+
+
Shares
हरिबहादुर चुमानसँग वार्ताः :

‘गण्डकीमा सरकार बदलिइहाल्ने अवस्था होइन, धेरै आशावादी छैनौं’

केन्द्रमा वाम सहकार्यको सहमति भए पनि यहाँ एमाले–नेकपाको समीकरणले संख्या पुग्दैन । कि राप्रपाले समर्थन गर्नुपर्‍यो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते २१:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गण्डकी प्रदेशमा एमाले र नेकपाबीच केन्द्रीय तहमा सहकार्यको सहमति भए पनि प्रदेश सरकारको समीकरण फेरबदल हुने अवस्था अहिलेसम्म बनेको छैन ।
  • मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग अझै पनि सरकार टिकाउन आवश्यक बहुमत कायम छ किनकि राप्रपा र अन्य सांसदले समर्थन फिर्ता लिएका छैनन् ।
  • नेकपाका संसदीय दलका नेता हरिबहादुर चुमानले गण्डकीमा एमाले–माओवादीको स्पष्ट बहुमत नपुग्ने भएकाले तत्काल सरकार फेरबदल हुने सम्भावना नरहेको बताएका छन् ।

नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच तीन बुँदे सहमति भइसके पनि गण्डकीमा पुरानै सत्ता समीकरण कायम छ । एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीले नै सम्झौता हुने दिनसम्म पनि गण्डकीमा सरकार छोड्नुपर्ने कुनै कारण नभएको बताइरहेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसद, माओवादी चुनाव चिह्नबाट विजयी तत्कालीन नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) को साथ लिएर कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिएका थिए । अदालतको चक्कर काटेर खगराज नेतृत्वको सरकार ढलाउँदै फेरि मुख्यमन्त्री बनेका पाण्डेलाई केन्द्रमा कांग्रेस–एमाले मिल्ने सहमति गरेपछि एमालेलाई पनि सरकारमा ल्याउनुपर्ने बाध्यता आइलाग्यो ।

माओवादीबाट विजयी भएर सभामुख बनेका कृष्णप्रसाद धितालले ६० सदस्यीय प्रदेश सभामा ३० जनाको संख्यालाई बहुमत मानेर खगराजलाई विश्वासको मत दिलाएपछि पाण्डे अदालत पुगेका थिए ।
अदालतले खगराजलाई पदमुक्त गरेपछि २७ सदस्यीय कांग्रेसबाट राप्रपाका ४ सांसदको साथ लिएर पाण्डेले बहुमत पुर्‍याएका थिए । ज्यान मार्ने उद्योगमा दोषी ठहर हुँदै मनाङे पदमुक्त हुँदा संसदमा ५९ सदस्य कायम छ ।

अहिले कांग्रेस–एमालेको सहमति टुटेर एमाले–नेकपा मिलेपछि पनि सरकार टिकाउन पुग्ने संख्या अहिलेसम्म मुख्यमन्त्री पाण्डेसँग छ । किनकि राप्रपाले दिएको समर्थन फिर्ता लिएको छैन भने प्रलोपाका फणीन्द्रले पनि पाण्डेलाई नै साथ दिइरहेका छन् । अर्थात् केन्द्रमा एमाले–नेकपाले सहकार्यको सहमति गरे पनि गण्डकीमा सरकार बन्ने स्थिति छैन ।

नेकपा संसदीय दलका नेता तथा पूर्वमन्त्री हरिबहादुर चुमान, सरकारको विषयलाई लिएर उत्साही छैनन् भने तत्कालै माओवादीसहितको सरकार बनिहाल्दा भनेर धेरै आशावादी पनि छैनन् ।

‘केन्द्रमा वाम सहकार्यको सहमति भए पनि यहाँ एमाले–माओवादीको समीकरणले संख्या पुग्दैन । कि त राप्रपाले समर्थन फिर्ता लिएर आउनुप¥यो । तबमात्रै यहाँको समीकरण बन्ने हो,’ चुमानले अनलाइनखबरसँग भने, ‘गण्डकीमा न त एमाले बाहिरिएको छ सरकारबाट न त राप्रपाले समर्थन फिर्ता लिएको छ । यो स्थितिमा सरकार फेरबदल हुने अवस्था रहेन ।’ गण्डकीमा नेकपाका ७ (सभामुखसहित) र एमालेका २२ सांसद छन् । यतिले सरकार बनाउन संख्या पुग्दैन । त्यसैले चुमानले पनि भनिरहेका छन्, हामी प्रतिपक्षमै ठिक छौं ।

\माओवादीबाट दोस्रोपटक प्रदेश सभा सदस्य चुनाव जितेका चुमान अघिल्लो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए भने दोस्रो कार्यकालमा भौतिक पूर्वाधार तथा अर्थमन्त्री समेत भए । मुख्यमन्त्री हुने उनको अघिल्लो पालीदेखिको माग पूरा हुन सकेको छैन । प्रस्तुत छ, यिनै सन्दर्भमा चुमानसँग अनलाइनखबरकर्मी अमृत सुवेदीले गरेको कुराकानीको सम्पादित अंशः

एमाले र नेकपाबीच प्रदेश सरकार बनाउने सहमति भयो । तर यसले गण्डकीमा त संकट पो ल्यायो नि ?

गण्डकीको सन्दर्भमा केन्द्रीय नेताहरु निश्कर्षमा पुग्नुभएको छैन । यहाँको समीकरण र दलहरुको उपस्थिति हेरेर नै निश्कर्षमा नपुगिएको हो । मुख्य कुरा कांग्रेस, राप्रपा र प्रलोपा सहितको संख्या ३० हुन्छ । एमाले पछाडि समर्थन गरेर सरकारमा गएको हो ।

केन्द्रमा वाम सहकार्यको सहमति भए पनि यहाँ एमाले–नेकपाको समीकरणले संख्या पुग्दैन । कि राप्रपाले समर्थन गर्नुपर्‍यो । फेरि गण्डकीमा न एमाले बाहिरिएको छ, न राप्रपाले समर्थन फिर्ता लिएको छ । यो स्थितिमा सरकार फेरबदल हुने अवस्था रहेन । म के देख्छु भने ५ प्रदेशमा सरकार बन्दाको अवधिमा आउने रिजल्टले गण्डकी र मधेसलाई प्रभाव पार्छ ।

केन्द्रीय सहमतिअनुसार ५ प्रदेशमा सरकार बनोस्, त्यता पनि हेरौं भन्ने हो ?

अन्य दलसँग छलफल गर्ने भनेका छौं, त्यो भनेको कांग्रेससँग पनि हो । सबै दलसँग छलफल गर्ने हो । हाम्रो पार्टीको नीति यो संकटको अवधिमा संविधान पक्षधरहरु सँगै मिलेर अगाडि जानुपर्छ भन्ने हो ।
विभिन्न कोणबाट संघीयतामाथि नै प्रहार भइरहेको छ । संशोधन भनेर संविधान खारेज गरिदिने भन्नेतिर गइराखेको देखिन्छ । यस्तो अवस्थामा कांग्रेस, एमाले र नेकपा मिलेरै जानुपर्छ ।

एमालेसँग सहमति गर्ने निर्णय भएपछि गण्डकीका दलका नेतासँग छलफल भएको छैन ?

छलफल त भएकै छ । मुख्य कुरा दुई दलको संख्या नपुग्ने भा हुनाले राप्रपाकै कुरा आउँछ । अरु प्रदेशमा जस्तै हुने हो भने त राप्रपाकै सहयोग लिनुपर्ने भयो । राप्रपासँग अघिल्लो पटक पनि धेरै छलफल गरेको हो । अन्तिममा उहाँहरु कांग्रेसलाई समर्थन गर्ने निश्कर्षमा पुग्नुभएको हो । अहिले पनि उहाँहरु सरकारलाई समर्थन गरिरहनुभएकै छ । त्यसैले त्यतिधेरै आशावादी बनेर कुरा गरेको छैन ।

गण्डकीमा कांग्रेस माओवादीसँग अलि लचिलो देखिन्छ, कांग्रेसले नेकपालाई आउनुस् मिलेर सजिलै सरकार बनाउँ भन्यो भने ?

यो विषयमा पनि छलफल हुँदै आएको हो । मैले आफ्नो दलको तर्फबाट हामी प्रतिपक्षमै खुसी छौं । सरकारमै आउनुपर्छ भन्ने छैन । कांग्रेस–एमाले मिलेर चलाइरहनुभएको छ, चलाउनुस् । तपाईंहरुको संख्या पुगेन, संसद विघटनकै अवस्थामा जाने भयो संसद जोगाउने र सरकार बनाउने कुरामा सहयोग हुन्छ । तर अहिले कांग्रेसलाई समर्थन गरेर गइहाल्ने स्थिति छैन । फेरि सरकार चलिराखेकै छ । हामीले हतार गरेर पनि केही हुने कुरा छैन ।

एमाले र नेकपाले प्रदेश सरकारको भागबण्डा गर्दा तपाईंको पार्टीपंक्ति र कार्यकर्ताले नै रुचाएको देखिएन नि ?

भागबण्डा भनेर आरोपित नै गर्नु मिल्ने पनि देख्दिन म । त्यहाँको अवस्था र उपस्थितिले गर्दा सुदूरपश्चिम र कर्णालीमा नेकपाकै बलियो छ । यसभन्दा अगाडि सरकारको नेतृत्व कसले ग¥यो भन्ने कुरा पनि हुने भयो, त्यहाँको अनुकुलता हेरेर नेकपाकै सरकार बनाउँदा ठिक हुन्छ भन्ने भयो ।

बाँकीमा एमालेको सरकार बनाउँदा ठिक हुन्छ भन्ने देखियो । त्यहाँको परिस्थितिले बोलेको कुरा हो । यसलाई भागबण्डा नै भन्न सकिन्न । गण्डकी र मधेसमा पनि त्यस्तै एकातिर एमाले र अर्कोतिर नेकपा भएछ भने भागबण्डा भएछ क्यारे भनेर मानौंला । परिस्थितिअनुसार भएको यो सहकार्य हो । मधेसमा सरकार चलिराखेकै छ र नेकपा सरकारमै छ । गण्डकीको अवस्था पनि सबैलाई थाहा छ ।

भागबण्डा र सत्ता ढलाउने–बनाउने खेलले संघीयतालाई कमजोर बनायो भन्ने आवाज उठिरहेको छ, के भन्नुहुन्छ ?

संसदको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने संसदीय अभ्यास दुनियाँमा कहीँ छैन । नेपालमा त्यो भयो, जुन गर्न हुँदैनथ्यो । बनिसकेपछि बाँकी अवधि चल्ला भनेर हामी ढुक्क थियौं । प्रतिपक्ष हौं, प्रतिपक्षमै छौं भन्दै आएको हो ।

तर त्यसो हुन सकेन । कोशीबाटै विषय अगाडि बढ्यो । बाहिर के कुरा पनि आइरहेको छ भने त्यहाँको स्थानीय परिस्थितिले मात्र यो भइराखेको छैन । अहिले जुन राष्ट्रिय परिस्थिति बनेको छ, त्यसको कुनै न कुनै कोणबाट प्रभाव पारेको हो । प्रदेशअनुसारको समस्या भिन्न हुन्छ, त्यसको समाधान गर्न नसक्दा यो परिस्थिति पैदा भएको हो ।

एमाले र नेकपाबीच प्रदेश सरकारबारे जस्तो सहमति भयो, त्यसपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अनलाइनखबरसँग दलहरुकै कारण संघीयताको औचित्य कमजोर पारेको टिप्प्णी गर्नुभयो । बिमति जनाउनुपर्ने पनि देखिएन नि ?

संसदीय प्रणालीमा संख्याको खेल हुन्छ नै । तर सचेततापूर्वक दलहरुले ह्याण्डल गर्दै अगाडि बढ्नुपर्ने हो । यद्यपि कतिपय अवस्थामा भनेजस्तो हुन्न र समीकरण भत्किन पुग्छ । संघीयताको अभ्यास १० वर्ष पनि पुगेको छैन । सबै दलहरु परिपक्क भए भन्न सकिदैन । स्थिरताको प्रश्न सधैं उठ्दै आए । बहुमत नहुने, एकल बहुमत ल्याउन नसक्ने र समीकरण बनाउँदा भत्किन पुग्ने भयो ।

अभ्यास गर्दै जाँदा परिपक्क बन्दै जाने हो । तर म परिपक्क बनिसकेको देख्दिन । सानो कुराबाट पनि फाइदा उठाइहालौं, भोलि फेरि मत लिन जानु नै छ भनेर प्रभावित हुने गरेको छ । यस्तो हुुनुहुँदैन भनेर बहस पनि अहिले भएकै छ ।

देशमा यत्रो आन्दोलन भयो । तर तपाईंहरु अझै भागबण्डा गर्दै हुनुहुन्छ भने अबको अवस्था कस्तो देख्नु हुन्छ ?

हाम्रा कमिकमजोरी कहाँ कहाँ भए भनेर समीक्षा गरिरहेका छौं । संयोजक प्रचण्डले पनि त्यसको निश्कर्ष पोखरामै आएर सुनाउनुभएको थियो । कार्यनीतिदेखि कार्यनीतिसम्म केन्द्रित भयौं, रणनीतिमा ध्यान दिएनौं । त्यहीँ कमजोरी भयो भन्ने उहाँको कुरा छ ।

पार्टीभित्र पनि यस्तै समीक्षा भइराखेकै छ । समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र भनियो, तर समाजवादतर्फ समाजलाई लैजान कुरा बिर्सियौं । सत्ता समीकरणमा मात्रै ध्यान केन्द्रित भयो । तत्कालीन सत्ताको फेरबदलमै रमाउन पुग्यौं, त्यहीँ कमजोरी भयो । जसका कारण आधारभूत जनता छुटे ।

जसलाई लिएर हामीले युद्ध ग¥यौं, लड्यौं र उहाँहरुको सपना पनि सजायौं त्यतिबेला । ती सपना पूरा गर्न हामी चुक्यौं, त्यसले गर्दा आधारभूत जनता हामीभन्दा अलि टाढा भए । हाम्रा मित्र त तिनै हुन्, हामी त्यहीँ फर्किनुपर्छ भन्ने हिसाबले नै छलफल गरिरहेका छौं ।

नीति पनि त्यहीअनुसार बनाइराखेका छौं । त्यसैले हामी सरकारमा गइहाल्नुपर्छ, मुख्यमन्त्री खाइहाल्नुपर्छ भनेका छैनौं । तपाईंहरुले चलाउनुस्, भोलि मिल्नै सक्नुभएन, विघटनतिर जाने अवस्था आयो भने सघाउन आउँछौं ।

किनकि संघीयतामा यसरी प्रश्न उठिरहेका बेलामा फेरि संसद विघटनतिर जान दिन हुन्न । भोलिको चुनावको सन्दर्भमा पनि हामी हाम्रै वर्गतिर फर्किनुपर्छ भन्ने नै हो । त्यसका लागि सहयात्री र सहयोग दल हुन सक्छ । हामीले अहिले सहकार्यकै कुरा गरेको हो ।

मा पनि विभिन्न अभ्यास गर्दै आयौं, नेताहरुले माथि बसेर फलाना फलाना मिल्ने भनेरमात्रै मिल्दो रहेनछ । वडासम्म मिलाउने कुरा चानचुने कुरा होइन । म आफैं भुक्तभोगी हुँ, केके समस्या आउँदा रहेछन्, हेरेको छु । हाम्रा संयोजकलाई पनि भनिरहेका छौं, अब नपछुताउनेगरी निर्णय गर्नुपर्छ ।

अन्त्यमा, धेरै ठाउँमा माओवादीले हार बेहोर्दा तपाईंले दोस्रो पटक पनि जितेर प्रदेश संसद छिर्नुभयो । अघिल्लो पटक पनि मुख्यमन्त्री हुने हो भन्नुहुन्थ्यो, अहिले पनि सत्ता फेरबदलको कसरतका बेला त्यो भनेको सुनिन्छ । मुख्यमन्त्री हुने धोको अधुरै रहन्छ क्या हो ?

धोको भन्दा पनि स्वभाविक दाबी हो । हाम्रो दलले जे भूमिका निर्वाह गर्दै आयो, त्यही आधारमा गरिएको दाबी हो । अघिल्लो पटक पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुनु भयो । पछिल्लो केही अवधि माओवादी केन्द्रलाई दिनुपर्छ भन्ने थिँदै थियो । समीकरणको फेरबदल आउलाजस्तो भएपछि पृथ्वीसुब्बाले मिल्छ भने मलाई एउटा बजेट ल्याउन दिनुस्, त्यो पनि हुन्न भने तपाईँ नै मुख्यमन्त्री बन्नुस् त नि भन्ने कुरा अन्तिमतिर ल्याउनुभएको थियो ।

जबकि त्यो समीकरण भत्किइसकेको थियो । पटक पटक कुरा आउने हाम्रो भूमिका सहयोगीमात्र हुने भयो । सरकार बनाइदिन र मुख्यमन्त्री बनाइदिनेमात्रै सहयोगी हुने । पालो भनेर सुनाइने पनि, तर पालो नआउने हुँदै आयो । कांग्रेससँग समीकरण बन्यो, कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्नुभयो, त्यतिकै सकियो ।

दोस्रो कार्यकालमा पनि कांग्रेससँग छलफल हुँदा पहिले त उहाँ (सुरेन्द्रराज पाण्डे) बन्नु भयो, पछि अब नेकपा मुख्यमन्त्री बन्ने भन्ने भयो । तर त्यो पनि भएन । एमालेसँग समीकरण बनाउँदा पनि दोस्रो पालो हो भन्ने कुरा भयो । दोस्रो पटक हुँदा त एमालेभित्रै पनि बहस भयो, अघिल्लो पटक खगराज अधिकारी मुख्यमन्त्री बनि सक्नुभयो, अब त नेकपालाई दिनुपर्छ भनेर आवाज उठ्यो । तर त्यो पनि भएन । त्यसैले मैले के देखेको छु भने सहयोग हामीले गर्दै आयौं, तर त्योबापत सम्वोधन हुन सकेन । अर्को भाषामा भन्दा अन्यायमा पर्दै आएको हो । यो अन्यायको आवाज हो । नेकपालाई पनि न्याय हुन पर्‍यो भनेर भन्दै आएको हो । म आफैंलाई मुख्यमन्त्री हुन प¥यो, मेरो धोको पूरा गर्नुप¥यो भन्ने उद्देश्यले राखेको होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?