News Summary
Generated by OK AI. Editorially reviewed.- प्रविधि र एआईको युगमा विद्यार्थीहरूलाई सही सूचना पहिचान गर्ने र त्यसको विवेकपूर्ण उपयोग गर्ने मार्गदर्शन दिनु आवश्यक छ।
प्रकृतिको नियम बेग्लै छ । प्रकृतिसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्न सकियो भने मात्र जीवन सहज बन्छ, अन्यथा प्रकृतिले आफ्नो बाटो आफैँ तय गर्छ । यो सत्य हो । त्यस्तै, हाम्रा सन्तति पनि यहि प्रकृतिका अंग हुन् ।
उनीहरूलाई खाली किताबी ज्ञान मात्र नभई प्रकृतिमैत्री मूल्यमान्यता ,सी संस्कार, उचित र जीवनोपयोगी शिक्षा दिनु पनि प्रत्येक अभिभावक र आम शिक्षण संस्थाको कर्तव्य हो ।
शिक्षण पेसा र विगत चार दशकको जीवन भोगाइबाट मैले एउटा कुरा सधैँ मानसपटलमा केलाउँदै आइरहेकी छु । जीवन चक्रको एउटा महत्त्वपूर्ण अवधि बालापन हुँदै युवा अवस्था पार गर्दै गरेकी म, अहिले एक जिम्मेवार आमा र शिक्षिकाको भूमिकामा छु ।
हामीले प्राप्त गरेको शिक्षा र संस्कारको जगमा अब भविष्य निर्माण गर्ने पुस्ता (हाम्रा सन्तति) लाई के बनाउने र कस्तो बनाउने भन्ने प्रश्न खडा हुन्छ । शिक्षक, शिक्षिका र शिक्षण संस्थाका आफ्नै जिम्मेवारी त छँदै छ, तर घरपरिवारबाट प्राप्त हुने मूल्यमान्यता र संस्कार त्यो भन्दा कयौँ गुणा बढी महत्त्वपूर्ण हुन्छ ।
आजका पुस्ता प्रविधि र ‘एआई’ को युगमा बाँचिरहेका छन् । इन्टरनेटको पहुँच अधिकांश घर-घरमा पुगिसकेको अवस्था छ । त्यसैले, आजका विद्यार्थीहरूलाई ज्ञान आर्जन गर्नका लागि केवल अभिभावक वा शिक्षक/शिक्षिकाको मुख ताकिरहनुपर्ने अवस्था छैन । आजको मुख्य आवश्यकता भनेको ज्ञान प्राप्त गर्ने सही माध्यम पहिल्याउने र सही तरिकाले त्यसको प्रयोग गर्न सिकाउनु हो ।
धन, सम्पत्ति त फगत एउटा साधन मात्र हो, जो जीवन चलाउन आवश्यक छ । तर, धन, सम्पत्ति र वैभव प्राप्तिको भागदौडबाट समय व्यवस्थापन गरी आफ्ना सन्ततिको भविष्य कता जादैछ भन्ने कुराको लेखाजोखा राख्नु अभिभावकको कर्तव्य हो ।
माया, आफ्नोपन, खुला संवाद र एकअर्काको ख्याल राख्ने प्रवृत्तिले उनीहरूलाई सामीप्यतामा रहन सहज बनाउँछ । आफ्ना सन्ततिको उज्ज्वल भविष्य निर्माण गर्ने बाटो तय गर्ने अहम् कर्तव्यको बोझमा एउटा अभिभावक सधैं रहिरहन्छ ।
जतिसुकै वैभव,सुखशान्ति भए पनि, आफ्ना सन्तति सही बाटोमा छैनन् भने त्यो वैभव र सुखशान्तिको मूल्य शून्य बराबर हुन्छ । त्यसैले जसरी माटोका भाँडा बनाउँदा चाहेअनुसारको आकार दिन सकिन्छ, त्यसैगरी प्रत्येक अभिभावकहरूले आफ्ना सन्ततिलाई कस्तो आकार दिने भन्ने पाटो आफ्नो अहम् कर्तव्यको रुपमा लिनुपर्छ । सन्तान प्राप्त गर्दा आमाबुबा त बन्न सकिएला तर सफल अभिभावक बन्न आफ्ना न्युनतम कर्तव्यको बोध हुनपनि जरुरी छ ।
भनिन्छ– ‘संगत गुनाको फल’ । घरायसी वातावरण, परिवेश, समाज र साथीभाइका सामीप्यताले उनीहरू कुन बाटोमा जादैछन् भन्ने कुरा तय गर्छ । थाहै नपाई धूम्रपान, मद्यपान र लागुऔषधकफ लतमा पर्न पर्ने चुनौती पनि हुन्छ ।
त्यसैले निगरानीको प्रथम जिम्मेवारी अभिभावककै काधमा आउँछ, बाँकी जिम्मेवारी त शिक्षण संस्थाको रहन्छ नै ।
घरको उचित वातावरण र सही संस्कार प्राप्त गर्नु प्रत्येक सन्ततिको अधिकार हो ।पढ्ने, लेख्ने र उनीहरूका अधिकारको संरक्षण गर्दै उज्ज्वल भविष्य निर्माणको बाटो देखाइदिने कर्तव्य अभिभावक र शिक्षण संस्थाकै हो ।
शिक्षण संस्थाको शिक्षा महत्वपूर्ण भए पनि घरबाट पाइने पारिवारिक संस्कार र मूल्यमान्यता नै बालबालिकाको चरित्र निर्माणको मुख्य आधार हो । एआई र इन्टरनेटको युगमा बालबालिकालाई सूचनाको अभाव छैन, छ त केवल सही र गलत छुट्ट्याउने तथा प्रविधिको सही उपयोग गर्ने मार्गदर्शनको मात्र खाँचो ।
(लेखक पूजा खड्का गोरखा मोडेल सेकेन्डरी स्कुल, लमही-६,दाङमा कार्यरत शिक्षिका हुन् ।)
प्रतिक्रिया 4