News Summary
Generated by OK AI. Editorially reviewed.- सभामुख डोल प्रसाद अर्यालले धनुषाको ढल्केवरमा ट्रमा सेन्टर सार्ने योजनाबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिए।
- सांसद चन्द्र मोहन यादवले सरकारले पूर्व प्रस्तावित ढल्केवर ट्रमा सेन्टरको योजना अन्यत्र सार्न खोजेको भन्दै संसदमा विरोध जनाए।
- स्वास्थ्यमन्त्री निशा मेहताले लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि स्थानीयवासी आन्दोलित भएकाले सांसद यादवले जवाफ माग गरेका हुन्।
२२ साउन, काठमाडौं । सभामुख डोल प्रसाद अर्याल (डिपी)ले ढल्केबरमा बनाउने भनिएको ट्रमा सेन्टर सार्ने योजनाबारे सदनलाई जानकारी गराउन निर्देशन गरेका छन् ।
‘आजै सभामा माननीय सदस्य चन्द्र मोहन यादवले राख्नुभएको विषय के हो ? यो विषयमा सदनलाई जानकारी गराउन म सरकारलाई निर्देशन दिन्छु’ सभामुख अर्यालले भने ।
यसअघि कांग्रेस सांसद चन्द्रमोहन यादवले धनुषाको ढल्केवरमा ट्रमा सेन्टर बनाउन माग गर्दै यो विषयमा सरकारको जवाफ मागेका थिए ।
यो विषयमा पूर्वतर्वी सरकारले प्रस्ताव गरेको तर वर्तमान सरकारले अगाडि नबढाउन खोजेको भनेर उनले सरकारको विरोधमा र स्थानीय जनताको पक्षमा दिनभर संसद्मा उभिने घोषणा नै गरेका थिए ।
त्यसपछि सभामुख अर्यालले पटक–पटक बस्न आग्रह गरे । तर मानेनन् ।
बरु सांसद यादवले वैज्ञानिक रुपमा पनि ढल्केवरमा ट्रमा सेन्टर आवश्यक रहेको बताए । तर यो प्रस्तावित योजना अन्यत्रै सारिएको भन्दै आन्दोलन चर्किएको स्मरण गराए ।
गत मंगलबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्यमन्त्री निशा मेहताले मधेश प्रदेशको लहानमा ट्रमा सेन्टर बन्ने बताएकी थिइन् । मन्त्री मेहताले यस्तो बताएपछि स्थानीय आन्दोलित भएको पनि उनले बताए ।
हाल मिथिला नगरपालिका–७, साविकको ढल्केवर गाविस वडा नं २ ‘क’ को कित्ता नं १६९ को चार विघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर संघिय सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा धनुषाको ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा पहिलो पटक रकम विनियोजन गरेको थियो ।
उक्त योजनाका लागि जग्गा प्राप्तिको प्रक्रिया पनि पूरा भइसकेर लालपूर्जा बनिसकेको अवस्थामा सरकारले प्रस्तावित योजना अन्यत्रै सारेको भनेर सांसद यादवले विरोध गरेका हुन् ।
शिलान्यासको संघारमा रहेको प्रस्तावित योजना स्वास्थ्य मन्त्रीको अभिव्यक्तिले विवादमा तानिएको भनेर उनले विरोधमा संसद्मा दिनभर उभिने घोषणा गरेपछि सभामुख अर्यालले सरकारलाई यस विषयमा सदनलाई जानकारी गराउन निर्देश गरेका हुन् ।
प्रतिक्रिया 4