+
+
Shares

अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन आयोजनासँग पानी माग्दै स्थानीय

स्थानीयले पाइपलाइन आयोजना निर्माण क्रममा बारा र मकवानपुर सिमानामा पर्ने कुख्रेनी खोलाको पानी अमलेखगञ्जतर्फ ल्याउने गरी काम गरिदिन आग्रह गरे ।

सुनिल गाउँले सुनिल गाउँले
२०८३ साउन १४ गते १९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन आयोजनाको सार्वजनिक सुनुवाइमा स्थानीयवासीले कुख्रेनी खोलाको पानी अमलेखगञ्जतर्फ डाइभर्सन गर्न माग गरेका छन् ।
  • जीतपुरसिमरा उपमहानगरका उपप्रमुख भोलाप्रसाद अधिकारीले आयोजनासँग सहकार्य गरी पानी डाइभर्सनको काम गर्न उपमहानगर तयार रहेको बताए ।
  • आयोजना प्रमुख प्रदीपकुमार यादवले उपमहानगरपालिकाले औपचारिक प्रस्ताव पेस गरेमा पानी डाइभर्सनको विषयमा छलफल गर्न सकिने बताए ।

१४ साउन, बारा । अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन आयोजनासँग मकवानपुरको कुख्रेनी खोलाबाट पानी तान्ने व्यवस्था मिलाइदिन स्थानीयले माग गरेका छन् ।

आयोजनाले बिहीबार बाराको जीतपुरसिमरा उपमहानगरमा वातावरणीय प्रभाव मूल्यांकनका लागि सार्वजनिक सुनुवाइमा उपस्थित स्थानीयवासी र जनप्रतिनिधिले अमलेखगञ्जमा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन आयोजनालाई गुहारेका छन् ।

सार्वजनिक सुनुवाइमा जीतपुरसिमरा उपमहानगरपालिका-२१ का अध्यक्ष सुवास श्रेष्ठले पाइपलाइन आयोजना निर्माण क्रममा बारा र मकवानपुर सिमानामा पर्ने कुख्रेनी खोलाको पानी अमलेखगञ्जतर्फ ल्याउने गरी काम गरिदिन आयोजना प्रमुख प्रदीपकुमार यादवलाई अनुरोध गरे ।

‘मकवानपुरको कुख्रेनी खोलाबाट पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बग्ने बाराको चुरेखोलामा पानी झार्न सके वन्यजन्तु, पर्यावरण र स्थानीयवासी सबैलाई राहत हुन्थ्यो,’ श्रेष्ठले भने ।

मकवानपुरको राप्ती र कुख्रेनी खोलाको पानी अमलेखगञ्जतर्फ झार्ने विषयमा लामो समयदेखि बहस भइरहे पनि सार्थकता प्राप्त गर्न नसकेकाले पेट्रोलियम पाइपलाइन विस्तार क्षेत्रकै रुटमा पर्ने भएपछि स्थानीयले आयोजनासँग यस्तो माग राखेका हुन् ।

नेरामावि अमलेखगञ्जका शिक्षक रोहित घिसिङले पटक-पटक स्थानीय, प्रदेश र संघीय गरी तीनै तहका जनप्रतिनिधि र सरकारले अमलेखगञ्जवासीलाई देखाएको सपना आयल निगमले पूरा गरिदिने आशा व्यक्त गरे ।

‘हामीलाई सबैले सपनामात्र देखाए, पाइपलाइन बन्दा पानी डाइभर्सनमा सहयोग गरिदिए आयल निगमप्रति अमलेखञ्जवासी ऋणी हुन्थ्यौं,’ घिसिङले भने ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले उपमहानगर र पर्सा राष्ट्रिय निकुञ्ज समेत आयल निगमसँग लगानी सहकार्यका लागि तयार रहेकाले चुरे पर्वत ड्रिल गर्ने क्रममा पानी डाइभर्सनमा सहयोग गरिदिन आग्रह गरे ।

‘आयल निगम, निकुञ्ज र उपमहानगरका बीचमा पहिले पनि छलफल भएको थियो, अहिले उपयुक्त समय छ तपाईंहरूले चाहिदिनुभयो भने हामी लगानी सहकार्यका लागि समेत तयार छौं,’ अधिकारीले भने ।

अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन आयोजना प्रमुख यादवले पाइपलाइन आयोजनाको प्राविधिक जटिलता र लगानीको मोडालिटी बारे जानकारी गराउँदै स्थानीयले मागे जसरी खोला डाइभर्सनमा आयोजना एक्लैले सहयोग गर्न नसक्ने बताए ।

‘अहिले तपाईंहरूले सोचेजति सजिलो छैन, तर पनि स्थानीय सरकारका तर्फबाट प्रस्ताव पेस भए छलफल अघि बढाउने समय छ,’ यादवले स्थानीयलाई भने ।

जीतपुरसिमरा उपमहानगरपालिकाले औपचारिक प्रस्ताव पेस गरे छलफलमा लैजान सकिने यादवको भनाइ थियो । ‘प्रस्ताव आउनुपर्‍यो, वातावरणीय जटिलताका कुरा होलान्, त्यसपछि बाँकी कुरा अघि बढ्छ,’ यादवले भने ।

आयोजनाले छुने बाराको भूभागमा जीतपुरसिमरा उपमहानगरका  २१ र २२ नम्बर वडा पर्ने भएकाले स्थानीय सरोकारवाला सहित आयोजनाले जीतपुरसिमरा उपमहानगर सभाहलमा सार्वजनिक सुनुवाइ आयोजना गरेको हो ।

आयोजनाबाट प्रभावित हुने क्षेत्र बारासहित मकवानपुरको हेटौंडा उपमहानगरका ७ वटा वडा, मनहरी गाउँपालिकाका चार वडा र चितवन राप्ती नगरपालिकाको वडा नम्बर १ लोथर छन् ।

लोथरमा ग्रिनफिल्ड टर्मिनल निर्माण सहित वातावरणीय प्रभाव मूल्यांकनको सार्वजनिक सुनुवाइ हुने आयोजनाले जनाएको छ । ‘मनहरी, हेटौंडा र लोथरमा छुट्टाछुट्टै कार्यक्रम गरेर सुझाव संकलन गर्छौं,’ आयोजना प्रमुख यादवले भने ।

अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन आयोजना बारा अमलेखगञ्जदेखि सुरु भई चितवन लोथरमा टुंगिने छ । ६०.२४१ किलोमिटर लम्बाइ रहने आयोजनाका लागि लोथरमा ग्रिन फिल्ड टर्मिनल निर्माणको काम सुरु भइसकेको छ ।

आयोजना प्रमुख यादवका अनुसार पाइपलाइन भारतको सहयोगमा बन्ने छ भने लोथरको ग्रिन फिल्ड टर्मिनल आयल निगमको आफ्नै लगानीमा बन्न लागेको हो । पाइपलाइनका लागि २ अर्ब ६८ करोड र टर्मिनलका लागि ६ अर्ब १३ करोड रुपैयाँ लगानी हुनेछ ।

लेखक
सुनिल गाउँले

दुई दशकदेखि पत्रकारिता गरिरहेका गाउँले अनलाइनखबरका बारास्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?