गराइसकेका थिए ।
११ पदाधिकारी सहित ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार सभापतिलाई छ । उपसभापति १, महामन्त्री १, सहमहामन्त्री २, प्रवक्ता १, सहप्रवक्ता ३, कोषाध्यक्ष १ र सहकोषाध्यक्ष २ गरी ११ जना पदाधिकारी मनोनितबाट चयन हुनेछन् । उपसभापति र महामन्त्रीमा रिक्त १/१ पदमा प्रधानमन्त्री बालेन पक्षबाट मनोनीत हुनेछन् ।
पदाधिकारीमा पार्टी संस्थापन पक्ष र प्रधानमन्त्री बालेन पक्षबाट मनोनीत हुने जानकारी गराइएको छ । मनोनीत हुने केन्द्रीय सदस्यहरूमा संस्थापन, बालेन, पूर्व विवेकशील साझा पार्टी, खगेन्द्र सुनार, जेनजीलगायतलाई सभापतिले समेट्नुपर्ने चुनौती छ ।
शाह पक्षलाई १८ जना केन्द्रीय सदस्य बनाउने गरी वचन दिइएको प्रधानमन्त्री निकट एक एक नेताले जानकारी गराएका छन् । ती नेताका अनुसार बालेन पक्षबाट सांसद भएकालाई केन्द्रीय सदस्य नबनाउने विषयमा समेत छलफल भएको छ ।
प्रतिक्रिया 4