News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुरेन्द्र चौधरीले राष्ट्रिय अनुसन्धान विभागको पुरानो संरचना खारेज गरी नयाँ संयन्त्र बनाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
- सांसद चौधरीले हालको गुप्तचर संस्था दलहरूको भर्ती केन्द्र बनेको र यसको डीएनए नै दूषित भइसकेको भन्दै सुधार हुन नसक्ने दाबी गरे।
- उनले हालको विभागलाई गृह मन्त्रालयमै राखेर प्रधानमन्त्री कार्यालय मातहत मेरिटोक्रेसी र आधुनिक प्रविधिमा आधारित छुट्टै नयाँ निकाय स्थापना गर्नुपर्ने माग राखे।
१९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुरेन्द्र चौधरीले प्रधानमन्त्री बालेन्द्र शाहलाई राष्ट्रिय अनुसन्धान विभागलाई छाडेर नयाँ संरचना बनाउन सुझाव दिएका छन् ।
राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राख्ने गरी प्रस्तुत विधेयकमाथिको छलफलमा सांसद चौधरीले यस्तो बताएका हुन् ।
यो विधेयक प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा दर्ता गरेका हुन् । जसमाथि प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफल हुँदैछ ।
‘यो संस्था भनेको विगतमा दलहरूका भर्ती केन्द्र हुन्’ सोमबारको छलफलमा बोल्दै सांसद चौधरीले ‘पहिला यो संस्थालाई डिसभान्टेजल गर्नुस् । नयाँ ढंगले सोच्ने हो भने यसको अर्थ काम लाग्छ ।’
आफू पनि कुनै बेला नेपाल विद्यार्थी संघ (नेविसंघ) मा रहेको उल्लेख गर्दै उनले भने, ‘नेविसंघको भर्ती केन्द्र बन्यो कुनै बेला यो । दशकौं गयो । अहिले त्यही अफिसर हुनु भएको होला ।’
पछि अन्य दलहरू आए र तिनका विद्यार्थी संगठनका कार्यकर्ता भर्ती केन्द्र भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री बालेनलाई अहिलेको गुप्तचर छाडेर नयाँ संरचना बनाउन सुझाव दिएका हुन् ।
‘अब यो नहोस् । नहुनका लागि यसको डिएनए त बिग्रिसक्यो त’ प्रधानमन्त्रीलाई उनको सुझाव छ, ‘इन्फेक्टेड डीएनए लिएर आज त्यसलाई प्रधानमन्त्री कार्यालयमा लैजानुस् । इन्फेक्टेड डिएनए छ त्यो, बदल्नेवाला छैन ।’
बरु नयाँ संरचना बनाउँदा उपयुक्त हुने उनको राय छ ।
‘यदि इन्टेलिजेन्स डिपार्टमेन्टलाई साच्चिकै बलियो बनाउने हो भने यो अहिले एजिटेज इन्फेक्टेड छोडिदिऔं । नयाँ फर्म गर्यो भने प्रधानमन्त्री कार्यालयमा पेवर आईक्यू, मेरिटोक्रेसी हुन्छ’ उनको आग्रह छ ।
यसको लागि राज्यले आधुनिक प्रविधि, ट्रेनिङ र लिगल डिमार्केसन, समन्वय संयन्त्रहरू लगायत सम्पूर्ण विषय छुट्याएर छुट्टै निकाय बनाएर प्रधानमन्त्री कार्यालय मातहत राखे परिणाम आउने उनले बताए ।
अन्यथा, अहिलेको गुप्तचरबाट परिणाम लिन गाह्रो हुने उनले बताए ।
‘अहिलेको यो इन्फेक्टेड डीएनए हो । यो सुध्रनेवाला छैन,’ उनले थपे, ‘म आफैँ थिए नेविसंघमा । मैले पनि कुनै बेला दशौं जना नेविसंघका विद्यार्थीहरूलाई गृहमन्त्रीकहाँ लग्यो, भर्ना गर्यो । तोक आदेशमा भर्ना भएको छ । अनि त्यो संस्थाले काम गर्छ आजको दिनमा ?’
अहिलेको गृुप्तचरलाई फेरि बनाउँछु भन्नेतिर नलागेर नयाँ बनाउन सुझाव दिएका हुन् । अहिलेको गुप्तचरलाई गृह मन्त्रालय मातहत नै राखिदिएर नयाँ संरचना बनाएर प्रधानमन्त्री मातहत राख्ने गरी नयाँ संरचना बनाउन सुझाव दिएका हुन् ।
‘अहिले पनि गएको चुनावको दश वटा उदाहरण दिन सक्छु । कुन उम्मेदवारको कति भोट आउँदैछ भनेर त्यसलाई कहाँ हराउनुपर्छ भनेर दलका नेतालाई सूचना दिने इन्टेलिजेन्स डिपार्टमेन्ट हो यो । यो नाइँ नभन्नुहोला तपाईंहरू कसैले,’ सांसद चौधरीले भने, ‘अहिले पनि त्यो स्टिल झण्डा छ । अहिले कसैले पनि फलानाको लोकेशन देउ भने लोकेशन रिर्पोट गरिदिन्छ आफू नजिकको पार्टीहरूलाई । यस्तो खाले इन्टेलिजेन्स छ ।’
यस्तो तर्क गर्दै उनले पटक–पटक इन्टेलिजेन्सको नयाँ संरचना बनाउन प्रधानमन्त्री बालेनलाई पटक–पटक सुझाव दिए ।
प्रतिक्रिया 4