News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको नेपालयमा आयोजित 'पलेँटी' कार्यक्रममा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र उनका छोरा यमन श्रेष्ठले साङ्गीतिक प्रस्तुति दिएका छन् ।
- दुई घण्टा चलेको कार्यक्रममा बाबु-छोराले आफ्ना लोकप्रिय गीत, हाँस्यव्यङ्ग्य र संस्मरणहरू सुनाउँदै दर्शकलाई मनोरञ्जन गराएका थिए ।
- अगष्ट महिनाको पलेँटी कार्यक्रममा चर्चित कलाकार तथा गीतकार नीर शाह प्रस्तुत हुने जानकारी आयोजकले दिएको छ ।
काठमाडौं । कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ र उनका छोरा कलाकार यमनको ‘पलेँटी’ सम्पन्न भएको छ ।
१८ वर्षअघि पनि श्रेष्ठ यो कार्यक्रममा एकलरुपमा गुञ्जिएका थिए । यसपटक भने छोरा यमनसँगै उनी प्रस्तुत भए । २ घण्टासम्म चलेको कार्यक्रममा मदनकृष्ण र छोराको सिर्जनाबाहेक कवि दुर्गालाल श्रेष्ठ, नीर शाह, दिनेश अधिकारी, कमल मैनाली, राजनराज शिवाकोटीका शब्द–रचना समेटिएका थिए ।
प्रस्तुत गीतमा न्हयू बज्राचार्य, शक्तिबल्लभ, हरि लम्साल, राजनराज सिवाकोटीले भरेका धुनका साथै अधिकांश धुन मदनकृष्ण र यमन श्रेष्ठकै सृजना थिए । ‘पलेँटी’ सुरुवात मदनकृष्णको लोकप्रिय गीत ‘अरबौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे’ बाट भएको थियो ।
पहिलो गीतको प्रस्तुतिपछि कार्यक्रम सञ्चालकले मदनकृष्णको स्वास्थ्यप्रति इंगित गर्दै ‘यसपालीको पलेँटीमा हामी मदनदाइले कस्तो गाउनुहुन्छ भनेर उपस्थित भएकाभन्दा पनि उहाँको सक्रियताको सेलिब्रेसनको लागि उपस्थित भएका हौ…’ भन्दा दर्शकको तालीले कार्यक्रम थलो जीवन्त बन्यो ।
दोस्रो प्रस्तुतिमा यमनले ‘जिन्दगीमा सायद मैले जिउनै जानिनँ’ बोलको गीत सुनाएका थिए । मदनकृष्णको शब्द रहेको यस गीतको प्रस्तुति लगत्तै उनले आफ्नै रचनामा रहेको ‘नौलो बस्ती देखेँ, जहाँ कोही मान्छे छैन’ बोलको गीत सुनाएका थिए ।
कार्यक्रमको पहिलो चरणमा गम्भीर खालका गीत समावेश गरिएका थिए तर पनि कार्यक्रम सञ्चालकको जिज्ञासासँगसँगै मदनकृष्ण श्रेष्ठ र यमन दुबै ठट्यौली पारामा आफ्नो संस्मरण सुनाउँथे र हल हाँसोले गुन्जायमान बन्न पुग्थ्यो ।
कार्यक्रमको चौंथो र पाँचौं प्रस्तुतिमा मदनकृष्णले आफ्नै शब्द संगीतमा रहेको ‘तिमीले भन्दा धेरै माया दिने’ र राजनराज शिवाकोटीको ‘बिर्सी दे भन्छौ मायालु’ बोलका गीत सुनाएका थिए ।
छैठौँ कोसेलीमा गीतकार कमल मैनालीको रचना ‘हेर्दा कतै घाउ छैन, नदुखेको ठाउँ छैन’ बोलको गीत रहेको थियो । जसलाई आफैंले भरेको धुनमा यमनले प्रस्तुत गरेका थिए ।
यसपछि कार्यक्रममा मदनकृष्णको जीवनसँग मेल खाने गम्भीर प्रकृतिको काव्यात्मक गीत प्रस्तुत भएको थियो । कवि तथा गीतकार दिनेश अधिकारीले लेखेको यस गीतमा संगीतकार हरि लम्सालले धुन भरेका छन् ।
‘पहाड भो मलाई यो उमेर काट्न,
नसक्ने भएछु तिमी बिना बाँच्न…’
यस गीतमा काव्य वाचन शैलीको प्रयोग गरिएको छ । कार्यक्रममा मदनकृष्णले कविता अंश वाचन गर्दा अधिकांश दर्शकका गह रसाएका देखिन्थे ।
कार्यक्रमको मध्यभागमा आइपुग्दा यमनले गीतकार नीर शाहले रचना गरेको र आफैले धुन भरेको ‘यो मन बदल्न चाहन्न, एक्लो पन बदल्न चाहन्न’ बोलको गीत सुनाएका थिए । त्यसपछि यमनले नै दिनेश अधिकारीले रचना गरेको चलचित्र ‘फिलिम’का निम्ति बनेको तर प्राविधिक कारणले फिलिममा नसमेटिएको ‘मान्छेले किन मान्छेलाई मार्छ, ताकेर निशाना’ बोलको गीत गाएका थिए ।
कार्यक्रमको मध्यभागपछि प्रस्तुत भएका गीतमा चाहिँ प्रेम, उमङ्ग, हास्य र देशप्रेमको झलक पाइन्थ्यो । यस क्रमलाई अघि बढाउँदै मदनकृष्णले ‘खोलावारी खोलापारी पिपल र बर, हावा चल्यो पात हल्यो माया वर वर’ र ’म ‘तिम्रो जन्मदिनमा, हावा बनी, याद बनी, शुभकामना लिई आउनेछु’ बोलका गीत प्रस्तुत गरेका थिए ।
यसक्रममा मदनकृष्ण श्रेष्ठले सुदूर विगतमा आफूले अल इन्डिया रेडियो र दूरदर्शनमा समेत गीत रेकर्ड र छायांकन गरेको सम्झना गरेका थिए । उनले दूरदर्शनमा गीत छायांकन गर्दा दूतावासका कर्मचारीको दौरा सुरुवाल मागेर पहिरिनु परेको सम्झना गर्दै सुरुवालको घुँडामा प्वाल परेको सन्दर्भ कोट्याउँदा दर्शकवृन्दमा हाँसोको फोहोरा फुत्केको थियो ।
कार्यक्रमको पछिल्लो चरणमा रिदमिक, व्यङ्ग्यात्मक र हास्यप्रधान गीतको बाहुल्यता थियो । यस क्रममा यमन श्रेष्ठले ‘रिम्दै आए घुम्दै आए अमेरिकामा’ बोलको गीतमार्फत अमेरिका बसाइको अनुभव अभिव्यक्त गरेका थिए । उनले ‘मुख र कान भेट हो कि’ शीर्षकको गीतमार्फत भने नेपाली समाजमा रहेको कुरा काट्ने प्रवृत्तिमाथि व्यङ्ग्य कसेका थिए ।
कार्यक्रमको १५औं प्रस्तुतिमा मदनकृष्णको गायन थियो । राजनराज शिवाकोटीको सृजना ’फुलबुट्टे सारी सपक्कै पारी, पछ्यौरी मलमलको’ गीत प्रस्तुत गर्दा दर्शकका ओठ पनि चलमलाइरहेका देखिन्थे । यसपछि यमनले पुरानो लोकप्रिय धुनमा आधारित रहेर आफ्नो बायोग्राफीकल गीत ‘हिमालको काखमा छ, मेरो सानो गाउँ, मदनकृष्णको छोरा हुँ म, यमन मेरो नाउँ’ लाई हास्य पारामा सुनाएका थिए ।
कार्यक्रमको समापन कवि दुर्गालाल श्रेष्ठले रचना गरेको र न्ह्यू बज्राचार्यले धुन भरेको ‘सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल’ बाट भएको थियो । दुबै दिनका कार्यक्रमलाई दर्शकले ‘स्ट्याण्डिङ ओभेसन’ प्रदर्शन गरेका थिए ।
हाँसो, प्रेम र करुणाले भरिपूर्ण यसपालिको पलेँटीमा मदनकृष्णको बाल्यकालदेखि आजसम्मका संस्मरणलाई समेट्ने प्रयास गरिएको थियो । साथै छोरा यमनको सांगीतिक प्रतिभालाई पनि उजागर गर्ने प्रयत्न गरिएको थियो ।
लेखक अमृता लम्सालले आफ्नो फेसबुकमार्फत यसपालिको पलेँटीमा सहभागी बन्दाको अनुभूति व्यक्त गर्दै लेखेकी छिन्, ‘बाबु–छोराको प्रस्तुतिमा हाँस्य, करुणा, पीडा, विस्मात, सबै रसको संगम थियो । हामी खित्का छाडेर हाँस्यौँ । रमाउँदै ताली बजायौं । झरेको आँसु पुस्दै बस्यौँ ।’
त्यस्तै मानवअधिकारकर्मी मोहना अन्सारीले पहिलोपटक पलेँटीमा आएर गीत सुन्न पाएको जनाउँदै फेसबुकमा, ‘आदरणीय मदनकृष्ण श्रेष्ठज्यू एवं यमनको मनमोहक गायन पहिलो पटक प्रत्यक्ष सुन्ने सौभाग्य प्राप्त भयो’ लेखेकी छिन् ।
वाद्यवादनतर्फ किबोर्डमा दिनेशराज रेग्मी, बाँसुरीमा मिलन घिमिरे, लिड र रिदम गिटारमा कृपेश लोहनी, बेस गिटारमा सुदीप खत्री, तबलामा मिलेश तण्डुकार र प्रकसनमा सुन्दर कुमार महर्जनको सहभागिता थियो । पलेँटी अङ्ग्रेजी महिनाको सप्ताहन्तमा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम हो ।
अगष्ट महिनाको पलेँटीमा (२८ र २९ तारिक) नीर शाह प्रस्तुत हुने भएका छन् । शाह अभिनय क्षेत्रका चर्चित कलाकार हुन् । साथै उनी गीति सृजनामा पनि उल्लेख्य योगदान गर्दै आएका लोकप्रिय गीतकार हुन् ।
शाहले रचेका ’कहिलेकाँही म हाँस्छु’, ‘पर्खी बसेँ आउला भनी मेरो, उठ्ने पालो’, ‘बादल बनाइदेऊ’ लगायत थुप्रै गीत लोकप्रिय छन् । सो कार्यक्रममा शाहले आफ्ना रचनाका रचनागर्भ सुनाउने छन् भने पलेँटी टिमले उनका गीति सृजनाहरू प्रस्तुत गर्नेछ ।
आयोजकले अगष्ट पलेँटीको टिकट बुकिङ खुला भएको जनाएको छ ।
प्रतिक्रिया 4