News Summary
Generated by OK AI. Editorially reviewed.- डा. धवलशमशेर राणा र दुर्गा प्रसाईंको नेतृत्वमा गठन हुन लागेको जय नेपाल पार्टी आगामी २८ साउनमा निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।
- नवगठित दलको चुनाव चिह्नका लागि त्रिभुज, घर र नमस्कार विकल्पमा छलफल भइरहेकोमा त्रिभुजको सम्भावना बढी रहेको नेताहरूले बताएका छन् ।
- पार्टीले सयभन्दा बढी केन्द्रीय सदस्यसहितको नामावली पेश गर्ने तयारी गरेको र महिला तथा युवा प्रतिनिधित्वलाई लिएर पार्टीभित्रैबाट प्रश्न उठाइएको छ ।
२१ साउन, काठमाडौं । डा. धवलशमशेर राणा र दुर्गा प्रसाईंको नेतृत्वमा खुल्न लागेको जय नेपाल पार्टीको चुनाव चिन्हका लागि तीनवटा विकल्पमा छलफल भएको छ ।
२८ साउनमा निर्वाचन आयोगमा दर्ता गर्न लागिको नवगठित दलको चुनाव चिह्नका लागि त्रिभुज, घर र नमस्कार मध्ये एक राख्ने गरी छलफल भएको छ । गीता राणाको नेतृत्वमा रहेको नेपाल लोकतान्त्रिक पार्टीसँग एकता गरेर उक्त दलको चुनाव चिन्ह ‘नमस्कार’ लाई नै जय नेपाल पार्टीको चुनाव चिन्ह बनाउने गरी संवादहरु भएको जानकारी गराइएको छ । दुई दलको एकता गर्दा नेपाल लोकतान्त्रिक दलबाट केन्द्रीय सदस्यमा धेरै जना समेट्नु परेको हुँदा एकताले मूर्त रुपमा पाउन नसकिरहेको जानकारी गराइएको छ ।
नवगठित दल जय नेपाल पार्टीको हाल कार्यालय प्रमुखको भूमिका निर्वाह गरेका सगुन लावतीले नेपाल लोकतान्त्रिक पार्टीको चुनाव चिन्ह ‘नमस्कार’लाई चुनाव चिन्ह बनाउने सम्भवना पूर्ण रुपमा अन्त्य नभइसकेको बताए । लावतीले अनलाइनखबरसँग भने,‘२८ गते दल दर्ता गर्ने हो । २७ गतेसम्म छलफल हुन्छ । सम्भावना पुरै सकिएको भनि हाल्न त मिलेन नि ।’ जय नेपाल पार्टीका नेताहरुका अनुसार चुनाव चिन्हमा सबैभन्दा बढी सम्भावना त्रिभुजमा रहेको छ ।
पार्टीको विधान लेख्नका लागि माधव कल्पितको नेतृत्वमा कार्यदल बनाइएको छ । पार्टी दर्ताको क्रममा अन्य विषय मिलाउनका लागि मुकुन्दश्याम गिरीको नेतृत्वमा कार्यदल बनाइएको छ । निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा हाल केन्द्रीय सदस्य र कार्यसम्पादन समिति सहितको नामावली पेश गर्ने तयारी गरिएको छ । लावतीका अनुसार सय बढी केन्द्रीय सदस्य राखेर पार्टी दर्ता हुनेछ । नयाँ दलको कार्यालय चाबहिलमा सुरु गरिएको छ ।
नयाँ दलमा जोड्नका लागि नेपाल लोकतान्त्रिक पार्टी सहित विभिन्न पक्षसँग छलफल गरिएको नेताहरुले जानकारी गराएका छन् । नयाँ दल गठनका लागि सक्रिय एक नेताले कानुनका प्राध्यापक युवराज संग्रौलालाई यो दलमा जोडिन आग्रह गरिएको छ ।
नयाँ दल गठन गर्ने क्रममा युवा र महिलालाई समेटिने विषयलाई लिएर चासो व्यक्त गरिएको छ । नयाँ दल गठनप्रति सकरात्मक तर युवा र महिलाको प्रतिनिधित्वप्रति शशंकित रञ्जन कार्की निर्माण गरिने पार्टी यो देशको प्रमुख पार्टी रास्वपालाई चुनौती दिने किसिमको हुनुपर्ने बताउँछन् ।
कार्कीले भने,‘जहाँ महिला युवामैत्री हुन, नेतृत्वतहमा ६०% हुनैपर्छ । र, कार्यशैली पनि नविनतम हुनैपर्छ, डिजिटल फ्रेन्डली पार्टी हुनुपर्छ । पार्टी कार्यालय अपाङ्ग मैत्री हुनुपर्छ । जनताको लोकप्रिय राष्ट्रवादी पार्टी निर्माणमा मेरो रुचि छ । त्यस्तो अवस्था रहे मात्रै न पार्टी निर्माणमा सक्रिय हुनसक्छु ।’
जय नेपाल पार्टीमा महिला र युवा प्रतिनिधित्वलाई प्राथमिकता नदिएको भन्दै महिला नेतृ अञ्जना शाह रावलले सामाजिक सञ्जाल मार्फत आपत्ति जनाएकी छन् । ‘विद्रोह गरेर नया पार्टी खोल्नुको औचित्य, पार्टी बिधान बमोजिम चलेन भनेर होइन ? गुटबन्दी भयो भनेर होइन ?,’ नयाँ दल किन खोल्नुपरेको कारण खुलाउँदै नेतृत्वलाई रावलको प्रश्न छ,‘नेतृत्वले देवत्वकरण खोज्यो भनेर होइन ? पार्टी नेतृत्वले कार्यकर्ताको सुझावलाई वेवास्ता गर्यो भनेर होइन ? एजेन्डामा खरो उत्रिन सकेन भनेर होइन ? तपाइहरुको पहिलो कदम नै विधान मैत्री भयो कि भएन ?? मर्निङ शोज द डे ।’
राप्रपा परित्याग गरेका धवलशमशेर राणालाई सभापति र अभियन्ता दुर्गा प्रसाईलाई सर्वोच्च नेता बनाएर २८ साउनमा जय नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गर्न लागिएको छ ।
प्रतिक्रिया 4