हामीलाई कुनै नामको साँघुरो कोठामा बन्द नगर।
हामी त त्यो हावा हौँ
जसले हिमालको शीतलता बोकेर
तराईका सुनौला फाँटसम्म
स्नेहको हरियाली छर्छ।
हामीलाई कुनै धर्मको पर्खालभित्र कैद नगर।
हिन्दु, मुस्लिम, बौद्ध, इसाई, किराँतका
साँघुरा घेराभित्र टुक्र्याएर नहेर।
किनकि हामीले देखेका छौँ—
पशुपतिको आरतीबाट उठेको धुवाँ
र मस्जिदको अजानबाट उठेको स्वर
एउटै नीलो आकाशको काखमा
निःशब्द आलिङ्गनमा विलिन भएका।
हामीले गुम्बाका प्रार्थना–चक्रहरू
अनन्त करुणाको लयमा घुमेका देखेका छौँ।
हामीले चर्चका घण्टीहरू
समयसँगै आशाको धुन बजाएको सुनेका छौँ।
तर उज्यालो–
कुनै एउटै ढोकाबाट मात्र
कहिल्यै उदाएको देखेको छैन।
हामीलाई जातका अक्षरले नलेख।
किनकि पहाडमा फुलेको गुराँस
र मधेसमा झुलेको धानको बाला
एकअर्काको थर सोध्दैनन् ।
कोशी, गण्डकी, कर्णालीले पनि
आफ्नो मूलको अहंकार बोक्दैनन्।
हाम्रो परिचय
हाम्रो थरभन्दा पुरानो छ।
हाम्रो इतिहास
हाम्रो जातभन्दा विशाल छ।
यो माटोले हामीलाई सिकाएको पहिलो अक्षर
घृणा थिएन
प्रेम थियो।
यही माटोमा
लुम्बिनीले करुणालाई जन्म दियो,
जनकपुरले मर्यादालाई,
पशुपतिनाथले सहिष्णुताको मौन दीक्षा दिए,
सगरमाथाले मानिसको शिरभन्दा पहिले
उसको स्वाभिमान अग्लो हुनुपर्छ
भनेर आकाशलाई सम्झायो।
यही माटोले
सीताको धैर्य,
बुद्धको करुणा,
भृकुटीको मैत्री,
अरनिकोको सिर्जना,
पृथ्वी नारायणको एकता
र वीर गोर्खालीको साहस
संसारभरि उज्यालो बनेर फैलायो ।
त्यही उज्यालो आज पनि
हिमालको हिउँमा उज्यालो भएर फैलिएको छ,
नदीका छालहरूमा गुञ्जिरहेको छ,
बालकका निर्मल आँखाहरूमा
भोलिको आशा भएर चम्किरहेको छ।
तर पनि किन हामी आफैँ
आफ्नो आकाश च्यात्दैछौँ ?
हामी त
एउटै माटोका सन्तान हौँ।
हाम्रो रगतमा
हिमालको शीतलता पनि बग्छ,
पहाडको सुवास पनि,
र तराईको उष्णता पनि ।
हामी जहाँ उभिन्छौँ,
त्यहाँ नेपाल उभिएको हुन्छ ।
हामी जहाँ श्वास फेर्छौँ,
त्यहाँ नेपालीपनले श्वास फेरिरहेको हुन्छ।
त्यसैले–
हामीबाट धर्म नखोस,
किनकि धर्मभन्दा ठूलो
मानवता छ ।
हामीबाट भाषा नखोस,
किनकि भाषाभन्दा ठूलो
आत्मीयता छ ।
हामीबाट इतिहास नखोस,
किनकि इतिहासभन्दा ठूलो
भोलिको साझा सपना छ ।
र धर्मका नाममा,
भाषाका नाममा,
जातका नाममा,
रङका नाममा-
हाम्रो देश त झन् कहिल्यै नखोस् ।
किनकि देश हराएपछि
न त परिचय बाँच्छ,
न स्मृति,
न भविष्य।
अब कसैले हाम्रो परिचय सोधे,
गर्वले यति मात्र भन्न सकौँ—
हामी नेपाली हौँ।
नेपाली भएरै अग्लिरहौँ
मानौँ हामी आफैँ हौँ हिमाल ।
जब हाम्रा आँखा अन्तिमपटक बन्द हुनेछन्
त्यसबेला हाम्रो सिरानी होस् हाम्रै नेपाल।
प्रतिक्रिया 4