+
+
Shares

राष्ट्रिय सभाको शून्य समय : कुन सांसदले के उठाए विषय ?

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १३:४८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभा बैठकमा सांसदहरूले बढ्दो महँगी, एलपी ग्यासको कृत्रिम अभाव, सीमा सुरक्षा र नागरिकका आधारभूत समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
  • सांसदहरूले सुस्तामा भारतीय पक्षबाट भएको हस्तक्षेप र सीमा क्षेत्रमा नेपाली नागरिकले भोग्नुपरेको दुर्व्यवहारको अन्त्यका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् ।
  • दलित समुदायको अधिकारका लागि माइतीघरमा १०७ दिनदेखि सत्याग्रहमा रहेकी दीपा नेपालीको माग सम्बोधन गर्न र दाइजोका कारण हुने हिंसाको निष्पक्ष छानबिन गर्न सांसदहरूले जोड दिएका छन् ।

१८ साउन, काठमाडौं । राष्ट्रिय सभाको सोमबारको बैठकमा सांसदहरूले मुलुकको समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक मुद्दाहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा बोल्दै सदस्यहरूले बढ्दो महँगी, एलपी ग्यासको अभाव, सीमा क्षेत्रमा देखिएका समस्या र न्यायको पर्खाइमा रहेका नागरिकका विषयमा सरकारको जवाफदेहीता खोजेका हुन् । सांसद कृष्णबहादुर रोकायाले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले नागरिकको जनजीवन कष्टकर बनेको बताए ।

छिमेकी मुलुक भारतमा एलपी ग्यासको मूल्य घट्दा समेत नेपालमा आयल निगमले मूल्य नघटाएको र बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएको उनको भनाइ छ । विशेषगरी रुकुम पश्चिममा होटल व्यवसायी र सर्वसाधारणले ग्यास अभावका कारण सास्ती खेप्नुपरेको भन्दै उनले तत्काल आपूर्ति सहज बनाउन माग गरे ।

सांसद विष्णुकुमारी सापकोटाले चाडपर्वको मुखमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले खाद्यान्नको भाउ आकाशिएको उल्लेख गर्दै सरकार नागरिकका आधारभूत समस्याप्रति संवेदनशील नभएको आरोप लगाइन् ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले बजारमा विषादीयुक्त र मिसावटजन्य खाद्य सामग्रीको बिक्री वितरण भइरहेको भन्दै प्रभावकारी बजार अनुगमन र गुणस्तर नियन्त्रणका लागि जनशक्ति बढाउन माग गरिन् ।

सांसद पूजा चौधरीले नवलपरासीको सुस्तास्थित थारु टोलमा निर्माणाधीन अस्थायी बाँध भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भत्काएको घटनाप्रति आपत्ति जनाइन् ।

सुस्ताको विषय राष्ट्रियता र सार्वभौमिकतासँग जोडिएकाले यसलाई कुटनीतिक माध्यमबाट दीर्घकालीन समाधान खोज्न उनले आग्रह गरिन् ।

 यस्तै, सांसद विष्णुबहादुर विश्वकर्माले लिपुलेक र लिम्पियाधुरामा छिमेकी मुलुकको हस्तक्षेप र सुस्तामा नेपाली नागरिकमाथि हुने दुर्व्यवहारको अन्त्यका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिए ।

बैठकमा दलित समुदायको हकअधिकार र न्यायका लागि माइतीघरमा १०७ दिनदेखि सत्याग्रहमा बसेकी दीपा नेपालीसँग वार्ता गरी समस्या समाधान गर्न सांसद पदमबहादुर परियार र विष्णुबहादुर विश्वकर्माले माग गरे ।

निर्वाचनका बेला दलित समुदायसँग माफी मागेका दलहरू सरकारमा पुगेपछि उनीहरूको पीडाप्रति उदासीन बनेको उनीहरूको आरोप छ ।

सांसद रेणु चन्दले सुदूरपश्चिमकी पूजा धानुकको शङ्कास्पद मृत्युको विषय उठाउँदै दाइजोका कारण हुने हत्या र हिंसाका घटनामा निष्पक्ष छानबिन गर्न माग गरिन् । निर्मला पन्त प्रकरण जस्तै यो मुद्दा पनि न्यायविहीन नबनोस् भन्दै उहाँले सरकारलाई सचेत गराइन् ।

सांसद विष्णुदेवी पुडासैनीले १० वर्षसम्म निष्क्रिय रहेका बैंक खाताको रकम सरकारी खातामा ल्याउने तयारी अमानवीय भएको टिप्पणी गरे । त्यस्तो रकमलाई २० वर्षको समय दिएर स्वास्थ्य सेवामा खर्च गर्ने व्यवस्था मिलाउन उनको सुझाव थियो । उनले बिजुलीमा लगाइएको भ्याट र यातायात मजदुरमाथि हुने चर्को जरिवानाप्रति पनि असन्तुष्टि व्यक्त गरे ।

बैठकमा सांसद पूजा चौधरीले पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी कीर्तिमानी पर्वतारोही निर्मल पुर्जासहित नेपाली र विदेशी नागरिकको निधन भएको खबरले मुलुक स्तब्ध भएको बताउँदै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?