News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सांसद युवराज शर्माले सुनसरीको कप्तानगञ्जसहित विभिन्न स्थानमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
- सांसद शर्माले मधेशमा उत्पन्न तनावबारे छलफल गर्न बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिलाई लिएर सरकारको जवाफदेहितामाथि प्रश्न उठाएका छन् ।
- सांसद शर्माले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै शपथ ग्रहण समारोहको शंखध्वनिले अल्पसंख्यक र बहुसंख्यक समुदायमा पारेको मनोवैज्ञानिक प्रभावलाई गम्भीरतापूर्वक बुझ्न आग्रह गरेका छन् ।
१५ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद युवराज शर्माले सुनसरीको कप्तानगञ्जसहित विभिन्न स्थानमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले अल्पसंख्यक समुदायले आफूलाई असुरक्षित र बहुसंख्यक समुदायले आफूलाई असम्मानित महशुस गर्ने अवस्था सिर्जना हुँदा तथा राज्यले दंगा रोकथामका अग्रिम उपाय बेवास्ता गरी बल प्रयोगलाई प्राथमिकता दिएको र सुनसरीको कप्तानगञ्जमा भएको घटना मधेशभर फैलिएको आरोप लगाए ।
‘जब अल्पसंख्यक समुदाय असुरक्षित भएको सम्झिन्छ र बहुसंख्यक समुदाय आफू असम्मानित । उता राज्यको निकायले कुनैपनि दंगा र अप्रिय घटनाको रोकथामको अग्रिम उपायलाई बेवास्ता गरी बल प्रयोगलाई मात्र महत्व दिन थाल्छ । तब सुनसरीको कप्तानगञ्जमा घटेको अप्रिय घटना वनको डढेलो बन्न पुग्छ । त्यसमा सरकारको जवाफदेहीताको अभाव झन् प्रष्ट देखिन्छ जब यस घटनाबारे छलफल गर्न बसेको सर्वदलीय बैठकमा समेत सम्माननीय प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित देखिन्छन्,’ उनले भने ।
मधेशमा उत्पन्न तनावबारे छलफल गर्न बोलाइएको सर्वदलीय बैठकमा समेत प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित रहनुले सरकारको जवाफदेहितामाथि थप प्रश्न उठाएको उनले टिप्पणी गरे ।
सांसद शर्माले प्रधानमन्त्रीलाई आफ्नो शपथग्रहण समारोहमा बजाइएको शंखध्वनिले अल्पसंख्यक र बहुसंख्यक समुदायमा पारेको मनोवैज्ञानिक प्रभावसमेत बुझ्न आग्रह गरे ।
‘सम्माननीय अध्यक्षज्यूमार्फत सम्मानीय प्रधानमन्त्रीज्यूलाई आफ्नो शपथ ग्रहण समारोहका शंखको ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समूदायमा परेको विपरित मानसिक असरलाई बुझ्न आग्रह गर्दै सम्मानीय प्रधानमन्त्रीज्युलाई धेरै भाउ नखान आग्रह गर्दछु । सुनसरीसहित अन्य ठाउँमा घटेका हिंसात्मक घटनाको निश्पक्ष छानविनको माग गर्दछु,’ उनले भने ।
प्रतिक्रिया 4