News Summary
Generated by OK AI. Editorially reviewed.- धनुषाको ढल्केवरमा ट्रमा सेन्टर निर्माणको माग गर्दै संघर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
- मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले सरकारले ट्रमा सेन्टरको स्थान परिवर्तन गर्न खोजेको भन्दै विरोधस्वरुप राजमार्ग बन्दसहितका आन्दोलन घोषणा गरेका हुन् ।
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरमै ट्रमा सेन्टर बनाउने योजना यथावत् रहेको भन्दै मन्त्रालय त्यसलाई अगाडि बढाउन प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन् ।
२२ साउन, जनकपुरधाम । ट्रमा सेन्टर प्रस्तावित ठाउँमै बन्नुपर्ने माग राख्दै धनुषाको ढल्केवरमा चरणबद्ध आन्दोलनको घोषणा गरिएको छ । संघर्ष समितिले ढल्केवरमा आज बिहान पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको हो ।
बुधबार सदनमा स्वास्थ्यमन्त्री लाहानमा बन्ने जानकारी गराएकी थिइन् । यसपछि ढल्केबर क्षेत्रमा विरोध सुरु भएको छ । शुक्रबार पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक समेत रहेका मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले आन्दोलनबारे जानकारी गराएका छन् ।
आन्दोलनको कार्यक्रम अन्तर्गत २३ साउनमा राँके जुलुस प्रदर्शन गर्ने २४ साउनमा पूर्वपश्चिम राजमार्गको ढल्केबरमा आधा घण्टा चक्काजाम गर्ने २५ साउनमा क्रमशः १ घण्टा चक्काजाम गर्दै जाने निर्णय गरिएको छ ।
यस्तै २६ साउन बिहान ११ बजेदेखि १२ बजेसम्म र २७ साउन बिहान ११ बजेदेखि १ बजेसम्म चक्काजामको कार्यक्रम रहेको संघर्ष समितिका संयोजक समेत रहेका मेयर महतोले जानकारी दिए ।
यसअघि समितिले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।
हाल मिथिला नगरपालिका–७, साविकको ढल्केवर गाविस वडा नं २‘क’ को कित्ता नं १६९ को चार विघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा पहिलो पटक रकम विनियोजन गरेको थियो ।
उक्त योजनाका लागि जग्गा प्राप्तिको प्रक्रिया पनि पूरा भइसकेर लालपुर्जा बनिसकेको मेयर महतोले बताए । शिलान्यासको संघारमा रहेको उक्त योजना विवादित बनेको छ ।
शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आफ्नो फेसबुक पेजमार्फत ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने सरकारको योजना यथावत् रहेको स्पष्ट पारिसकेकी छन् । मन्त्री मेहताले लेखेकी छन्, ‘ यसलाई कुनै पनि रूपमा रोकिएको वा परिवर्तन गरिएको होइन । ढल्केबरको भौगोलिक अवस्थिति, पूर्व–पश्चिम राजमार्ग तथा मधेश प्रदेशलाई जोड्ने प्रमुख सडक सञ्जालका कारण त्यहाँ ट्रमा सेन्टरको आवश्यकता अझै पनि उत्तिकै महत्त्वपूर्ण रहेकोले मन्त्रालय त्यसलाई अगाडि बढाउन प्रतिबद्ध छ ।’
‘ढल्केवरमै ट्रमासेन्टर बन्ने बारे मन्त्रीले सदनमा बोल्नु पर्यो वा मन्त्रालयको आधिकारिक धारणा आउनु पर्छ । नभएसम्म आन्दोलन जारी रहन्छ,’ उनले चेतावनी दिए ।
प्रतिक्रिया 4