+
+
Shares

धार्मिक सद्‌भाव, सामाजिक एकता र राष्ट्रिय सहिष्णुता कायम गरौं : कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले सुनसरीलगायत तराई-मधेशका क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।
  • उनले सबै नेपाली नागरिकलाई संयमता अपनाउँदै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।
  • कोइरालाले शान्ति सुरक्षा कायम गर्न सरकार र सुरक्षा निकायलाई निष्पक्ष तथा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

१५ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली नागरिकलाई संयमता, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् ।

सुनसरीसहित तराई–मधेशका विभिन्न जिल्लामा देखिएको विषम तथा तनावपूर्ण अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

कोइरालाले शुक्रबार विज्ञप्ति जारी गरेर नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र परम्पराले सम्पन्न मुलुक भएकाले सबै समुदायबीच शान्तिपूर्ण सहअस्तित्व, धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय सहिष्णुता कायम गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

पुर्खाले विविधताबीच सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्वको संस्कृति विकास गरेको उल्लेख गर्दै कोइरालाले यही विविधतामा रहेको एकता, पारस्परिक सम्मान र सहिष्णुताले नेपालको राष्ट्रिय पहिचान र गौरवलाई स्थापित गरेको बताएका छन् ।

कोइरालाले नेपालीहरूबीच कुनै पनि प्रकारको वैमनस्य, विभाजन वा द्वन्द्वभन्दा प्रेम, सम्मान र भाइचाराको सम्बन्ध विस्तार गर्नुपर्ने उल्लेख गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबै नागरिक एकजुट हुनुपर्ने बताएका छन् ।

विज्ञप्तिमा वर्तमान संवेदनशील परिस्थितिमा नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सम्बन्धित सबै राज्य संयन्त्रले निष्पक्ष, जिम्मेवार र प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न विशेष सक्रियता देखाउनुपर्ने उल्लेख छ ।

कोइरालाले स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता–कार्यकर्ता, नागरिक समाज, धार्मिक अगुवा, बुद्धिजीवी तथा सामाजिक व्यक्तित्वहरूले समाजमा विश्वास, सहिष्णुता र सद्भावको वातावरण निर्माण गर्न अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

पूर्वमहामन्त्री कोइरालाले कांग्रेसका नेता–कार्यकर्ता तथा जनप्रतिनिधिलाई लोकतान्त्रिक मूल्य, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिँदै समाजमा शान्ति, संयम र भाइचाराको सन्देश फैलाउने अभियानमा सक्रिय हुन पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?