News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रथुम लगायतका गाउँमा सामाजिक मेलमिलाप र विश्रामको केन्द्र रहेका बरपिपल र चौतारीहरू सडक विस्तार तथा आधुनिकताका कारण लोप हुँदै गएका छन् ।
- ‘कुनै व्यक्तिको सम्झनामा रोपिएको बरपिपलले पुस्तौँसम्म समाजलाई सेवा गर्थ्यो,’ ९६ वर्षीय सोवितमान खड्काले भने, ‘त्यो रूख एउटा परिवारको होइन, सबैको सम्पत्ति हुन्थ्यो ।’
- वातावरण संरक्षण र मौलिक सभ्यता जोगाउन स्थानीय तह र समुदायले पुराना चौतारीको पुनर्निर्माण तथा नयाँ बरपिपल रोप्ने अभियान सञ्चालन गर्न आवश्यक छ ।
२२ साउन, तेह्रथुम । कुनै समय नेपाली गाउँको पहिचान केवल बस्तीले होइन, बरपिपल र त्यसको छहारीमा बनेको चौतारीले पनि गर्थ्यो । बरपिपल केवल रूख थिएन, त्यो यात्रुको विश्रामस्थल, सामाजिक मेलमिलापको केन्द्र र पुस्तालाई जोड्ने जीवित इतिहास थियो ।
बरपिपलको छहारीमा गाउँका सुख–दु:ख साटिन्थे, विकासका योजना बनाइन्थे, विवाद मिलाइन्थे । जन्ती बिसाउँथे, मलामी फर्किनेहरूले थकान मेटाउँथे, किसानले भारी राखेर सास फेर्थे र बालबालिका खेल्दै हुर्किन्थे । एउटा बरपिपलले गाउँको सामाजिक, सांस्कृतिक, धार्मिक र वातावरणीय जीवनलाई एउटै छहारीमा बाँधेको हुन्थ्यो ।
तेह्रथुमको लालीगुराँस नगरपालिका–१ का ९६ वर्षीय सोवितमान खड्का आज पनि ती दिन सम्झँदा भावुक बन्छन् । उनका अनुसार चौतारी र बरपिपल यात्रु, वटुवा र भरियाले विश्राम गर्ने ठाउँ मात्र थिएन, ती आफ्ना आफन्तको स्मृतिलाई जीवित राख्ने माध्यम पनि थिए ।
‘कुनै व्यक्तिको सम्झनामा रोपिएको बरपिपलले पुस्तौँसम्म समाजलाई सेवा गर्थ्यो,’ उनी भन्छन्, ‘त्यो रूख एउटा परिवारको होइन, सबैको सम्पत्ति हुन्थ्यो ।’
तर अहिले ती बरपिपल एक–एक गर्दै हराउँदै गएका छन् । सडक र बजार विस्तार, अव्यवस्थित विकास, पुराना रूख संरक्षणमा बेवास्ता तथा नयाँ बिरुवा रोप्ने संस्कार कमजोर बन्दै जाँदा एउटा वृक्ष मात्र होइन, सयौँ वर्ष पुरानो सामाजिक सभ्यता पनि विस्तारै ओझेलमा पर्दै गएको छ ।
यात्रुको सहारास्थल, स्मृतिको जीवित प्रतीक
नेपालमा बरपिपल रोप्ने परम्परा केवल छहारीका लागि सुरु भएको थिएन । यसको पछाडि मानवता, धर्म, समाजसेवा र स्मृतिको गहिरो दर्शन जोडिएको थियो ।
सडक र सवारीसाधन नहुँदा मानिसहरू व्यापार, तीर्थयात्रा, आफन्त भेटघाट वा सरकारी कामका लागि दिनौँसम्म पैदल यात्रा गर्थे । यात्रुलाई विश्राम मिलोस्, गर्मीबाट राहत मिलोस्, पानी खान र भारी बिसाउन सहज होस् भनेर दोबाटो, उकालोको टुप्पो, खोलाको किनार, मन्दिर परिसर र गाउँको बीचभागमा बर र पिपल रोपेर चौतारी बनाइन्थ्यो ।
छथर गाउँपालिका–५ का ७४ वर्षीय दयाराम ढकालका अनुसार त्यतिबेला चौतारी र बरपिपल यात्रुको भरपर्दो सहारा थिए । ‘पहिले गाउँ–गाउँमा सडक थिएन, सवारीसाधन थिएनन् । अहिले बाटो पुगे, सडक बने, यात्रा सहज भयो,’ उनी भन्छन्, ‘तर त्यससँगै हाम्रो इतिहास र संस्कृति पनि हराउँदै गयो ।’
बरपिपल रोप्नु स्मृतिसँग पनि गहिरोसँग जोडिएको थियो । परिवारका सदस्य वा समाजका प्रतिष्ठित व्यक्तिको निधनपछि उनीहरूको पुण्यस्मृतिमा बर वा पिपल रोप्ने चलन थियो । कसैले चौतारी बनाउँथे, कसैले पाटी–पौवा निर्माण गर्थे र त्यससँगै बरपिपल रोपेर समाजलाई छहारी उपहार दिन्थे ।

त्यो रूख कुनै एक परिवारको सम्पत्ति हुँदैनथ्यो । त्यसको छहारी सबैका लागि खुला हुन्थ्यो । एउटा मानिसको सम्झनामा रोपिएको बिरुवाले सयौँ वर्षसम्म हजारौँ अपरिचित यात्रुलाई विश्राम दिन्थ्यो । त्यसैले बरपिपललाई जीवित स्मारकका रूपमा पनि हेरिन्थ्यो ।
छथर गाउँपालिका–६ का घनश्याम ढकालका अनुसार अहिले यस्तो संस्कार क्रमश: हराउँदै गएको छ । ‘पहिले रोपिएका बरपिपल पुस्तौँसम्म जीवित रहन्थे । अहिले पनि धेरै ठाउँमा छन्,’ उनी भन्छन्, ‘तर अहिले बनाइने चौतारी आठ–दश वर्ष पनि टिक्दैनन् ।’
उनका अनुसार समयमै संरक्षण गर्न नसके आउँदो पुस्ताले बरपिपल र चौतारीलाई इतिहासका पुस्तकमा मात्र पढ्नुपर्ने अवस्था आउन सक्छ ।
फेरियो जीवनशैली
बरपिपलमुनिको चौतारी केवल विश्रामस्थल थिएन । त्यो गाउँको सार्वजनिक कार्यालयजस्तै थियो । त्यहीँ पञ्चभेला बस्थ्यो, गाउँका विवाद समाधान हुन्थे, खेतीपाती, सिँचाइ, मेलापात, विवाहलगायत सामाजिक विषयमा निर्णय गरिन्थ्यो ।
साँझपख ज्येष्ठ नागरिकले लोककथा सुनाउँथे, युवाले भविष्यका योजना बुन्थे र बालबालिकाले संस्कार सिक्थे । बरपिपलको छहारीले समाजलाई अदृश्य रूपमा जोड्ने काम गर्थ्यो ।
तर समयसँगै जीवनशैली फेरियो । सडक विस्तार भयो, मोटरसाइकल र गाडीले पैदल यात्रालाई विस्थापित गरे, होटल र विश्रामस्थल थपिए । सडक फराकिलो बनाउने क्रममा धेरै पुराना बरपिपल काटिए, कतिपय प्राकृतिक रूपमा ढले र कतै बजार विस्तारको चपेटामा परे ।
तर त्यसको सट्टामा नयाँ बरपिपल रोप्ने संस्कार भने विस्तारै हराउँदै गयो । अहिले कतै चौतारी छन् तर बरपिपल छैनन्, कतै बरपिपल छन् तर चौतारी भत्किएका छन् । धेरै ठाउँमा दुवै बुढापाकाका सम्झनामा मात्र सीमित हुन थालेका छन् ।
वातावरण र सभ्यता जोगाउने चुनौती
बरपिपल हराउनु भनेको केवल एउटा रूख हराउनु होइन । यससँगै गाउँको साझा भेटघाट, पुस्ताबीचको संवाद, लोककथा, उखान–टुक्का, सामाजिक एकता र आत्मीय सम्बन्ध पनि कमजोर बन्दै गएका छन् ।
मोबाइल फोन र सामाजिक सञ्जालले मानिसलाई जोडिरहेका भए पनि बरपिपलको छहारीमा बसेर निर्माण हुने सामाजिक सम्बन्ध र अपनत्वको विकल्प बन्न सकेको छैन ।
जलवायु परिवर्तनको असर बढिरहेका बेला बरपिपलको संरक्षण झन् महत्वपूर्ण बनेको छ । यी वृक्षले कार्बन अवशोषण गर्ने, तापक्रम घटाउने, माटो कटान रोक्ने, पानीका मुहान संरक्षण गर्ने र जैविक विविधतालाई टेवा पुर्याउने काम गर्छन् । एउटा परिपक्व बर वा पिपल तयार हुन दशकौँ लाग्ने भएकाले आज काटिएको रूखको क्षति छोटो समयमै पूर्ति गर्न सम्भव हुँदैन ।
त्यसैले विकास र संरक्षणबीच सन्तुलन कायम गर्नु आजको आवश्यकता हो । स्थानीय तह, सामुदायिक वन, विद्यालय, धार्मिक संस्था र स्थानीय समुदायले पुराना बरपिपलको संरक्षण, ऐतिहासिक चौतारीको पुनर्निर्माण तथा सार्वजनिक स्थानमा नयाँ बरपिपल रोप्ने अभियान सञ्चालन गर्न आवश्यक छ ।
विशेषगरी दिवंगत आफन्तको स्मृतिमा बरपिपल रोप्ने पुर्ख्यौली संस्कारलाई पुनर्जीवित गर्न सकियो भने त्यसले वातावरण संरक्षणसँगै नेपाली समाजको मौलिक पहिचान र साझा सभ्यतालाई पनि जोगाइराख्न महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।
प्रतिक्रिया 4