+
+
Shares

समुद्रबाट ब्रसेल्ससम्म : सेउटा संकटले युरोपमा किन चर्कियो मतभेद ?

ईयूका २२ सदस्य राष्ट्रले सीमा सुरक्षालाई प्राथमिकता दिंदै अनियमित आप्रवासनलाई प्रोत्साहन गर्न सक्ने नीतिप्रति चिन्ता व्यक्त गरेका छन्। उनीहरूको यो धारणा स्पेनको हालैको नियमितीकरण नीतितर्फ लक्षित भएको मानिएको छ। र, भविष्यमा यस्तै संकट दोहोरिने जोखिम सिर्जना गर्ने उनीहरुको निष्कर्ष छ । तर, स्पेन सरकार भने यो निष्कर्षसँग सहमत छैन।

वसन्त रानाभाट वसन्त रानाभाट
२०८३ साउन १७ गते ६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेउटाको समुद्री सीमामा हजारौं आप्रवासीको प्रवेशपछि उत्पन्न मानवीय संकटले युरोपेली संघका सदस्य राष्ट्रहरूबीच गम्भीर राजनीतिक मतभेद सिर्जना गरेको छ।
  • स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले आफ्नो मुलुकलाई दोषारोपण गर्ने अन्य युरोपेली सरकारहरूका कदमलाई स्वार्थी, विभाजनकारी र गैरकानुनी भनी कडा प्रतिवाद गरेका छन्।
  • सीमा संकटबारे छलफल गर्न युरोपेली संघले आगामी मंगलबार सदस्य राष्ट्रका गृहमन्त्रीहरूको आपत्कालीन बैठक बोलाएको छ जुन आप्रवासन नीतिमा निर्णायक हुनेछ।

१७ साउन, बार्सिलोना । केही दिनअघि सेउटाको समुद्री किनारमा देखिएको दृश्यले सिंगो युरोपलाई झस्कायो। हजारौं आप्रवासी समुद्र हुँदै स्पेन प्रवेश गरिरहेका थिए भने स्पेनी सैनिक र प्रहरी अवस्था नियन्त्रणमा ल्याउने प्रयासमा थिए। अहिले त्यही संकटको केन्द्र समुद्र होइन, ब्रसेल्स बनेको छ। सीमा क्षेत्रमा देखिएको मानवीय संकट अहिले युरोपेली संघभित्र आप्रवासन नीति र सीमा सुरक्षालाई लिएर चर्किएको राजनीतिक बहसमा रूपान्तरण भएको छ।

सेउटाको आप्रवासी संकटले युरोपेली संघ (ईयू)भित्र नयाँ राजनीतिक मतभेद जन्माएको छ।एकातिर स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले केही युरोपेली सरकारमाथि ‘स्वार्थी, विभाजनकारी र गैरकानुनी’ व्यवहार गरेको आरोप लगाइरहेका छन्। अर्कोतिर इटाली, जर्मनीसहित ईयूका २७ सदस्य राष्ट्रमध्ये २२ राष्ट्रले स्पेनको आप्रवासन नीतिमाथि प्रश्न उठाएका छन्। यद्यपि युरोपेली आयोगले भने सीमा नियन्त्रणमा स्पेनले चालेका कदमको प्रशंसा गरेको छ। यही बढ्दो मतभेदबीच सेउटा संकटबारे छलफल गर्न ईयूको आपत्कालीन भिडियो बैठक बोलाइएको छ।

स्पेनमाथि किन उठ्यो प्रश्न?

सेउटा संकटपछि ईयूका २७ सदस्य राष्ट्रमध्ये २२ राष्ट्रले इटाली र डेनमार्कको पहलमा युरोपेली आयोग, युरोपेली परिषद् तथा हाल ईयू परिषद्को अध्यक्षता गरिरहेको आयरल्यान्डलाई संयुक्त पत्र पठाएका छन्। जर्मनीसहित ती राष्ट्रहरूले बाह्य सीमा थप सुदृढ बनाउन, फ्रोन्टेक्सको भूमिका विस्तार गर्न, मानव तस्करविरुद्ध संयुक्त कारबाही गर्न तथा अनियमित आप्रवासनलाई प्रोत्साहन गर्ने सम्भावित ‘पुल फ्याक्टर’ हटाउनुपर्नेमा जोड दिएका छन्।

पत्रमा उनीहरूले सेउटाको घटनालाई स्पेनको मात्र नभई युरोपेली संघको बाह्य सीमामा आएको साझा चुनौतीका रूपमा व्याख्या गरेका छन्। अनियन्त्रित रूपमा भएको सामूहिक सीमा प्रवेशले युरोपको साझा आप्रवासन नीतिमाथि विश्वास कमजोर पार्न सक्ने भन्दै यस्ता घटनाको पुनरावृत्ति रोक्न समन्वित युरोपेली रणनीति आवश्यक रहेको उनीहरूको तर्क छ।

२२ सदस्य राष्ट्रले सीमा सुरक्षालाई प्राथमिकता दिँदै अनियमित आप्रवासनलाई प्रोत्साहन गर्न सक्ने नीतिप्रति चिन्ता व्यक्त गरेका छन्। उनीहरूको यो धारणा स्पेनको हालैको नियमितीकरण नीतितर्फ लक्षित भएको मानिएको छ।

उनीहरूको तर्क छ, यस्ता नीतिले युरोप प्रवेशको आशा बढाउन सक्छ र भविष्यमा यस्तै संकट दोहोरिने जोखिम सिर्जना गर्न सक्छ। तर स्पेन सरकार भने यो निष्कर्षसँग सहमत छैन। म्याड्रिडका अनुसार सेउटा पुगेका अधिकांश आप्रवासी उक्त योजनाका लागि योग्य नै थिएनन्।त्यसैले अहिलेको संकटलाई नियमितीकरण नीतिसँग जोड्नु राजनीतिक आरोपबाहेक केही नभएको उसको दाबी छ। 

सान्चेजको प्रतिवाद : ‘समस्या स्पेनको होइन, युरोपकै हो

२२ सदस्य राष्ट्रको संयुक्त पत्र सार्वजनिक भएको केही घण्टामै स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले पनि आफ्नो जवाफ दिए। उनले युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डर लाइएन, युरोपेली परिषद्का अध्यक्ष अन्तोनियो कोस्टा तथा ईयू परिषद्को अध्यक्षता गरिरहेको आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनलाई सम्बोधन गर्दै कडा भाषामा पत्र लेखे।त्यसमा उनले केही युरोपेली सरकारको प्रतिक्रियाप्रति ‘गहिरो चिन्ता’ व्यक्त गर्दै उनीहरू ‘पूर्वाग्रह, फेक न्युज, अज्ञानता वा राजनीतिक स्वार्थबाट प्रेरित भएको आरोप लगाए।

सान्चेजका अनुसार सेउटामा देखिएको अवस्था स्पेनको मात्र समस्या होइन,युरोपेली संघको बाह्य सीमामा आएको साझा चुनौती हो।त्यसैले यसको समाधान पनि सबै सदस्य राष्ट्रको साझा जिम्मेवारी हुनुपर्ने उनको तर्क छ।उनले केही सरकारले संकटको घडीमा सहयोग गर्नुको सट्टा स्पेनलाई नै दोषारोपण गर्दै शेन्जेन व्यवस्थाबाट अलग गर्नुपर्ने बहससम्म उठाएको भन्दै त्यसलाई ‘स्वार्थी, विभाजनकारी र गैरकानुनी’ प्रतिक्रिया भनेका छन्।

स्पेनले आफ्नो दाबीलाई तथ्यांकमार्फत पनि पुष्टि गर्ने प्रयास गरेको छ।सान्चेजका अनुसार सरकारले ४८ घण्टाभित्रै सीमा पुनः नियन्त्रणमा ल्यायो, हजारौं आप्रवासीलाई मानवीय सहायता उपलब्ध गरायो, करिब ५० हजारमध्ये ४८ हजारभन्दा बढीलाई मोरक्को फर्कायो र मुख्यभूमि युरोपतर्फ कुनै पनि अनधिकृत आवागमन हुन दिएन।

उनले फ्रोन्टेक्सको तथ्यांक उद्धृत गर्दै सन् २०२१ देखि २०२६ सम्म स्पेन हुँदै भएको अनियमित प्रवेश इटालीको तुलनामा झन्डै आधा मात्र रहेको दाबी गरेका छन्। अफ्रिकासँग स्थलसीमा हुने ईयूको एकमात्र सदस्य राष्ट्र भएर पनि स्पेनले युरोपको बाह्य सीमा प्रभावकारी रूपमा जोगाइरहेको उनको भनाइ छ।

सान्चेजको आग्रहपछि आयरल्यान्डले सेउटा संकटबारे साझा छलफलका लागि आगामी मंगलबार ईयूका गृहमन्त्रीहरूको आपत्कालीन भिडियो बैठक बोलाउने घोषणा गरेको छ। आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनले सदस्य राष्ट्र र युरोपेली संस्थाबीच निरन्तर समन्वय भइरहेको बताउँदै सेउटाको अवस्थाबारे साझा मूल्याङ्कन र समन्वित प्रतिक्रिया आवश्यक रहेको बताएका छन्।

यसबीच युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डर लाइएनले पनि स्पेन र मोरक्कोका सुरक्षा निकायबीचको समन्वयको प्रशंसा गरेकी छन्।उनले सेउटाको घटनाले युरोपको बाह्य सीमा सुरक्षालाई अझ सुदृढ बनाउने आवश्यकता स्पष्ट पारेको बताउँदै यसलाई सम्पूर्ण युरोपेली संघको साझा जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिएकी छन्।

सीमा शान्त बन्दै, तर बहस अझै बाँकी

युरोपेली राजधानीहरूमा राजनीतिक आरोप-प्रत्यारोप जारी रहे पनि सेउटाको सीमा क्षेत्रमा भने अवस्था विस्तारै सामान्य बन्दै गएको देखिन्छ।रोयटर्सका अनुसार शनिबार राति ठूलो संख्यामा नयाँ आप्रवासीले सीमा पार गर्ने प्रयास गरेका छैनन्। बरु स्पेनले तत्कालीन संकट व्यवस्थापनबाट अब दीर्घकालीन सीमा सुरक्षातर्फ आफ्नो ध्यान केन्द्रित गर्न थालेको छ।

त्यसकै पहिलो कदमस्वरूप स्पेनी गार्डिया सिभिलले सेउटाको एल ताराखाल क्षेत्रमा करिब ५०० मिटर लामो फ्लोटिङ ब्यारियर जडान गर्न सुरु गरेको छ।पानीमाथि देखिने र पानीमुनिसम्म फैलिने यो अवरोध समुद्र हुँदै हुने अनियमित प्रवेश रोक्ने उद्देश्यले निर्माण गरिएको हो।अवरोधबीच गस्ती डुंगाका लागि छुट्टै मार्ग पनि राखिएको छ, जसले भविष्यमा यस्ता सामूहिक प्रवेश प्रयास नियन्त्रण गर्न सहयोग पुग्ने स्पेनी अधिकारीहरूको विश्वास छ।

स्पेनी गृह मन्त्रालयका अनुसार बिहीबारदेखि सुरु भएको संकटमा करिब ५० हजार मानिस सेउटा प्रवेश गरेका थिए। तीमध्ये ४८ हजारभन्दा बढी ४८ घण्टाभित्रै स्वेच्छाले मोरक्को फर्किएका छन्। तर संकटको मानवीय मूल्य भने निकै ठूलो रह्यो। गृहमन्त्री फर्नान्डो ग्रान्दे-मार्लास्काका अनुसार मृत्यु हुनेको संख्या कम्तीमा ६७ पुगेको छ।

उता, मोरक्कोको अनलाइन समाचारमाध्यम हेसप्रेसका अनुसार फ्निदेक-सेउटा सीमा क्षेत्रमा जनजीवन विस्तारै सामान्य बन्दै गएको छ।जलेका सवारीसाधन हटाउने, सडक सफा गर्ने र नियमित आवागमन पुनः सञ्चालन गर्ने काम भइरहेको छ।

केही दिनअघि समुद्र किनारमा सुरु भएको संकट अहिले ब्रसेल्सको राजनीतिक एजेन्डा बनिसकेको छ। सीमा क्षेत्रमा अवस्था सामान्य बन्दै गए पनि अब सबैको ध्यान आगामी मंगलबार हुने युरोपेली संघको आपत्कालीन बैठकतर्फ केन्द्रित छ। त्यस बैठकले सेउटा संकटको मात्रै होइन, भविष्यमा युरोपले आप्रवासन र बाह्य सीमा सुरक्षालाई कुन दिशाबाट हेर्ने भन्ने विषयमा पनि महत्वपूर्ण संकेत दिने अपेक्षा गरिएको छ।

लेखक
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?