News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले सुनसरीलगायतका जिल्लामा देखिएको साम्प्रदायिक तनाव अन्त्य गर्न सर्वदलीय बैठक तथा राष्ट्रपतिसँगको संवादमा सक्रियता बढाएका छन्।
- प्रधानमन्त्री बालेन शाहले मुलुकमा बढ्दो साम्प्रदायिक संकट र सार्वजनिक सरोकारका विषयमा जिम्मेवार भएर संवाद र सक्रियता देखाउनुपर्ने आवश्यकता देखिएको छ।
- डा. देवेन्द्रराज पाण्डेले भनेझैं राजकाज सञ्चालनका लागि पाका गुरुहरूको सल्लाह र सरकारको ठोस पहलकदमीबाट मात्रै देशको तनाव व्यवस्थापन हुन सक्छ।
रास्वपा सभापति रवि लामिछाने सर्वदलीय बैठकदेखि शीतलनिवास आफैं पुगिरहेका छन्, जुन एकदमै सकारात्मक कुरो हो ।
सुनसरीमा हिन्दु र मुस्लिमका नाममा शुरु भएको तनावलाई सम्बोधन गर्ने गरी सबै पार्टीको वक्तव्य पनि आएको छ । त्यो पनि समाजलाई शान्त, संयम बनाउने औजार नै बन्ने छ भन्ने अपेक्षा गरौं ।
अहिले सत्तारुढ रास्वपाका सभापति लामिछाने संसद्को सबैभन्दा ठूलो पार्टीका प्रमुख हुन् । यस्तो बेला उनको दायित्व पनि अरूको भन्दा ठूलै हुन्छ । त्यसैले त उनले समयमै वक्तव्य जारी गरेर संयमको लागि अपिल पनि गरे ।
तर उनी सत्तारुढ दलका प्रमुख मात्रै हुन्, स्वयं सत्ता होइनन् ।
उसोभए अब प्रश्न उठ्छ– प्रधानमन्त्री बालेन शाह चाहिं यस्तो संकटको संवेदनशील घडीमा कता गए ?
हिजोका दिनमा आफू राजधानी काठमाडौंको मेयर हुँदा उनले तत्कालीन संघीय सत्तालाई सोधेका प्रश्न यतिबेला उनी आफैंतिर फर्केका छन् ।
प्रेस र नागरिक दबाब बढ्दै गएपछि हिजो मंगलबार राति फेसबुकमा सन्देश जारी त गरे तर त्यसअघि र पछि उनी लगभग गुमनाम छन् ।
निकटस्थलाई सोध्यो भने जवाफ पाइन्छ– उनी काम गर्दैछन् । खासमा उनी कामचाहिं के गर्छन् ? कसैलाई थाहा नाइँ !
नेपाली समाजका असाध्यै सम्मानित नागरिक डा. देवेन्द्रराज पाण्डे दुई साताअघि बित्नुभयो । बित्नुभन्दा एक साताअघिसम्म पनि उहाँको हास्यचेत तगडा थियो ।
पाण्डेले भन्नुभएको थियो- म त केही सुन्न पनि छाडें । केही बोल्न पनि छाडें । केही देख्न पनि छाडें । म त बालेन भएछु कि क्या हो !
सुन्नेका लागि यो कुरा हाँस्ने एउटा बहाना पक्कै थियो, तर देशका कार्यकारी प्रधानमन्त्रीको अकर्मण्यता र हास्यास्पद किसिमको रहस्यमयताका लागि कठोर कटाक्ष पनि ।
बालेनलाई हामीलाई दिनकै दुई घण्टा प्यारप्यार बोलिराख भनेको होइन । यत्रो जिउँदोजाग्दो युवा प्रधानमन्त्रीले डीडीसीको प्रोडक्ट चाहिं प्रचार गर्न भ्याउने, राष्ट्रको सामुन्ने देखा पर्दै गरेको संकटबारे चाहिं बोल्नु नपर्ने ?

कि सडकमा सेना उतारिदिएको भरमा दायित्व पूरा हुन्छ नागरिकले चुनेको सरकारको ?
यो प्रश्न अब संसद्ले पनि सोध्नुपर्छ । भोलिदेखि संसद् बस्दैछ । रास्वपाले पनि सोध्नुपर्छ । आज केन्द्रीय समिति बस्यो । प्रतिपक्षी र प्रेसले मात्रै बालेनलाई सोधेर पुग्दैन । सुनसरीमा मान्छेको ज्यान गइसक्यो । अरू जिल्लामा साम्प्रदायिक तुष फैलाउन खोजिंदैछ । काठमाडौंकै माइतीघरमा आपत्तिजनक नाराहरु लागेका छन् । हेक्का छ कि छैन प्रधानमन्त्रीजी ?
जनताले अत्यधिक विश्वास दिएर बनाएको सरकार हो । जनताको विश्वास पाइराख्ने ताकत पनि देखाउनुपर्छ । नत्र जनताको भोट हो, यसको पनि निश्चित आयु हुन्छ । आत्मविश्वास भएको प्रतिनिधिले मात्र जनताको मतलाई नवीकरण गराउन सक्छ ।
त्यसैले सरकारले तुरुन्त आफू सक्रिय छु भन्ने आभास दिलाओस् । पुलिसलाई आदेश दिएर मात्रै दायित्व पूरा हुँदैन । पार्टीहरुसँग कुरा गर्नुस् । राष्ट्रपति रामचन्द्र पौडेललाई गएर भेट्नुस् ।
कुर्सीमा बसेको चार महिना बितिसक्दा अहिलेसम्म एक पटक पनि भेट्नुभएको छैन । स्टेकहोल्डर र स्थानीय नागरिकसँग कुनै न कुनै ढंगले संवाद थाल्नुस् ।
ढिला हुँदैछ । के गर्ने प्रधानमन्त्रीजी ? आगो लाग्न दिइराख्ने कि निभाउन प्रयास गर्ने ? छनोट तपाईंकै हो ।
आफ्नो कुरा सक्नुअघि उनै डा. देवेन्द्रराज पाण्डेको करिब करिब अन्तिम समयको ट्वीट यहाँ राख्छु : रास्वपा र बालेन सरकारको सफलता र असफलता देख्न भोग्न म पाउँदिनँ। तर यिनीहरु सफल हुन सकुन् भन्ने चाहन्छु। यिनको वा मेरो निम्ति होइन मुलुकको निम्ति।
उनै देवेन्द्रराज पाण्डेको अर्को ट्वीट छ– जो आज गुरुपूर्णिमाका दिन अझ सान्दर्भिक छ । पाण्डेले लेख्नुभएको थियो– तिमी रामचन्द्र नै हौ भने पनि तिम्लाई कामयाव हुन गुरु वशिष्ठ चाहिन्छ। बेलैमा खोज पाका गुरुहरू, अर्थात् राजकाजका कुरामा सल्लाह दिन सक्ने ज्ञानीहरू।
पाण्डेले भने झैं राजकाजमा सल्लाह दिन सक्ने त्यस्ता पाका गुरुहरूको खोजी भएको होला त ? यो प्रश्नको जवाफ सुनसरी घटना र त्यसले विभिन्न जिल्लामा उत्पन्न गरेको तनावको व्यवस्थापन कसरी हुन्छ भन्ने कुराले पनि निर्धारण गर्नेछ । नत्र रवि लामिछानेको दौडधुप मात्रैले असन्तुष्ट आवाजहरुलाई चुप लगाउन सम्भव हुने छैन ।
प्रतिक्रिया 4