+
+
Shares

इथियोपियनलाई अफ्रिकाको ‘उड्डयन शक्तिकेन्द्र’ बनाएका टेवोल्डे बने एयर इन्डिया सीईओ

टेवोल्डेको नेतृत्वमा इथियोपियन एयरलाइन्सको आम्दानी ४ गुणाभन्दा धेरै बढेको थियो भने जहाज करिब ३ गुणाले वृद्धि भएको थियो । अब एयर इन्डिया यस्तै सफलताको पर्खाइमा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते २०:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डियाले आफ्नो नयाँ सीईओ तथा प्रबन्ध निर्देशकमा अफ्रिकाका अनुभवी व्यवस्थापक टेवोल्डे गेब्रिमारियमलाई नियुक्त गरेको छ।
  • इथियोपियन एयरलाइन्सलाई विश्वकै सफल वायुसेवामा रूपान्तरण गरेका टेवोल्डेले एयर इन्डियाको जहाज आधुनिकीकरण र सेवाको गुणस्तर सुधार गर्ने जटिल चुनौतीको सामना गर्नुपर्नेछ।
  • टाटा समूहको स्वामित्वमा रहेको एयर इन्डियाले उच्च ऋणभार र सञ्चालन समस्या सुधार्न टेवोल्डेको रणनीतिक अनुभव र नेतृत्व क्षमतामा भरोसा गरेको छ।

२१ साउन, काठमाडौं । भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डियाले आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशकमा अफ्रिकाका टेवोल्डे गेब्रिमारियमलाई नियुक्त गरेको छ । टेवोल्डेले वर्तमान सीईओ क्याम्पबेल विल्सनको स्थान लिनेछन् ।

टेवोल्डे उनै हुन् जसले एक दशकभन्दा बढी अवधि अफ्रिकाको इथियोपियन एयरलाइन्सको नेतृत्व गरेका थिए । उनले इथियोपियन एयरलाइन्सलाई क्षेत्रीय वायुसेवाबाट उचालेर अफ्रिकाकै उत्कृष्ट वायुसेवा कम्पनीमा रूपान्तरण गराएका थिए ।

टेवोल्डेको नेतृत्वमा इथियोपियन एयरलाइन्सको आम्दानी ४ गुणाभन्दा धेरै बढेको थियो भने जहाज करिब ३ गुणाले वृद्धि भएको थियो ।

इथियोपियन एयरलाइन्सले इथियोपियाको राजधानी अदिस अबाबालाई ‘एभिएसन हब’ बनाउँदै अफ्रिका र बाँकी विश्वभरि तीव्र गतिमा विस्तार गरेको थियो । त्यसबेला अधिकांश अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी व्यापारिक हिसाबमा जेनतेन टिकिरहेका थिए ।

तर, टेवोल्डेको रणनीतिक कदमले इथियोपियन एयरलाइन्सले सहजै नाफा कमाउन सफल भएको थियो । त्यही सफलता हेरेर विश्व उड्डयन क्षेत्रले उनलाई उनको पुस्ताका सबैभन्दा सफल एयरलाइन्स कार्यकारीमध्ये मान्ने गर्छ ।

८० वर्षअघि स्थापित इथियोपियन एयरलाइन्ससँग अहिले १ सय ७० जहाज सञ्चालनमा छन् । तिनले १ सय ६१ यात्रु गन्तव्य र ६८ कार्गो गन्तव्यमा उडान गरिरहेका छन् । हाल यो एयरलाइन्समा १८ हजार कर्मचारी कार्यरत छन् । कम्पनीले सन् २०२४ मा ३ खर्ब ९६ अर्ब ७० करोड बिर (इथियोपियन मुद्रा) बराबर आम्दानी गरेको थियो ।

एयर इन्डियामा टेवोल्डेका चुनौती के छन् ?

इथियोपियनलाई सफलताको उचाइमा पुर्‍याएका टेवोल्डेलाई एयर इन्डियाका चुनौती चिर्न त्यति सहज पक्कै छैन । एयर इन्डियाका सामु जहाज आधुनिकीकरण गर्न, सञ्चालन विश्वसनीयता सुधार्न, सेवाको गुणस्तर वृद्धि गर्नदेखि वर्षौं बेवास्ता गरिएको ग्राहक विश्वास पुनर्स्थापना गर्नुपर्ने निकै ठूलो र जटिल चुनौत छ ।

यसलाई टेवाल्डेले कसरी सामना गर्दै जान्छन् भन्ने बहसको विषय भएको छ । ठूला वायुसेवाका पुनर्संरचना, ग्लोबल एभिएसन हब निर्माण, सुरक्षा र सञ्चालन सुधार तथा नाफा वृद्धि गर्ने टेवाल्डेको अनुभव हेरेर एयर इन्डियाले व्यवस्थापनको नेतृत्व सुम्पेको हो ।

इथियोपियन एयरलाइन्स इथियोपियाको आर्थिक इन्जिनमात्र नभई समग्र अफ्रिका महादेशको अतिआवश्यक हवाई यातायात सञ्जाल बनेको छ । धेरै प्रतिस्पर्धी वायुसेवा कम्पनी सरकारी अनुदानका भरमा चलिरहँदा पनि इथियोपियनले भने आफ्नै मर्मतसम्भार, तालिम, कार्गो र उड्डयन पूर्वाधार निर्माण गरेको छ ।

टेवोल्डेले ‘बोइङ ७३७ म्याक्स’ दुर्घटना र कोभिड महामारी जस्ता दुइटा ठूला संकटबाट पनि इथियोपियन एयरलाइन्सलाई सुरक्षित अवतरण गराएका थिए । हो, यस्तै अनुभवी व्यवस्थापक मार्फत एयर  एयर इन्डियालाई सञ्चालन अनुशासनको आवश्यकता रहेको उड्डयन विज्ञहरू बताउँछन् ।

टेवोल्डेको हातमा एयर इन्डियाजस्तो ठूलो वायुसेवा आएको छ, जसले खर्बौं लगानी गरिसकेको छ । अब टेवाल्डेलाई उक्त लगानीलाई अझै भरपर्दो र नाफामुखी हिसाबमा सञ्चालन गर्नुपर्ने चुनौती छ ।

एयर इन्डियाको अवस्था के छ ?

९३ वर्षअघि स्थापित सरकारी वायुसेवा कम्पनी एयर इन्डियाले अत्यधिक ऋणभार थेग्न नसकेपछि सन् २०२२ मा व्यापारिक घराना टाटा ग्रुपले कम्पनी नै खरिद गरेको थियो ।

एयर इन्डियाको १ खर्ब ८० अर्ब रुपैयाँ बराबर ऋण चुक्ता र २ अर्ब २० करोड अमेरिकी डलरमा व्यवस्थापन जिम्मा लिएपछि एयर इन्डिया टाटाको स्वामित्वमा गएको थियो । अहिले एयर इन्डियामा टाटाको ७४.९ प्रतिशत र सिंगापुर एयरलाइन्सको २५.१ प्रतिशत सेयर स्वामित्व छ ।

एयर इन्डिया भारको राष्ट्रिय ध्वजावाहक भए पनि यसको सञ्चालन र व्यवस्थापन निजी कम्पनी टाटा ग्रुपले गर्दै आएको छ । हाल एयर इन्डियाले १ सय ८९ जहाजबाट ८७ गन्तव्यमा उडान गर्दै आएको छ । एयर इन्डियाले गत आर्थिक वर्ष २ अर्ब डलरभन्दा बढी घाटा बेहोरेको थियो ।

टेवाल्डेका कठिन काम

एयर इन्डियाले सीईओ र प्रबन्ध निर्देशकमा टेवाल्डेलाई नियुक्त गरेर एउटा बृहत अवसर खोजेको छ । टेवाल्डेले इथियोपियनमा अद्वितीय काम गरेका थिए । कठिन सञ्चालन वातावरण हुँदा पनि उनले इथियोपियनलाई नाफामुखी, विश्व सान्दर्भिक र रणनीतिक हिसाबमा अतिआवश्यक बनाउन सकिन्छ भन्ने प्रमाणित गरेका थिए ।

अब उनको नेतृत्वमा रहने एयर इन्डियासँग पनि ठूलो स्रोत, पर्याप्त आन्तरिक बजार, उत्कृष्ट माग र टाटा ग्रुपको साथ छ । तर पनि एयर इन्डियामा सञ्चालन समस्या, खाडी राष्ट्रका वायुसेवासँगको कडा प्रतिस्पर्धा, धेरै पुराना क्याबिन भएका जहाज छन् । टेवाल्डेका अगाडि एयर इन्डिया बनाउने बृहत अवसर रहे पनि यो काम सजिलो भने पक्कै छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?