+
+
Shares

लाल सागरमा भारतीय झण्डा भएको जहाजमाथि आक्रमण, १३ भारतीय नागरिकको उद्धार

हुथी धम्कीपछि ६ साउदी सुपरट्यांकरले बदले समुद्री मार्ग

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते ६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यमनको लाल सागर तटमा भारतीय झण्डा भएको एमएसी फैजे नूर–ए–औलिया जहाजमाथि हुथी विद्रोहीले आत्मघाती डुंगामार्फत आक्रमण गर्दा जहाज डुबेको छ ।
  • आक्रमणमा परेको उक्त जहाजमा सवार सबै १३ जना भारतीय नागरिकलाई सकुशल उद्धार गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
  • हुथी विद्रोहीको आक्रमणको धम्कीपछि ६ वटा साउदी सुपरट्यांकरले लाल सागरको छोटो मार्ग छोडेर अफ्रिकाको दक्षिणी भाग हुँदै लामो समुद्री मार्ग रोजेका छन् ।

२० साउन, काठमाडौं । यमनको तट नजिकै लाल सागरमा भारतीय झण्डा भएको व्यावसायिक जहाजमाथि हमला भएको छ ।

इरानसमर्थित हुथी विद्रोहीले विस्फोटक पदार्थ बोकेको आत्मघाती डुंगामार्फत जहाजमा आक्रमण गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

हमलापछि जहाज डुबेको छ । तर जहाजमा सवार सबै १३ जना भारतीय नागरिकलाई भने सुरक्षित उद्धार गरिएको बताइएको छ ।

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति निकालेर जहाजमाथि भएको हमलाको निन्दा गरेको छ । मन्त्रालयका अनुसार साउदी अरबको राजधानी रियादस्थित भारतीय दूतावासले घटनाक्रमलाई निरन्तर निगरानी गरिरहेको छ । साथै चालक दलका सदस्यहरूको सुरक्षाका लागि यमनका सम्बन्धित अधिकारीसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

आक्रमणमा परेको जहाजको नाम ‘एमएसभी फैजे नूर–ए–औलिया’ रहेको बताइएको छ ।

यसअघि गत फागुनमा तेल बोकेर भारतको गुजराततर्फ आइरहेको थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ नामको एक जहाजमा  आक्रमण भएको थियो ।

यसैगरी  गत असारमा ओमानको तट नजिक ‘जीएफएस ग्यालेक्सी’ नामक अर्को एक व्यावसायिक जहाजमाथि पनि आक्रमण हुँदा सो जहाजमा रहेका ११ भारतीयमध्ये १० जनाको उद्धार गरिएको थियो । अर्का एकजना वेपत्ता भएका थिए ।

हुथी धम्कीपछि ६ साउदी सुपरट्यांकरले बदले समुद्री मार्ग

यसैबीच यमनका हुथी विद्रोहीले आक्रमणको धम्की दिएपछि ६ वटा साउदी सुपरट्यांकरले आफ्नो समुद्री मार्ग परिवर्तन गरेका छन् ।

ती ट्यांकरले लाल सागर र बाब अल–मन्देब जलडमरूमध्य हुँदै जाने छोटो मार्गको सट्टा अफ्रिकाको दक्षिणी भाग हुँदै जाने लामो समुद्री मार्ग रोजेका छन् ।

जहाजमाथि आक्रमण र समुद्री मार्ग परिवर्तनका घटनासँगै लाल सागर क्षेत्रमा व्यावसायिक जहाजको सुरक्षालाई लिएर थप चिन्ता बढेको छ । पछिल्ला घटनाले महत्वपूर्ण अन्तर्राष्ट्रिय समुद्री मार्गमा बढ्दो सुरक्षा जोखिमलाई समेत उजागर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?