+
+
Shares

माग प्रमाणीकरण गर्न विदेशिने श्रमिकको कामको विवरण अनिवार्य खुल्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते ११:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि माग प्रमाणीकरण प्रक्रियालाई थप व्यवस्थित बनाउँदै कामको विस्तृत विवरण अनिवार्य गरेको छ।
  • मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार अब रोजगारदाताले कामको प्रकृतिका साथै इनडोर वा आउटडोर कामबारे स्पष्ट खुलाउनुपर्ने व्यवस्था गरिएको छ।
  • यो निर्णयले श्रमिकमाथि हुने शोषण र ठगी न्यूनीकरण गर्दै वैदेशिक रोजगारीको प्रक्रियालाई पारदर्शी तथा थप न्यायोचित बनाउने विश्वास मन्त्रालयले लिएको छ।

१४ साउन, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीका लागि नेपाली कामदार विदेश पठाउने प्रक्रियामा माग प्रमाणीकरणलाई थप व्यवस्थित बनाएको छ ।

मन्त्रालयमा बुधबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार वैदेशिक रोजगारीका लागि माग प्रमाणीकरण गर्दा कामदारले गर्नुपर्ने कामको विस्तृत कार्य विवरण (जब डिस्क्रिप्सन) अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । साथै, काम कम्पनी भित्र (इनडोर) वा कम्पनी बाहिर (आउटडोर) कुन प्रकारको हो भन्ने स्पष्ट खुलाउनुपर्ने श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए ।

यदि दुवै प्रकारका काम गर्नुपर्ने अवस्था भए दुवैको कार्य समय समेत उल्लेख गरी प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको उनको भनाइ छ । मन्त्रीस्तरीय निर्णय भएको र उक्त निर्णय परराष्ट्र मन्त्रालयमार्फत दूतावास तथा नियोगहरूमा पठाइने प्रवक्ता घिमिरेले बताए ।

हालसम्म कामको शीर्षक मात्र उल्लेख भएपनि माग प्रमाणीकरण हुने व्यवस्था थियो । अब भने विस्तृत कार्य विवरण अनिवार्य गरिएको हो । गन्तव्य मुलुकका रोजगारदाताले प्रस्ताव गरेका सेवा–सर्त, पारिश्रमिक, सुविधा, कार्य वातावरण तथा सम्झौताका अन्य पक्षहरू वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ बमोजिम परीक्षण गरी प्रमाणीकरण गरिँदै आएको छ ।

मन्त्रालयका अनुसार नयाँ व्यवस्थाले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकमाथि हुन सक्ने शोषण तथा ठगी न्यूनीकरण गर्न, श्रमिकको सेवा–सर्तको सुरक्षा सुनिश्चित गर्न तथा विदेश पठाउने प्रक्रियालाई थप न्यायोचित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?