+
+
Shares

सरकारले भन्यो– समाज कल्याण परिषद्‌मा १० हजार एनजीओ र १३६ आईएनजीओ मात्र सक्रिय छन्

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १४:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • समाज कल्याण परिषद्मा आबद्ध करिब ६० हजार गैरसरकारी संस्थामध्ये १० हजार मात्रै सक्रिय अवस्थामा रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
  • नेपालमा हालसम्म दर्ता भएका दुई सय ५० अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामध्ये एक सय ३६ वटा संस्था मात्र सक्रिय रहेको परिषद्ले जनाएको छ ।
  • सदस्यसचिव चक्रबहादुर बुढाले भन्नुभयो, 'समाज कल्याण परिषद्मा करिब ६० हजार एनजीओ आबद्ध छन्, जसमध्ये करिब १० हजार सक्रिय छन् ।'

२० साउन, काठमाडौं । नेपालमा दर्ता भएका गैरसरकारी संस्थाहरूमध्ये ठूलो संख्या निष्कृय रहेको पाइएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकमा समाज कल्याण परिषद्का सदस्यसचिव एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले यसबारे जानकारी गराएका हुन् ।

सदस्यसचिव बुढाका अनुसार समाज कल्याण परिषद्मा हालसम्म करिब ६० हजार गैरसरकारी संस्था (एनजीओ) आबद्ध भएपनि तीमध्ये करिब १० हजार मात्रै सक्रिय अवस्थामा छन् । त्यसैगरी, हालसम्म करिब २ सय ५० अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) ले नेपालमा काम गरेको रेकर्ड भएपनि हाल १ सय ३६ वटा संस्था मात्रै सक्रिय आयोजनासहित सञ्चालनमा रहेका छन् ।

समितिको बैठकमा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको गतिविधि र कानूनी प्रक्रियाबारे जानकारी दिँदै सदस्यसचिव बुढाले इन्टरनेशनल कमिसन अफ जुरिस्ट (आईसीजे) को पछिल्लो अवस्थाबारे स्पष्ट पारे ।

आईसीजेले सन् २००९ देखि नेपालमा कार्य शुरु गरेको र पछिल्लो पटक सन् २०२२ फेब्रुअरी २५ मा ५ वर्षका लागि सम्झौता नवीकरण गरेको छ । यस संस्थाले संक्रमणकालीन न्याय, मानव अधिकार, सर्वोच्च अदालतको नजिर र पीडित समूहको कानुनी अधिकारका क्षेत्रमा कार्य गर्दै आएको छ ।

हाल सो संस्थाले अपाङ्गता भएका महिला तथा बालिकाहरूको अधिकारका लागि ‘इनेबल’ नामक नयाँ परियोजना प्रश्ताव गरेको र उक्त प्रश्ताव हाल मन्त्रालयको सहजीकरण समितिमा छलफलका क्रममा रहेको छ ।

‘समाज कल्याण परिषद्मा करिब ६० हजार एनजीओ आबद्ध छन्, जसमध्ये करिव १० हजार सक्रिय छन् । नेपालमा हालसम्म करिव २५० आईएनजीओले काम गरेका छन् भने १३६ संस्था मात्र सक्रिय छन् । आईसीजेले सन् २००९ देखि परिषद्सँग आवद्ध भई मानवअधिकार, संक्रमणकालीन न्याय र कानूनी सुधारका क्षेत्रमा काम गर्दै आएको छ । हाल सन् २०२७ सम्मको परियोजना सञ्चालनमा रहेको छ र नयाँ परियोजनाको प्रश्ताव पनि पेश गरेको छ,’ उनले भने ।

त्यसैगरी, एम्नेस्टी इन्टरनेशनल नेपालको सन्दर्भमा यो संस्था २०६२ सालदेखि परिषद्मा आबद्ध रहेको र यसको आबद्धता २०८३ असार मसान्तसम्म बहाल रहने जानकारी दिइएको छ ।

एम्नेस्टीले सन् २०२६ का लागि ५ करोड १५ लाख ४२ हजार ५४० रुपैयाँको बजेटमा मानव अधिकार अभियान र वकालतसम्बन्धी आयोजना स्वीकृत गराएको छ । यसका लागि वैदेशिक सहायता लण्डनस्थित अन्तर्राष्ट्रिय सचिवालयबाट प्राप्त हुने परिषद्को रेकर्डमा देखिएको छ ।

‘एमनेस्टी इन्टरनेशनल नेपाल २०६२ सालदेखि परिषद्मा आवद्ध छ । यसले सन् २०२६ मा मानवअधिकारसम्बन्धी अभियान सञ्चालन गर्न करिव ५ करोड १५ लाख बजेटसहित परियोजना कार्यान्वयन गरिरहेको छ । ह्युमन राइट्स वाच २०६४ सालमा परिषद्मा आबद्ध भएपनि हालसम्म कुनै परियोजनाको स्वीकृति लिएको वा नवीकरण गरेको अभिलेख छैन,’ सहसचिव बुढाले भने, ‘परियोजना स्वीकृति समाज कल्याण परिषद् र मन्त्रालयको निर्धारित प्रक्रियाअनुसार हुन्छ । कानून वा सम्झौताको उल्लंघन भएमा परियोजना रद्द, निलम्बन वा अन्य कानूनी कारबाही गर्न सकिने व्यवस्था छ ।’

यता, ह्युमन राइट्स वाचको हकमा भने यो संस्था २०६४ सालमा परिषद्मा आबद्ध भएपनि हालसम्म कुनैपनि कार्यक्रमको स्वीकृति नलिएको र नवीकरणका लागि समेत नआएको सदस्यसचिव बुढाले बताए ।

संयुक्त विज्ञप्तिहरूमा उल्लेख हुने ह्युमन राइट्स वाच न्युयोर्कमा आधारित आइएनजीओ रहेको पनि उनले स्पष्ट पारे ।

परिषद्ले गैरसरकारी संस्थाहरूको नियमनका लागि समाज कल्याण ऐन, २०४९ र नियमावलीअनुसार कार्य गर्दै आएको छ । संस्थाहरूले नेपालको प्रचलित कानून र सम्झौताका सर्तहरू पालना नगरेमा स्पष्टीकरण सोध्ने, परियोजना सम्झौता रद्द गर्ने वा संस्था निलम्वन गर्नेसम्मको अधिकार सरकारलाई रहेको सदस्यसचिव बुढाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?