News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुमपूर्वको भूमे गाउँपालिका–३ का स्थानीयले धानबाली संरक्षण र सुख–समृद्धिको कामना गर्दै परम्परागत हरेली पूजा सम्पन्न गरेका छन् ।
- स्थानीय सीप सुनारका अनुसार पुस्तौंदेखि चलिआएको यस परम्परामा किसानले धानखेतमा मिहेल रुखको हाँगा गाडेर पूजा गर्ने गर्दछन् ।
- पूजापछि गाउँलेहरू चौतारीमा भेला भई सामूहिक भोज र नाचगान गर्दै सामाजिक सद्भाव र सांस्कृतिक एकता कायम गर्ने गरेका छन् ।
१८ साउन, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–३ का स्थानीयले धानबालीको संरक्षण, प्राकृतिक विपत्तिबाट बचाउ तथा गाउँमा सुख–समृद्धिको कामना गर्दै परम्परागत ‘हरेली पूजा’ गरेका छन् ।
पुस्तौंदेखि चलिआएको यो मौलिक परम्पराअनुसार स्थानीयले साउन १५ देखि २० गतेभित्र पर्ने आइतबार धानखेतमै पुगेर पूजा गर्ने गरेका हुन् ।
स्थानीय परम्पराअनुसार असारको अन्तिम सातासम्म धान रोपाइँ सकिएपछि साउन १५ देखि २० गतेभित्र पर्ने आइतबार हरेली पूजा गर्ने चलन रहेको स्थानीय सीप सुनारले बताए ।
‘पूजाको तयारी अघिल्लो दिन शनिबारदेखि नै सुरु हुन्छ। शनिबार दिउँसो प्रत्येक किसानले आफ्नो धानखेतको बीचभागमा मिहेल (भोकर) रुखको हाँगा गाड्छन् । त्यसैलाई आधार मानेर आइतबार बिहान खेतमै पूजा गर्ने परम्परा छ,’ उनले भने ।
हरेली पूजा धानबालीलाई मुसा, कीरा–फट्याङ्ग्रा तथा अन्य प्राकृतिक प्रकोपबाट जोगाउने विश्वाससँग जोडिएको स्थानीयको भनाइ छ । पूजाको अघिल्लो साँझ गहुँको पिठोबाट मुसा, बिरालो, सर्प, कीरा–फट्याङ्ग्रा तथा खेतीपाती र घरायसी जीवनमा प्रयोग हुने सामग्रीका आकृति बनाइन्छ ।
स्थानीय लिलाप्रसाद सुनारका अनुसार ती आकृतिहरू केवल परम्पराका लागि होइन, कृषि जीवनसँग जोडिएको विश्वासका प्रतीक हुन् ।
‘बिरालोले मुसा खाओस्, कीरा–फट्याङ्ग्राले धानबाली नष्ट नगरून्, वर्षभरि खेती राम्रो होस् भन्ने कामनासहित यी सामग्री तयार गरेर पूजा गरिन्छ,’ उनले भने ।
स्थानीय युवा चन्द्रबहादुर रसाइलीका अनुसार हरेली पूजा कृषि संस्कृतिसँग मात्र सीमित छैन, यसले मानव जीवनको सुरक्षाको कामना पनि बोकेको छ ।
खेतमा पूजा सम्पन्न भएपछि सबै स्थानीय गाउँको चौतारीमा भेला हुने परम्परा छ । त्यहाँ सामूहिक रूपमा मिठा परिकार खाने, आ–आफ्ना मनोकामना व्यक्त गर्ने र शुभकामना आदानप्रदान गर्ने गरिन्छ । सन्तान नभएकाले सन्तान, विवाह नभएकाले योग्य जीवनसाथी तथा विद्या, धन र समृद्धिको कामना गर्दै वरदान माग्ने चलन रहेको स्थानीय बताउँछन् ।
पूजापछि सामूहिक रूपमा नाचगान पनि गरिन्छ। वर्षभरि धान, मकै तथा अन्य बालीमा कुनै क्षति नहोस् भन्ने कामनासहित कृषि संस्कृतिसँग सम्बन्धित गीत गाइने र नाचिने परम्परा अहिले पनि जीवित छ । गाउँका ज्येष्ठ नागरिक, जैसी तथा अग्रजबाट आशीर्वाद लिने चलनले हरेली पूजालाई धार्मिकसँगै सामाजिक सद्भाव र सांस्कृतिक एकताको पर्वका रूपमा स्थापित गरेको छ ।
प्रतिक्रिया 4