+
+
Shares

स्थलगत कप्तानगञ्ज : ओमप्रकाश र जयप्रकाश बिते, जाबिर र हजरत जान सकेनन्

ओमप्रकाशसँग मिलेर हिँड्ने जाबिर आलम र हजरत मन्सुरी अहिलेसम्म पनि उनको घरसम्म जान सकेका छैनन् । किनभने, धर्मको रङ भरेर समाजमा अशान्ति मच्चाउन चाहने तत्वहरूले एकै गाउँका दुई युवाको बीचमा नै वैमनस्य गराइदियो ।

बसन्त बस्नेत बिनु सुवेदी हरि अधिकारी बसन्त बस्नेत, बिनु सुवेदी, हरि अधिकारी
२०८३ साउन १७ गते २१:४२
ओमप्रकाश मेहताका बुवा कृष्णदेव । तस्वीर : कमल प्रसाईं/अनलाइनखबर
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको कप्तानगञ्जमा भड्किएको साम्प्रदायिक झडपमा परी स्थानीय ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको छ।
  • घटनाका कारण पुस्तौँदेखि मिलेर बसेको समाजमा दरार आएको छ र स्थानीय बासिन्दाहरूले दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
  • स्थानीय बासिन्दाले धर्म र समुदायको नाममा भएको हिंसा अन्त्य गरी पुनः आपसी सद्भाव कायम हुने दिनको प्रतीक्षा गरिरहेका छन्।

१७ साउन, कप्तानगञ्ज सुनसरी । घटनाका शहीदको घरको घडीले भनिरहेथ्यो, समय ठिक चलिरहेको छैन ।

यदि समय ठिकठाकै चलिरहेको हुन्थ्यो भने त्यतिखेर भित्ताको घडीमा दिउँसोको १२ जति बजिरहेको हुनुपर्ने थियो । तर ८ दिन यता केही कुरा पनि ठेगानमा छैन, आफू बित्नुभन्दा केही समयअघि ओमप्रकाश मेहताले आफ्नो घरको भित्तामा टाँसेको घडी पनि ।

त्यसैले दिउँसो १२ बजेतिर पनि घडीको सुई पौने ६ बजेको वरिपरि अडिएको छ, मानौं कि उसलाई अब समयभन्दा अघि या पछि कहीँ पुग्नु नै छैन ।

समय हेरेर समय-समयमा काम गर्ने आदत बसालेका ‌ओमप्रकाश स्वयं नभएपछि उनले बनाउँदै गएका धेरै चिजहरू घडीकै सुई जस्तै ठप्प छन् ।

ओमप्रकाशसँग मिलेर हिँड्ने जाबिर आलम र हजरत मन्सुरी अहिलेसम्म पनि उनको घरसम्म जान सकेका छैनन् । किनभने, धर्मको रङ भरेर समाजमा अशान्ति मच्चाउन चाहने तत्वहरूले एकै गाउँका दुई युवाको बीचमा नै वैमनस्य गराइदियो ।

हजरत मन्सुरी ।

समय ठिक चलिरहेको छैन भन्नलाई योभन्दा ठूलो उदाहरण के हुन सक्थ्यो ।

समेटिएर अगाडि बढ्नुपर्ने नियति अघिल्तिर हुँदाहुँदै पनि आज नै सबै ठिकठाक गर्ने ताकत कसैसँग पनि छैन । ओमप्रकाशकी आमा सीतादेवी मेहता कतिबेला ढल्छिन्, कति बेला बौरिन्छन् पत्तै हुँदैन ।

घर मात्रै होइन, विस्तारैविस्तारै समाज पनि सम्हाल्दै गएको जेठो छोरो अब फेरि नफर्किने गरी गइसक्यो भन्ने स्वीकार्न आमालाई कठिन छ । भेट्न आउनेलाई घटना सुनाउँदा सुनाउँदै बुवा कृष्णदेव कतिखेर भक्कानिन्छन्, कतिखेर सम्हालिन्छन् ।

दाजुको शोकमा बसिरहेका भाइ, सासुलाई सम्हालिरहेकी बुहारी, परिवारका ससाना नानीबाबुहरू सबैका आँखाले ओमप्रकाशलाई नै खोजिरहन्छन् । यसैपालि पक्की घर हालेर बिहे गर्ने तयारी गरेका उनको अनुपस्थिति परिवारलाई बिझाइरहेको छ । उनैले छोडेर गएको घडीको सुई टक्क रोकिएर समयलाई गिज्याइरहेको छ ।

बितेको ८ दिन यता आमा बारम्बार एउटै बाक्य दोहोर्‍याइरहन्छिन्- प्रकाशविना म कसरी बाँच्ने ? आइतबार हामी पुग्दा पनि उनले त्यही भनिन् । तर ओमप्रकाशको परिवारलाई अर्को पीडाले पनि पोलिरहेको छ । पुस्तौंदेखि मिलेर बसिरहेको यो समाज, फेरि मिल्न नसक्ने त होइन ?

सीतादेवीले हामीलाई भनेकी पनि थिइन्- मेरो छोरोलाई सबैले छोरो सम्झेर फेरि उस्तै छिमेकी-छिमेकी मिले पनि हुन्थ्यो ।

सीताले यसो भन्दा उनलाई सम्हालिरहेका अरू महिलाहरूले होमा हो मिलाए । तिम्रो छोरा देशकै छोरा भइसक्यो भने र अब उनलाई जस्तै पीडा अरूलाई नहोस् भनेर सबैजना मिल्नेतर्फ लाग्नुपर्ने बताए । घटनाका दोषीलाई जतिसक्दो छिटो कानुनको दायरामा ल्याउनु पर्ने माग राखे ।

कप्तानगञ्जका ओमप्रकाश मेहता होउन् या जाबिर आलम अनि समिम मियाँ, पुस्तौंदेखि मिलेर बसेको समाज हो यो । एउटालाई पर्दा अर्कोले गरेर नै समाज समाज जस्तै थियो । तर साता दिन यता परिस्थिति बिग्रियो । समाजमा मिलेर बसेका मान्छेहरू समुदायमा बाँडिए । आफ्ना-पराइ धर्मका आधारमा छुट्याउन थालियो ।

सम्हाल्ने प्रयास पनि भएन, बिग्रिएको परिस्थितिले देवानगञ्ज सिंगो रहेन । त्यसैको फलस्वरूप भड्किएको भिडमा प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहता र जयप्रकाश मेहताको निधन भयो । दुई होनहार युवाको ज्यान गुमेपछि राज्य केही सजग त देखियो तर ढिला भइसकेको थियो । त्यसैको रहलपहल त हो नि, देवानगञ्जदेखि कप्तानगञ्जसम्मको सन्नाटा, निराशा र उकुसमुकुस ।

देवानगञ्जदेखि कप्तानगञ्ज बजारको ठाउँठाउँमा लगाइएको आगोले डढेको संरचना बर्खे झरीले पखालिसकेको छैन । जलेका वस्तुहरू जस्ताको त्यस्तै छन् ।

बजारको कुनै पसल खुला छैन । आफ्नो पसलमा ताला ठोकेर गाउँलेहरू गुजुमुज्ज परेर बसिरहेका छन् । अनुगमन, अनुसन्धान, रिपोर्टिङ, जाँचबुझका नाममा विभिन्नथरीका मान्छे पुगिरहन्छन् । तिनै मान्छेहरूसँग पनि खुलेर बोल्न मन लाग्दैन ।

सेना, शसस्त्र प्रहरी र प्रहरीका गाडीहरू ओहोरदोहोर गरिरहँदा शान्ति महसुस हुन्छ कि संशय, उनीहरू बिलखबन्दमा छन् ।

तर, केही उच्छृंखल युवाहरूका कारण निम्तिएको घटनाको घाउ सकेसम्म छिटो पुरिए हुन्थ्यो भन्ने उनीहरूलाई लागेको छ । स्थानीय ५९ वर्षीय गणेशप्रसाद मेहता उनीहरूमध्येकै एक हुन् ।

जन्मेदेखि आजसम्म कप्तानगञ्ज कहिल्यै नछोडेका गणेशका लागि कप्तानगञ्ज बजारको माया आफ्नै ज्यानको भन्दा धेरै छ । छिमेकी आफन्त र नातागोता प्राणभन्दा प्यारा हुन् ।

बजारमै पसल गरेर जीविकोपार्जन गरिरहेका उनी मनभित्रकै भय र प्रशासनको निषेधाज्ञाका कारण पसल खोल्न त सकिरहेका छैनन् तर फेरि उही सक्रिय दैनिकीको पर्खाइमा छन् ।

‘अहिले त त्यही घटनाको मात्रै कुरा हुन्छ, कहिले को आउँछ, कहिले को आउँछ । सबैको कुरा सुन्यो, कहिले शान्ति होला भन्यो, पर्खियो,’ मेहताले भने, ‘यति ठूलो बजार । अहिले त डरले पनि बन्द भएको छ । अर्कातिर पीडा पनि छ। खोल्न मन लाग्दैन । कुनै मुड पनि छैन । कुनै बेला सबै ठिक भए जस्तो हुन्छ, कुनै बेला सबै बिग्रे जस्तो लाग्छ ।’

उनले आफूले पहिलेको जस्तै समाज पर्खेर बसेको बताए ।

शंकर गिरी स्थानीय शिव मन्दिरका पुजारी हुन् । उनीहरूको पुस्तैनी पेसा नै मन्दिरमा पूजा गर्नु हो । तर गिरीले आजसम्म हिन्दुले मुस्लिम र मुस्लिमले हिन्दुलाई दु:ख दिएको देखेका थिएनन् । ‘धर्मका नाममा लड्ने हाम्रो संस्कार नै होइन, त्यही भएर पनि धेरै उकुसमुकुस भएको छ,’ गिरीले भने, ‘अब कहिले फेरि पुरानै समाज मिलेर बस्ने दिन आउँछ पर्खिरहेका छौं ।’

कप्तानगञ्ज पहिलेदेखि नै मिश्रित समाज हो । मुस्लिम समुदायको मोहरम पहिले पनि हुने गर्थ्यो । हिन्दुहरू बोलबम पहिले पनि जाने गर्थे । एउटा समुदायले अर्को समुदायलाई सम्मान गरेर नै समाज बाँचिरहेको थियो ।

आज पनि धर्म र झण्डाका नाममा आफूहरूमा कुनै पनि मतभेद नरहेको स्थानीय सबैको भनाइ छ । जाबिर आलाम उनीहरूमध्येकै एक हुन् । खसीबाख्राको व्यापार गरेर जीविकोपार्जन गर्दै आएका उनी ८ दिन यता घरबाट बाहिर निस्किन सकेका छैनन् ।

‘हामी यही समाजमा बस्नु पर्छ । यहीं जन्मेको हो, यही हुर्केको हो,’ उनले भने, ‘पारिपटि चिनेकै भाइको मृत्यु भएको छ । हामीले के छ, कसो छ भन्न सकेका छैनौं । यताबाट उता जान त मन लाग्छ तर खुट्टा नै उठ्दैन ।’

कप्तानगञ्जवासी सबैको एउटै आवाज दोषीलाई जतिसक्दो छिटो कानुनी कारबाहीमा ल्याउन राज्यले पहल गर्नुपर्छ भन्ने छ । ‘दोषी त दोषी मात्रै हुन्छ, हिन्दु र मुस्लिम भन्ने हुन्न,’ स्थानीय सलिम मियाँले भने, ‘दोषी जो सुकै होस्, हिन्दु होस् कि मुस्लिम कारबाही हुनुपर्छ । हामीले हाम्रा हिन्दु छिमेकीहरूसँग पहिले जस्तै माया पर्खिरहेका छौं।’

तस्वीरहरू : कमल प्रसाईं

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

बिनु सुवेदी

हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?