१५ साउन, काठमाडौं । भारतको महाराष्ट्रमा पर्ने भिवण्डीमा चारतले भवन भत्किँदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।
अविरल वर्षाका कारण विभिन्न जिल्लामा बाढीको अवस्था सिर्जना भइरहेका बेला भिवण्डीमा भवन भत्किँदा उनीहरूको मृत्यु भएको हो ।
भत्किएको भवनको भग्नावशेषमा अझै दुई जना फसेको आशंका गरिएको छ । उद्धार टोलीले उनीहरूको खोजी तथा उद्धार कार्य जारी राखेको छ ।
स्थानीय विधायक महेश चौगुलेका अनुसार निकै जीर्ण अवस्थामा रहेको भवनलाई यसअघि नै जोखिमयुक्त (खतरनाक) भवन घोषणा गरिएको थियो ।
भवनमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सारिएको भए पनि केही व्यक्ति भवनका खम्बामा मर्मतसम्बन्धी काम गरिरहेका बेला दुर्घटना भएको उनले बताएका छन् ।
चौगुलेका अनुसार भग्नावशेषमा परेकामध्ये केही मजदुर र एउटै परिवारका सदस्य रहेको अनुमान गरिएको छ ।
केही स्थानीयले अविरल वर्षाका कारण भवन भत्किएको दाबी गरेका छन् । तर, दुर्घटनाको वास्तविक कारणबारे अहिलेसम्म आधिकारिक पुष्टि नभएको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया 4