News Summary
Generated by OK AI. Editorially reviewed.- नेसनल पेमेन्ट स्विच अन्तर्गतको रिटेल पेमेन्ट स्विचमार्फत २०८३ असार महिनामा मात्र १२ खर्ब रुपैयाँभन्दा बढीको कारोबार फस्र्यौट भएको छ ।
- आर्थिक वर्ष २०८२/८३ मा आरपीएसमार्फत ९३ खर्ब रुपैयाँ बराबरको रियल–टाइम कारोबार भएको नेपाल क्लियरिङ हाउसले जनाएको छ ।
- कम्पनीले भनेको छ, ‘यसले नेपालमा विकसित हुँदै गएको डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन भुक्तानी पूर्वाधारको बढ्दो भूमिकालाई उजागर गरेको छ ।’
२० साउन, काठमाडौं । नेसनल पेमेन्ट स्विच अन्तर्गत सञ्चालनमा रहेको रिटेल पेमेन्ट स्विच (आरपीएस)ले २०८३ साल असार महिनामा मात्र १२ खर्ब भन्दा बढीको कारोबार फर्स्यौट गरेको छ ।
देशभर डिजिटल भुक्तानी तीव्र गतिमा वृद्धि भइरहेको हालको परिपेक्षमा यसले नेपाललाई रियल टाइम पेमेन्टको क्षेत्रमा उल्लेख्य उपलब्धि मान्न सकिने नेपाल क्लियरिङ हाउसले जनाएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा आरपीएस मार्फत ९३ खर्ब बराबरका रियल–टाइम कारोबारहरू फस्र्यौट भएको छ, जुन सोही अवधिको तुलनामा चेकमार्फत भएका कारोबारको कुल रकम भन्दा पनि बढी हो ।
‘यसले व्यक्ति, व्यवसाय, वित्तीय सेवा प्रदायक तथा सरकारी निकायहरूबीच अन्तरआवद्ध डिजिटल भुक्तानी प्रणाली प्रतिको बढ्दो विश्वास झल्काउनुका साथै नेपालमा विकसित हुँदै गएको डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन भुक्तानी पूर्वाधारको बढ्दो भूमिकालाई समेत उजागर गरेको छ’ कम्पनीले विज्ञप्तिमा भनेको छ ‘यस उपलब्धिले डिजिटल कारोबारको संख्यामा भएको वृद्धिलाई झल्काउनुका साथै नेपालको अन्तरआवद्ध भुक्तानी प्रणालीको परिपक्तालाई पनि प्रतिबिम्बित गरेको छ ।’
नोभेम्बर २०२१ देखि सञ्चालनमा आएको आरपीएस, नेसनल पेमेन्ट स्विचको एक महत्वपूर्ण हिस्साको रुपमा एनसीएचएलले नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप कार्यान्वयन तथा सञ्चालन गर्दै आएको हो ।
साझा राष्ट्रिय भुक्तानी पूर्वाधारका रूपमा विकास गरिएको आरपीएसले बैंक, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक (पीएसओ), भुक्तानी प्रणाली सञ्चालक (पीएसपी) तथा सरकारी निकायहरूबीच सुरक्षित, रियल–टाइम तथा बैंक खातामा आधारित भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।
हाल आरपीएसले नेपालको डिजिटल अर्थतन्त्रलाई सशक्त बनाउने विभिन्न अन्तरआवद्ध भुक्तानी सेवाहरूका लागि एकीकृत कारोबार प्रोसेसिङ प्लेटफर्मका रूपमा काम गर्दै आइरहेको छ ।
यसअन्तर्गत रियल–टाइम अकाउन्ट–टु–अकाउन्ट ट्रान्स्फर, अन्तरआवद्ध नेपालपे क्यूआर भुक्तानी, एनपीआई मार्फत मोबाइल बैंकिङ तथा डिजिटल वालेटबाट हुने भुक्तानी, अनलाइन मर्चेन्ट पेमेन्ट, बिलर गेटवेमार्फत युटिलिटी तथा बिल भुक्तानी, नेपालपे रिक्वेस्ट मार्फत रिक्वेस्ट–टु–पे, नेपाल पे इन्स्ट्यान्टमार्फत भीपीएमा आधारित ट्रान्स्फर, सुरक्षित एकाउन्ट टोकेनिजेसन, नेपाल पे ट्याप मार्फत एनएफसी आधारित एकाउन्ट टु एकाउन्ट पेमेन्ट तथा आरटीजीएस प्रणालीसँग इन्टिग्रेट भएको मल्टील्याटरल नेट सेटलमेन्ट लगायतका सेवाहरू उपलब्ध रहेका छन् ।
एनपीएसले यस्ता विभिन्न भुक्तानी इस्ट्रुमेन्टलाई एउटै साझा पूर्वाधारमा इन्टिग्रेट गरी छुट्टाछुट्टै भुक्तानी नेटवर्कहरूमा जोडिनुपर्ने आवश्यकता हटाउनुका साथै समग्र वित्तीय प्रणालीमा नवीनतम प्रयोगलाई प्रोत्साहन गर्दै आएको छ ।
प्रतिक्रिया 4