२२ साउन, विराटनगर । सत्ता सहकार्यका लागि केन्द्रीय नेतृत्वले सहमति गरेको १३ दिनपछि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच कोशी प्रदेशमा औपचारिक छलफल सुरु भएको छ । प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीको निरन्तरता सुनिश्चित भएपछि दुई दलबीच शुक्रबार सरकारको कार्यदिशा र शक्ति बाँडफाँटका विषयमा छलफल भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशीमा मुख्यमन्त्री परिवर्तन गर्न चाहेका कारण कोशी प्रदेशमा अन्योल देखिएको थियो । तर, बुधबार कार्कीकै नेतृत्वलाई निरन्तरता दिने निष्कर्ष सुनाएपछि शुक्रबार नेकपाका नेताहरू छलफलका लागि मुख्यमन्त्री निवास पुगेका थिए ।
छलफलमा नयाँ सरकारको कार्यविधि, मन्त्रालय बाँडफाँट र नीतिगत प्राथमिकताका विषयमा कुराकानी भएको हो । सोमबारसम्म छलफललाई टुङ्गोमा पुर्याउने तयारी छ ।
नेकपाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रम र बजेट पुनरावलोकनलगायत विषयमा छलफल भएको छ ।
कोशी प्रदेशको नाम पुनरावलोकन गर्ने विषयमा पनि छलफल भएको आङ्बोले बताए ।
‘कम्युनिस्ट दलले नै प्रदेश नामकरण गरेका हुन् । जनताको मागलाई सम्बोधन पनि कम्युनिस्ट दलले नै गर्नुपर्छ,’ उनले भने, ‘नाम पुनरावलोकनका विषयमा हाम्रो दल तयार छ । उहाँहरूले केन्द्रमा छलफल गरेर निष्कर्षमा पुगौं भन्नुभएको छ ।’ मन्त्रालय बाँडफाँटको विषयमा भने सोमबार टुङ्गो लाग्ने उनले बताए ।
नेकपा र नेकपा एमालेबीच सत्ता सहकार्यको सहमति हुँदा कोशी प्रदेशमा एमालेले ५ मन्त्रालय लिने सहमति छ । नेकपाले भने ४ वटा मन्त्रालय पाउनेछ ।
‘सरकार पुरानै शैलीमा चल्नसक्दैन, साझा न्यूनतम कार्यक्रम बनाएर अगाडि बढ्ने कुराकानी भएको छ । बजेट पनि पुनरावलोकनको मोडालिटीका विषयमा छलफल जारी छ’, आङ्बोले भने ।
सरकारबाट नेपाली कांग्रेसका मन्त्रीले राजीनामा दिएका छैनन् । आइतबार कांग्रेसले सरकार छाड्ने तयारी गरेको छ ।
प्रतिक्रिया 4