+
+
Shares

उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक बनाएपछि म्याङ्लुङमा विवाद, कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

तेह्रथुमको म्याङ्लुङ नगरपालिकाका प्रमुखले उपप्रमुख उपस्थित हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक प्रमुख तोकेपछि विवाद उत्पन्न भएको छ । उच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिएको छ ।

ईश्वर थापा ईश्वर थापा
२०८३ साउन २० गते ९:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुमको म्याङ्लुङ नगरपालिकाका प्रमुखले उपप्रमुख उपस्थित हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक प्रमुख तोकेपछि विवाद उत्पन्न भएको छ ।
  • उच्च अदालतको धनकुटा इजलासले स्थानीय सरकार सञ्चालन ऐनविपरीत गरिएको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
  • न्यायाधीश मीना गौतम सेडाइँको एकल इजलासले दुवै पक्षलाई साउन २९ गते छलफलका लागि अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

२० साउन, धनकुटा । तेह्रथुमको म्याङ्लुङ नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले उपप्रमुख उपस्थित हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिएपछि विवाद उत्पन्न भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरीत कार्यवाहक तोकिएको भन्दै उपप्रमुख जमुनादेवी सुवेदी उच्च अदालत पुगेपछि अदालतले उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

नगरप्रमुख तुम्बाहाम्फे भारत भ्रमणमा जानुअघि गत बिहीबार कार्यवाहकसम्बन्धी पत्र तयार गरी शुक्रबारदेखि लागू हुने गरी वडा नं. ३ का अध्यक्ष मिननाथ दाहाललाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिएका थिए । उनी शुक्रबारदेखि १० दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

नगरप्रमुख तुम्बाहाम्फे कृषि, प्रविधि, शिक्षा, पर्यटन, स्वास्थ्य, फोहोर व्यवस्थापन, श्रमिक तथा सीप विकास र पूर्वाधार विकासलगायतका विषयको अध्ययनका लागि भारत गएको बताइएको छ । उनीसहित नेपालका चार जिल्लाका प्रतिनिधि दिल्ली, हैदरावादलगायतका स्थानमा सञ्चालन भइरहेका कार्यक्रममा सहभागी छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ (४) को उपदफा (क) को खण्ड १२ अनुसार नगरप्रमुख वा गाउँपालिका अध्यक्ष सात दिनभन्दा बढी समय स्थानीय तहमा अनुपस्थित हुने अवस्थामा उपप्रमुख वा उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने व्यवस्था छ । उपप्रमुख वा उपाध्यक्ष पनि अनुपस्थित भएमा मात्र कार्यपालिकाका कुनै सदस्यलाई कार्यवाहकको जिम्मेवारी दिन सकिने कानुनी प्रावधान रहेको छ ।

यो व्यवस्था विपरीत निर्णय गरिएको भन्दै उपप्रमुख सुवेदीले सोमबार उच्च अदालत विराटनगरको धनकुटा इजलासमा रिट दायर गरेकी थिइन् ।

यस विषयमा प्रतिक्रिया लिन नगरप्रमुख तुम्बाहाम्फेसँग सम्पर्क गर्ने प्रयास गरिए पनि उनी विदेश भ्रमणमा रहेकाले सम्पर्क हुन सकेन ।

नगरप्रमुख तुम्बाहाम्फे, उपप्रमुख सुवेदी र वडा अध्यक्ष दाहाल तीनै जना गत स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित भएका हुन् ।

‘मलाई जानकारी नै गराइएन’ : उपप्रमुख सुवेदी

उपप्रमुख जमुनादेवी सुवेदीले नगरप्रमुखले बिहीबार नै वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिने पत्र तयार गराएको जानकारी आफूले शुक्रबार मात्रै पाएको बताइन् ।

उनका अनुसार शुक्रबार नगरप्रमुखलाई विदाइ गर्न नगरपालिका पुग्दा उनी प्रस्थान गरिसकेका थिए । त्यसपछि कर्मचारीमार्फत वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिइएको जानकारी पाएको उनले बताइन् ।

‘कर्मचारीहरूले नगरप्रमुखको निर्देशनअनुसार पत्र तयार गरिएको हो, यसमा हाम्रो कुनै दोष छैन भन्नुभयो,’ सुवेदीले भनिन् ।

उनका अनुसार सम्बन्धित वडा अध्यक्षले पनि नगरप्रमुखले फोनमार्फत ‘कार्यभार छाडेको छु, राम्रोसँग गर्नु’ भनेको जानकारी दिएका थिए ।

आफूलाई कुनै जानकारी नदिई र सहमति नलिई कार्यवाहक तोकिनु ऐनविपरीत मात्र नभई उपप्रमुख पदको संवैधानिक तथा संस्थागत भूमिकामाथिको प्रहार भएको भन्दै उनी उच्च अदालत पुगेकी थिइन् ।

आवश्यक कागजात र प्रमाण संकलन गरी सोमबार उच्च अदालत विराटनगरको धनकुटा इजलासमा रिट दायर गरेको र मंगलबार अदालतबाट अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको उनले जानकारी दिइन् ।

‘यो व्यक्तिगत विवाद होइन । स्थानीय सरकारको संस्थागत मर्यादा र कानुनी शासनसँग जोडिएको विषय हो । यदि यस्तो अभ्यास रोकिएन भने भविष्यमा गलत नजिर बस्नेछ,’ उनले भनिन् ।

दुवै पक्षलाई साउन २९ गते छलफलमा अदालत बोलाइयो

उच्च अदालत विराटनगरको धनकुटा इजलासले सोमबार दर्ता भएको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै मंगलबार विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

साथै, दुवै पक्षलाई साउन २९ गते छलफलका लागि अदालतमा उपस्थित हुन निर्देशन दिएको छ ।

न्यायाधीश मीना गौतम सेडाइँको एकल इजलासले अन्तरिम आदेश दिने वा नदिने विषयमा अन्तिम निर्णय नभएसम्म स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ (४) को उपदफा (क) को खण्ड १२ विपरीत वडा अध्यक्षलाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतको आदेश अनुसार अघि बढ्छु : वडा अध्यक्ष दाहाल

कार्यवाहक नगरप्रमुखको जिम्मेवारी पाएका वडा नं. ३ का अध्यक्ष मिननाथ दाहालले उच्च अदालतले कार्यवाहकसम्बन्धी निर्णय कार्यान्वयन नगर्न आदेश दिएको विषयमा आफूले रिटको प्रतिलिपि हेरेको र अब अदालतको आदेशअनुसार नै अघि बढ्ने बताए ।

उपप्रमुख नगरपालिकामै उपस्थित रहेको जानकारी आफूलाई नभएको र नगरप्रमुखले कार्यवाहक तोकिएको पत्र दिएपछि सो पत्र बुझेको बताए । ‘नगरप्रमुखले दिएको जिम्मेवारीअनुसार मात्रै मैले पत्र बुझेको हुँ,’ उनले भने ।

नगरप्रमुख र उपप्रमुखबीच सम्बन्ध बिग्रिएको भन्ने विषयमा आफूलाई जानकारी नभएको बताउँदै उनले कार्यपालिका बैठकमा सबै सामान्य देखिने गरेको बताए ।

दाहालले उपप्रमुख उपस्थित भएपछि जिम्मेवारी स्वत: उपप्रमुखमै जाने र आफूले हालसम्म कार्यवाहक नगरप्रमुखका रूपमा कुनै नीतिगत निर्णय वा महत्वपूर्ण प्रशासनिक काम नगरेको पनि बताए ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?