News Summary
Generated by OK AI. Editorially reviewed.- आन्तरिक विवाद र फिफाको निलम्बनका कारण नेपाली फुटबल अहिले शून्य अवस्थामा पुगेको छ ।
- नियमित घरेलु लिग नहुँदा खेलाडीहरू विदेशिन बाध्य छन् भने समर्थकहरूको आकर्षण पनि घट्दो छ ।
- फुटबलको विकासका लागि व्यक्तिगत स्वार्थ त्यागेर दीर्घकालीन योजनासहित सबै सरोकारवाला एकजुट हुनुपर्ने आवश्यकता देखिएको छ ।
१३ साउन, काठमाडौं । राष्ट्रिय लिगमा पहिलोपटक सहभागिता जनाएको लालीगुराँस एसोसियसन क्लब च्याम्पियन बन्ने दौडमा थियो । १३ खेलमा अपराजित रहँदै लालीगुराँस २७ अंक जोडेर शीर्ष स्थानमा थियो ।
तर, पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीहरूलाई लिगमा सहभागी नगराउन अध्यागमन विभागले निर्देशन दिएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) ले ५ चैतमा लिग स्थगित गर्यो । जसले पहिलो सहभागितामै च्याम्पियन बन्ने लालीगुराँसको चाहना तुषारापात भयो ।
लालीगुराँस क्लबका महासचिव ईश्वर बस्याल भन्छन् ‘कि राष्ट्रिय लिग चाँडो सुचारू गराउनुपर्यो । सुचारू नगर्ने हो भने हामी अगाडि छौं हामीलाई च्याम्पियन घोषणा गर्नुपर्यो ।’
यस्तै, एन्फा महिला लिग खेल्ने उद्देश्यसहित काठमाडौं आएको आरएस पोखरा पनि केही दिनमै घर फर्किनुपर्यो । पर्यटकीय भिसामा आएका विदेशी खेलाडी खेलाएका कारण एन्फा महिला लिग सुरु भएको दुई दिनमै स्थगित हुन पुगेको थियो । जसका कारण आरएस पोखराको लामो समयको मेहनत र लगानी क्षणभरमै बिलायो ।
दुई दिनमै लिग स्थगित हुनु क्लबका लागि मात्र नभई नेपाली फुटबलका लागि दु:खद् कुरा भएको आरएस पोखराका अध्यक्ष रमेश कार्की बताउँछन् । ‘गत वर्ष छनोट भएर गएको हो । छनोटमै लगानी भयो । लिगका लागि एक महिनाअघि देखिबाट नै खेलाडी अनुबन्ध गर्ने, काठमाडौं बसाइमा खर्च भयो । हामीलाई निकै घाटा भयो,’ उनी भन्छन् ।
५ चैतमा दुवै लिग स्थगित गरेर जुहारी खेलिरहेको एन्फा अन्तत: १० असारमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा पर्यो । फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ मा रमाइरहेका नेपाली समर्थकलाई यो निलम्बनले स्तब्धमा पारेको छ ।
आन्तरिक किचलोका कारण फिफाबाट निलम्बनमा पर्दा अहिले नेपाली फुटबल शून्य अवस्थामा छ । न कुनै राष्ट्रिय स्तरमा फुटबल गतिविधि भएको न खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा प्रतियोगितामा सहभागिता हुनपाएका छन् ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको भनाइ सापटी लिएर भन्दा अब नेपाली फुटबल यहाँभन्दा तल जाने ठाउँ नै छैन ।
एन्फा निलम्बनमा परेपछि राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो तुब्बाले भनेकी थिइन्, ‘१० वर्षको त्यो कडा मेहनतलाई खरानी बनाउन तपाईंहरूको स्वार्थ र राजनीतिलाई १० मिनेट पनि लागेन ।’

त्यो इतिहास, यो हबिगत
नेपालले सन् १९८४ मा भएको पहिलो संस्करणको साउथ एसियन गेम्स (साग)को पुरुष फुटबलमा स्वर्ण पदक जित्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबलको दरिलो उपस्थिति देखाउन थालेको थियो ।
त्यसको ९ वर्षपछि भएको साग गेम्समा नेपालले दोस्रोपटक स्वर्णपदक जित्दै नेपाली फुटबललाई थप उपलब्धि दिलायो । त्यतिबेला नेपालले भारतलाई हराउँदै दोस्रोपटक सागमा फुटबलको उपाधि जितेको थियो ।
सोही समयमा नेपाल फिफा वरियतामा समावेश हुँदै १२४औं स्थानमा पुगेको थियो । जुन नेपालको हालसम्मकै उच्च वरियता हो ।
सन् २०११ मा १३५ औं स्थानमा रहेको नेपाल निलम्बन हुनुअघि १७७ औं स्थानमा थियो । सन् २०२२ मा १६८ औं स्थानमा रहेको नेपाल त्यसपछि १७४ भन्दा माथि उक्लिन सकेको छैन ।
२०७२–७३ मा नेपालले एक वर्षको अन्तरालमा तीन प्रतियोगिताको उपाधि जित्दै आफूलाई बलियो स्थितिमा उभ्याएको थियो । २०७२ को माघमा बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप र सागको उपाधि जितेको थियो । भारतमा भएको १२औं सागको पुरुष फुटबलमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै नेपालले तेस्रोपटक स्वर्णपदक जितेको थियो ।
यस्तै, २०७८ मा भएको साफ फुटबल च्याम्पियनसिपको फाइनलसम्म पुग्यो । त्यतिबेला २८ वर्षे साफ इतिहासमा नेपाल पहिलोपटक फाइनल पुगेको थियो । तर, फाइनलमा भारतसँग पराजित हुँदा उपाधि जित्न भने सकेन ।

यी केही सफलता अहिले नेपाली फुटबलको इतिहास बनिसकेका छन् । फिफाबाट निलम्बनमा पर्दा नेपालले अन्तर्राष्ट्रिय स्तरमा उपाधि जित्नु त परैको कुरा खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनसमेत नपाउने अवस्था सिर्जना भएको छ ।
गत जेठमा भारतमा भएको साफ महिला च्याम्पियनसिपमा नेपाली टोली एक दशकपछि सेमिफाइनलबाटै बाहिरियो । ६ पटक उपविजेता बनेका नेपाली टोली यसपटक सेमिफाइनलबाटै बाहिरिनु नेपाली फुटबलको खस्किँदो चित्र थियो ।
नेपालले पहिलोपटक साग फुटबलको उपाधि जित्दा खेलाडी, दोस्रोपटक उपाधि जित्दा कप्तान र तेस्रो पटक उपाधि जित्दा प्रशिक्षक थिए राजुकाजी शाक्य । उनै शाक्य खेल्दासम्म र मेडल ल्याउँदासम्म मात्र वाह–वाह गर्न परम्पराका कारण यो अवस्था आएको बताउँछन् ।
‘खेल्दासम्म र मेडल ल्याउँदासम्म मात्र वाह वाह गरिन्छ, त्यसपछि कसैले वास्ता गर्दैनन्,’ उनी भन्छन्, ‘सरकारले खेलाडीको भविष्यका बारेमा सोच्नुपर्छ । हाम्रो देशमा अन्य देशका क्लबहरू जस्तो खेलाडीलाई धेरै पैसा दिने अवस्था छैन । त्यसैले राष्ट्रिय खेलाडी र पदक जित्नेहरूका लागि सरकारले केही गर्नुपर्छ ।’
हुँदैनन् घरेलु लिग, निरन्तर खेलाडी पलायन
फुटबलको मेरुदण्ड मानिने ‘ए’ डिभिजन लिग पछिल्लो ८ वर्षमा ४ पटक मात्रै भएको छ । पछिल्लो ४ वर्षमा मात्रै एक पटक ‘ए’ डिभिजन लिग सञ्चालन भएको छ ।
‘ए’ डिभिजन लिग नहुँदा ‘बी’ र ‘सी’ डिभिजन हुन पाएका छैनन् । नियमित लिग नहुँदा खेलाडीहरू निरन्तर पलायनको बाटो रोजिरहेका छन् । कति खेलाडी विदेशिए भन्ने तथ्यांक एन्फासँग छैन ।
अहिले पूरा राष्ट्रिय टिम विदेश पलायन भइरहेको अवस्था छ । अनुभवी खेलाडी विदेशीय छन्, भने घरेलु लिगहरू नहुँदा नयाँ खेलाडी आइसकेका छैनन् । आएकाहरूले पनि पर्याप्त ‘म्याच एक्पोजर’ नपाउँदा नेपाल अन्तर्राष्ट्रिय प्रतियोगितामा निरीह बन्न पुगेका छन् ।
केही वर्षअघिसम्म खेलाडी भन्ने बितिक्कै छुट्टै इज्जत थियो । उनीहरूले आफू खेलाडी भएकोमा गर्व गर्थे । तर, अहिले त्यो परम्परा हराउँदै गएको छ । प्रशिक्षक शाक्य भन्छन्, ‘त्यतिबेला खेलाडीहरू धेरै शक्तिशाली महसुस गर्थे । राष्ट्रिय खेलाडी भनेपछि अर्कै सम्मान हुन्थ्यो । जुन अहिले अलि कम भएको जस्तो लाग्छ ।’

पहिला नेपालको खेल हुँदा रंगशालामा दर्शकको ठूलो घुइँचो हुन्थ्यो । लिगमा क्लबहरूको आफ्नै ठूलो फ्यान बेस थियो । खेलाडीका आफ्नै फ्यान थिए । तर, अहिले खेलाडीहरू विदेशिँदा समर्थक पनि फुटबलबाट टाढिएका छन् । गत फागुन–चैतमा भएको राष्ट्रिय लिगमा दर्शक नहुँदा एन्फा बिनादर्शक खेल खेलाउन बाध्य भयो ।
लिग नहुनु र खेलाडी पलायन हुँदा फुटबलप्रति समर्थकको क्रेज घटेको नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान, प्रशिक्षक तथा एन्फा पूर्वउपाध्यक्ष उपेन्द्रमान सिंहको अनुभव छ । ‘हामी खेल्ने बेलामा हाम्रो पनि व्यक्तिगत फ्यानहरू थिए । मेरो फ्यान थियो, हरि खड्का, बसन्त गौचनको फ्यान थिए । त्यस्तो खालको फ्यान कल्चर विकास भइसकेको थियो । कति समर्थक त हामीलाई हेर्न पनि आउथे, फ्यान बेसले,’ उनी भन्छन्, ‘फुटबल फड्को मारिसकेको थियो । दर्शकहरूका लागि जित्नुपर्छ भन्ने जोसले खेल्थ्यौं ।’
पछिल्लो विवादको कारक- अर्ली इलेक्सन
विवाद पहिलदेखि नै सुरु भएपनि नेपाली फुटबल निलम्बनको मुख्य कारक बन्यो– अर्ली इलेक्सन । जब पंकजविक्रम नेम्वाङ नेतृत्वले कार्यकाल सकिनुअघि नै निर्वाचनको मिति घोषणा गर्यो, त्यसपछि एन्फा झनै विवादको भूमरीमा पस्यो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ‘तहगत निर्वाचन गर्नु’ भनिरह्यो । एन्फा निर्देशन अवज्ञा गर्दै अगाडि बढिरह्यो । जसको फलस्वरूप ११ चैतमा एन्फा राखेपबाट निलम्बनमा पर्यो । १ जेठमा राखेपबाट निलम्बन त फुकुवा भयो । तर, विवाद भने सकिएन ।
राखेपले एन्फामाथि आर्थिक छानविन सुरु गर्यो । उता एन्फा कसरी कार्यकाल लम्ब्याउने धाउन्नेमा लागिरह्यो । त्यसको लेखाजोखा फिफाले गरिरहेको थियो ।
छानविनका लागि एन्फा पदाधिकारीलाई विदेश जान रोक लगाएका कारण अध्यक्ष र महासचिव विश्वकपका लागि विदेश जान पाएनन् । उनीहरूले यात्रामा प्रतिबन्ध लगाएको रिपोर्टिङ फिफालाई गरे । जसका कारण फिफाले एन्फामाथि निलम्बन गर्यो ।

एन्फा पूर्वउपाध्यक्ष सिंह नेतृत्वको असक्षमताका कारण नेपाल निलम्बनको अवस्थामा पुगेको बताउँछन् । ‘नेतृत्व तहमा बस्नेहरू आउने जाने क्रम चलिरहन्छ । तर, यसको प्रत्यक्ष मार खेलाडी, प्रशिक्षक र रेफ्रीहरूलाई परेको छ,’ उनी भन्छन्, ‘एउटा राष्ट्रिय खेलाडी उत्पादन गर्न ८–१० वर्ष लाग्छ । बेलैमा समाधान भएन भने नेपाली फुटबललाई १०-१५ वर्ष पछाडि धकेल्छ ।’
नेपाली फुटबलको विकासमा दीर्घकालिन योजनाको अभाव भएको प्रशिक्षक शाक्यको अनुभव छ । ‘कुनै पनि विदेशी प्रशिक्षक ल्याउँदैमा रातारात परिवर्तन हुँदैन । यसका लागि लामो समयको योजना चाहिन्छ । सबैजना व्यक्तिगत स्वार्थ त्यागेर फुटबलको हितमा काम गर्नुपर्छ,’ उनी भन्छन् ।
यस्तै, खेल्नका लागि उचित मैदान र होम एन्ड अवे खेलको व्यवस्था हुनुपर्ने शाक्य बताउँछन् । उनी अगाडि भन्छन्, ‘सरकार, एन्फा, क्लब, प्रायोजक, कर्पोरेट हाउस र समाज सबै मिलेर फुटबलको विकासमा लाग्नुपर्ने आवश्यकता देखिन्छ ।’
प्रतिक्रिया 4