News Summary
Generated by OK AI. Editorially reviewed.- प्रसिद्ध आरोही निर्मल पुर्जाको निधनप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका कलाकार र पर्वतारोहीले गहिरो शोक व्यक्त गरेका छन्।
- निर्देशक मिलन चाम्सले पुर्जासँग मिलेर पोर्टरको कथामा फिल्म बनाउने अधुरो सपना पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।
- बलिउड अभिनेता विक्रम मास्से र बेयर ग्रिल्जले पुर्जाको साहसी योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
काठमाडौं । पाकिस्तानको ‘ब्रड पिक’ हिमपहिरोमा ज्यान गुमाएका प्रसिद्ध आरोही निर्मल पुर्जा ‘निम्स दाइ’को ख्याति पर्वतीय आरोहण समुदायमा मात्र सीमित छैन । उनी फिल्मप्रेमीमाझ पनि उत्तिकै चर्चित छन् ।
सन् २०२१ मा नेटफ्ल्क्सिले रिलिज गरेको उनीबारेको डकुमेन्ट्री ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ अहिले पनि उत्तिकै चर्चित छ । यो फिल्ममा पुर्जाको वास्तविक जीवनका किस्सा मात्र होइन, उनले ७ महिनाभित्र ८ हजार मिटर अग्ला संसारका शीर्ष १४ हिमाल कसरी आरोहण गरे भन्ने ‘प्रोजेक्ट पसिबल’को कथा पनि समेटिएको छ ।
रिलिज हुने बेला यो डकुमेन्ट्री संसारका कैंयन देशमा नेटफ्ल्क्सिको ग्लोबल ट्रेन्डिङमा थियो । समीक्षकले प्रेरणादायी भन्दै फिल्मको प्रशंसा गरेका थिए भने लाखौंले प्रेरणादायी भन्दै प्रतिक्रिया दिएका थिए । यो फिल्मपछि पुर्जाको फ्यान फलोइङ संसारभर ह्वात्तै बढ्यो भने पुर्जा सेलिब्रेटी पर्वतारोहीको रुपमा संसारभर प्रसिद्ध भए ।
उनको निधनपछि पनि फिल्म, टेलिभिजन र संगीत क्षेत्रका सेलिब्रेटीले दुःख व्यक्त गर्दै पुर्जाको प्रेरणादायी यात्रा र ‘फोर्टिन पिक्स’को डकुमेन्ट्रीले आमदर्शकमाझ छरेको प्रेरणाको कुरा भनेका छन् । केही नेपाली फिल्ममेकरले त केही वर्षदेखि पुर्जासँगको सहकार्यमा फिल्म निर्माणको तयारी भैरहेको र त्यो अधुरै रहेको उल्लेख गरेका छन् ।
नेपाली फिल्म निर्देशक मिलन चाम्सले पुर्जासँगको सहकार्यमा भरिया दाजुभाइको कथामा फिल्म बनाउनेबारे कुुराकानी भएको खुलाएका छन् ।

पूर्जाको निधनमा शोक व्यक्त गर्दै चाम्सले लेखेका छन्, ‘तिम्रो सपना थियो, पोर्टर दाजुभाइको कथामा चलचित्र निर्माण गर्ने । पटक–पटकको फोन र भेटमा दाई के हुँदैछ, हाम्रो फिल्म को काम ? समय दिनु पर्यो, एकपटक बेसक्याम्प आउनु, हेलिकोप्टर पठाउँछु । हाम्रो बनाउँदै गरेको पोर्टर हाउस पनि भिजिट गर्नु । तर म कामको व्यस्तताले कहिल्यै जान सकिनँ ।’
फिल्म बनाउने यो कुराकानीलाई सकेसम्म साकार बनाउने कोसिस गर्ने मिलनले बताएका छन् । ‘भविष्यमा मिल्यो भने इच्छा पूरा गर्नेछु’ मिलनले अनलाइनखबरसँग कुरा गरेका छन् ।
अहिले काठमाडौं आइपुगेका बलिउड अभिनेता विक्रम मास्सेले पनि ब्रड पिक हिमपहिरोमा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेका छन् । सोल्टी होटलमा आयोजित समारोहमा उनकै आग्रहमा १० सेकेन्ड मौनधारण पनि गरिएको थियो । उनले निम्स दाइको प्रशंसा गर्दै नेपालको पर्वतारोहण क्षेत्रमा उनले पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
बेलायतका चर्चित टिभी कार्यक्रम ‘म्यान भर्सेज वाइल्ड’का प्रस्तोता बेयर ग्रिल्जले पनि निम्स दाईको योगदानको प्रशंसा इन्स्टाग्रामबाट गरेका छन् ।
उनी लेख्छन्, ‘विश्वभरका असंख्य पर्वतारोहीका लागि यो अत्यन्त हृदयविदारक खबर हो, विशेष गरी यस असाधारण र अद्वितीय व्यक्तिसँग मित्रता गाँसेका सबैका लागि । निम्स, हामी तपाईंलाई र तपाईंको अदम्य साहस, प्रेरणादायी भावना तथा अटल आत्मबललाई कहिल्यै बिर्सने छैनौं ।’
बलिउड अभिनेत्री सोनम कपुुरले निर्मल र उनकी पत्नी सूची पुर्जाको फोटो सेयर गर्दै निम्स दाइको निधनमा दुःख व्यक्त गरेकी छन् ।
निम्सको निधनप्रति चर्चित हलिउड संचारमाध्यमले पनि समाचार कभरेज गरेका छन् । नेपालका फिल्म निर्देशक, निर्माता, कलाकार, संगीतकर्मी र सेलिब्रेटीले पनि पुर्जाको निधनमा शोक व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4