News Summary
Generated by OK AI. Editorially reviewed.- रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’ को शीर्ष गीत सार्वजनिक गरिएको छ ।
- निर्देशक थापाले तराई-मधेशको पछिल्लो घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव र संयमता अपनाउन आग्रह गरिन् ।
- फिल्म भदौ २६ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने भएको छ ।
काठमाडौं । रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’ को पहिलो शीर्ष गीत युट्युबमा सार्वजनिक गरिएको छ । आयोजित पत्रकार सम्मेलनमा निर्माताले गीत प्रस्तुत गरे ।
गीत सार्वजनिक कार्यक्रममा निर्देशक थापाले पछिल्लो समय तराई-मधेशमा विकसित घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र मानवीयताको पक्षमा सबैले संयमित भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।
उनले सामाजिक सञ्जाल तथा सार्वजनिक अभिव्यक्तिमार्फत सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गर्दै सरकारले पनि वर्तमान परिस्थितिलाई छिटो नियन्त्रणमा ल्याउन आवश्यक पहल गर्नुपर्ने धारणा राखिन् ।
‘तराईमा भइरहेको घटना अत्यन्तै दुःखद छ । आफ्नैबीचको द्वन्द्व अन्त्य हुनुपर्छ । राज्यले पनि यसलाई छिट्टै सन्तुलनमा ल्याउनुपर्छ,’ उनले भनिन् ।

थापाले हिंसामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस्ता घटना दोहोरिन नहुने कामना गरिन् । धर्मको मूल आधार मानवीयता भएको उल्लेख गर्दै उनले समाजमा प्रेम, सहिष्णुता र आपसी सम्मानको भावना विस्तार हुनुपर्नेमा जोड दिइन् ।
फिल्मको विषयवस्तुबारे बोल्दै उनले प्रेमलाई कुनै एक सम्बन्धमा मात्र सीमित गर्न नहुने धारणा राखिन् । उनका अनुसार प्रेम परिवार, साथीभाइ, समाज र राष्ट्रप्रति पनि हुन सक्छ र समाजमा बढ्दो द्वन्द्वको एउटा कारण आपसी आत्मीयता र प्रेमको अभाव पनि हो ।
कार्यक्रममा अभिनेत्री तथा पूर्वमिस नेपाल नम्रता श्रेष्ठले गीतप्रति दर्शकले सकारात्मक प्रतिक्रिया दिने विश्वास व्यक्त गरिन् । गीत हेर्दा कथावस्तुबारे केही अन्योल देखिए पनि त्यसको वास्तविक अर्थ बुझ्न फिल्म नै हेर्नुपर्ने उनले बताइन् ।

छायांकन अनुभवबारे बोल्दै श्रेष्ठले कोशी क्षेत्रमा प्रतिकूल मौसमका बीच गीतको छायांकन गरिएको स्मरण गरिन् । मौसमका कारण केही कठिनाइ भए पनि अन्तिम परिणाम निकै राम्रो आएको भन्दै सम्पूर्ण मेहनत सफल भएको बताइन् ।
रेखासँग पहिलोपटक काम गर्दा सुरुमा केही डर लागेको भए पनि काम गर्दै जाँदा उहाँबाट धेरै कुरा सिक्ने अवसर प्राप्त भएको उनले सुनाइन् । निर्देशन, कार्यशैली र कलाकारसँगको व्यवहारबाट आफूले आगामी चलचित्र यात्राका लागि उपयोगी अनुभव हासिल गरेको उनको भनाइ थियो ।
प्रेमबारे आफ्नो धारणा राख्दै श्रेष्ठले प्रेमको सुरुआत आफूबाट हुने र त्यसपछि परिवार, साथीभाइ तथा समाजसम्म विस्तार हुने भावना भएको बताइन् । प्रेमलाई केवल रोमान्टिक सम्बन्धमा सीमित गरेर हेर्न नहुने उनको धारणा थियो ।
फिल्म तीजको छेकोमा २६ भदौदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ ।
प्रतिक्रिया 4