News Summary
Generated by OK AI. Editorially reviewed.- शिल्क ग्रुपले बिचौलियामुक्त व्यापार गर्ने लक्ष्यका साथ ‘चाइनाबजार’ नामक नयाँ ई–कमर्स प्लेटफर्म औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
१४ साउन, काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म ‘चाइनाबजार’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । कम्पनीले आयातकर्ता, थोक विक्रेता र वितरकजस्ता बहु–तहका बिचौलिया हटाएर गुणस्तरीय सामान प्रतिस्पर्धी तथा पारदर्शी मूल्यमा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।
शिल्क ग्रुपले सञ्चालनमा ल्याएको चाइनाबजारको बुधबार काठमाडौंमा एक कार्यक्रम गरी सुभारम्भ गरिएको हो ।
कार्यक्रममा बोल्दै शिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले नेपाली उपभोक्ताले अनावश्यक मूल्यवृद्धिबिना गुणस्तरीय वस्तु खरिद गर्न सकून् भन्ने उद्देश्यले प्लेटफर्म विकास गरिएको जानकारी दिए । उनका अनुसार कारखानादेखि उपभोक्तासम्मको आपूर्ति श्रृंखला छोट्याएर लागत घटाउने अवधारणामा कम्पनी अघि बढेको हो ।
कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्तुती श्रेष्ठले नेपालमा आयातित अधिकांश वस्तु बहु–तहको आपूर्ति प्रणाली हुँदै बजारमा पुग्ने भएकाले मूल्य बढ्ने र आपूर्तिमा अनिश्चितता रहने समस्या रहेको बताइन् । चाइनाबजारले यही समस्यालाई समाधान गर्ने उद्देश्यका साथ प्रत्यक्ष स्रोत व्यवस्थापनको मोडेल अपनाएको उनको भनाइ छ ।
‘इन्जोय योर सपिङ’ नारासहित सञ्चालनमा आएको प्लेटफर्मले प्रारम्भिक चरणमा विद्युतीय सामग्री, फेसन, लाइफस्टाइल तथा स्वास्थ्य एवं सौन्दर्यसँग सम्बन्धित सामग्री बिक्री गर्ने जनाएको छ । आगामी दिनमा उत्पादनको दायरा विस्तार गर्दै वितरण सञ्जाल पनि देशभर फैलाइने कम्पनीले जनाएको छ ।
ग्राहकले इ–सेवा र खल्तीमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् । आफ्नै गोदाम र वितरण प्रणालीका कारण पर्याप्त मौज्दात व्यवस्थापन गर्दै छिटो तथा भरपर्दो सेवा उपलब्ध गराइने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4