News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल भलिबल संघले आर्थिक वर्ष २०८३/८४ का लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समेटिएको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
- नेपालले यस वर्ष केन्द्रीय एसियाली भलिबल संघअन्तर्गतका महिला च्याम्पियन्स लिगसहित तीनवटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ ।
- संघले ३५औं राष्ट्रिय पुरुष र २५औं महिला भलिबल प्रतियोगिता सुर्खेतमा तथा विभिन्न लिग प्रतियोगिताहरू काठमाडौंमा सञ्चालन गर्ने निर्णय गरेका छन् ।
१८ साउन, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
संघले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय प्रतियोगिता, अन्तर्राष्ट्रिय सहभागिता तथा नेपालमा आयोजना हुने प्रतियोगितासहितको वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो ।
क्यालेन्डरअनुसार नेपालले यस वर्ष केन्द्रीय एसियाली भलिबल संघ (काभा) अन्तर्गतका तीन अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नेछ । काभा महिला च्याम्पियन्स लिग, काभा पुरुष भलिबल च्याम्पियनसिप (विश्व वरीयता अंकसहित) र काभा च्यालेन्ज कप (पुरुष) नेपालमा हुने तय भएको छ ।
यस्तै नेपालले २०औं एसियाली खेलकुदमा महिला भलिबल टोली सहभागी गराउने कार्यक्रम पनि क्यालेन्डरमा समावेश गरेको छ । एसियाली खेलकुद जापानमा हुनेछ ।
राष्ट्रिय प्रतियोगिताअन्तर्गत ३५औं राष्ट्रिय पुरुष तथा २५औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुनेछ । १०औं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप काठमाडौंमा हुनेछ भने प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग, सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बीच भलिबल, यू–१९ राष्ट्रिय भलिबल प्रतियोगिता, फ्रेन्चाइज अन्तर्गत एभरेस्ट महिला भलिबल लिग र पुरुषको नेपाल भलिबल लिग पनि क्यालेन्डरमा समावेश छन् ।
त्यस्तै यू–१८ अन्तरविद्यालय भलिबल प्रतियोगिता, राष्ट्रिय रेफ्री तथा प्रशिक्षक (कोच) कोर्स, मैत्रीपूर्ण खेल र थ्री नेसन्स कप आयोजना गर्ने कार्यक्रम पनि संघले सार्वजनिक गरेको छ ।
नेपालले आयोजना गर्ने काभा महिला च्याम्पियन्स लिग नोभेम्बर १ देखि ७ सम्म काठमाडौंमा हुनेछ ।
तस्वीरहरू : विकास श्रेष्ठ




प्रतिक्रिया 4