News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली पुरुष क्रिकेट टोलीले आगामी केही महिना लगातार विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।
- टप एन्ड टी-२० सिरिज देखि एसियन गेम्स अनि प्रिमियर कपदेखि लिग २ शृङ्खला गरी विभिन्न प्रतियोगिताहरू हुने तय छ ।
- अन्तर्राष्ट्रिय व्यस्तताका बीच कात्तिक र मंसिर महिनामा हुने नेपाल प्रिमियर लिगको तेस्रो संस्करण चल्नेछ ।
२५ साउन, काठमाडौं । नेपाली क्रिकेट टोलीका लागि अबको केही महिना निकै व्यस्त रहनेछ । राष्ट्रिय टोलीदेखि फ्रेन्चाइज लिगसम्म नेपालका पुरुष खेलाडीले लगातार विभिन्न प्रतियोगिता र शृङ्खलामा प्रतिस्पर्धा गर्नुपर्ने तालिका तय छ ।
नेपालले अगस्टको अन्तिम सातादेखि नै अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्तता सुरु गर्नेछ । अगस्ट २१ देखि २९ सम्म अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी–२० सिरिजमा नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछ । त्यसपछि सेप्टेम्बर ६ मा नेपालले डार्विनमै न्युजिल्यान्ड ‘ए’सँग अभ्यास एकदिवसीय खेल खेल्नेछ ।
त्यसपछि नेपाली खेलाडीको ध्यान एसियाली खेलकुदतर्फ जानेछ । सेप्टेम्बर २४ देखि अक्टोबर ३ सम्म जापानमा हुने २०औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउनेछ ।
एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेपछि नेपाली टोली फेरि क्रिकेट विश्वकप लिग २ मा प्रतिस्पर्धा गर्न ओमान जानेछ । ओमानबाट फर्किएलगत्तै केही दिनमा एनपीएलको तेस्रो संस्करण सुरु हुनेछ ।
त्यसपछि आयरल्यान्डको नेपाल भ्रमण अनि भारत ‘ए’ टोलीले नेपालमै आएर टी-२० शृङ्खला खेल्ने तय छ ।
यस्तै सह-आयोजकका रूपमा नेपालले आईसीसी महिला यू-१९ टी-२० विश्वकप पनि खेल्दैछ ।
नेपाली पुरुष क्रिकेट टोलीले यसबीचमा टी-२० र ओडीआई दुवै फर्म्याटका प्रतियोगिताहरू खेल्नेछ ।
महिला टोलीका लागि भने पीएम कप राष्ट्रिय प्रतियोगिता हुनुपर्ने मिति बितिसक्दा पनि हुन सकेको छैन ।

टप एन्ड टी-२० सिरिज
अब हुने सबैभन्दा नजिकको प्रतियोगिता भनेको अस्ट्रेलियन टप एन्ड टी-२० सिरिज नै रहनेछ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा हुने उक्त प्रतियोगितामा नेपालले दोस्रोपटक सहभागिता जनाउँदैछ ।
नेपालले लिग चरणमा ६ खेल खेल्नेछ । नेपालले पहिलो खेलमा अगस्ट २१ मा एनटी स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले दोस्रो खेल अगस्ट २२ मा बंगलादेश हाई–परफर्मेन्स टोलीसँग खेल्नेछ । त्यसपछि अगस्ट २४ मा होबार्ट हरिकेन्स एकेडेमी, अगस्ट २६ मा एसीटी कोमेट्स, अगस्ट २७ मा किङ्समेन र अगस्ट २९ मा भिक्टोरियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
नेपालले गत संस्करणमा ६ खेल खेल्दा दुई खेल जितेको थियो भने चार खेलमा पराजित भएको थियो ।
एसीसी मेन्स प्रिमियर कप
टप एन्ड सिरिजलगत्तै एसीसी प्रिमियर कप हुने तय छ । अगस्ट ३० देखि सेप्टेम्बर अर्थात् भाद्र १५ देखि २९ सम्म मलेसियामा प्रिमियर कप आयोजना हुनेछ ।
यसपटक प्रिमियर कप ५० ओभरको फर्म्याटमा हुँदैछ । नेपालले टप एन्ड सिरिज र प्रिमियर कपका लागि फरक टोलीको घोषणा गर्ने सम्भावना छ ।
एसीसी प्रिमियर कपमा नेपालले समूह चरणमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङसँग प्रतिस्पर्धा गर्नेछ । एसीसी प्रिमियर कप एसिया कपका लागि छनोट हुने आधार समेत हो ।
नेपालले पछिल्लोपटक सन् २०२३ मा एसिया कप हुँदा भारत र पाकिस्तानजस्ता टोलीसँग प्रतिस्पर्धा गरेको थियो । यसपटक पनि नेपाललाई एसियाका उत्कृष्ट टोलीसँग खेल्ने अवसर बन्न सक्छ ।

एसियाडमा चौथो सहभागिता
नेपालले एसियन गेम्स अन्तर्गत क्रिकेटमा पनि सहभागिता जनाउँदै छ । एसियन गेम्सको क्रिकेट खेल सेप्टेम्बर २४ देखि अक्टोबर ३ अर्थात् असोज ८ देखि १७ सम्म हुनेछ ।
एसियाली खेलकुदको क्रिकेटमा नेपालले यसअघि तीन संस्करणमा सहभागिता जनाए पनि अहिलेसम्म क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन । यसपटक भने नेपाल पुरानो इतिहास बदल्दै कम्तीमा सेमिफाइनलसम्म पुग्ने लक्ष्यमा हुनेछ ।
सिंगापुरमा भएको एसियाली खेलकुद छनोट प्रतियोगिताबाट नेपालले मुख्य प्रतियोगितामा स्थान बनाएको हो । एसियाडको क्रिकेटमा नेपाल अफगानिस्तान र जापानसँगै समूह ‘ए’ मा परेको छ ।
समूहमा नेपालसँगै रहेको अफगानिस्तान अहिले विश्व क्रिकेटको बलियो टोलीका रूपमा स्थापित भइसकेको छ । नेपालले अफगानिस्तानसँग एसियाडमै १२ वर्षपछि खेल्न लागेको हो ।
यसअघि सन् २०१४ को एसियाली खेलकुदको क्वाटरफाइनलमा नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा भएको थियो । सोही वर्ष टी-२० विश्वकपमा पनि यी दुई टोली भिडेका थिए ।
जापानसँग भने नेपालले पछिल्लो समय खेलिसकेको छ । टी–२० विश्वकपको ग्लोबल छनोटका क्रममा नेपालले जापानको सामना गरेको थियो ।
समूह चरण पार गर्नका लागि एक जित मात्र पनि पर्याप्त हुन सक्छ । नेपाल अगाडि बढेमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकाजस्ता टोलीसँग क्वाटरफाइनलमा खेल्नेछ ।
लिग २ को अन्तिम शृङ्खला
एसियाडपछि नेपाली राष्ट्रिय टोलीका लागि अर्को महत्वपूर्ण प्रतियोगिता आईसीसी क्रिकेट विश्वकप लिग–२ हुनेछ । अक्टोबर ९ देखि १९ (असोज २३ देखि कात्तिक २) सम्म ओमानमा हुने शृङ्खलाले नेपालको एकदिवसीय यात्राका लागि महत्वपूर्ण अर्थ राख्नेछ ।
हाल लिग २ को अंकतालिकामा संकटपूर्ण अवस्थामा रहेको नेपालका लागि अब बाँकी अन्तिम शृङ्खलाका ४ खेलले धेरै अर्थ राख्नेछ । नेपालको शीर्ष ४ मा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्ने सम्भावना लगभग समाप्त भइसक्दा अब शीर्ष ६ मा परेर एकदिवसीय मान्यता जोगाउने र प्लेअफ लिगमार्फत विश्वकप छनोट खेल्ने लक्ष्य हुनेछ ।
लिग–२ को शृङ्खला र एसियाडबीचको व्यस्तताका कारण खेलाडी र टोली व्यवस्थापनका लागि फिटनेस तथा तयारी चुनौतीपूर्ण हुने देखिन्छ । त्यसबेला दसैंको समयसमेत पर्ने भएकाले नेपाली खेलाडीले चाडपर्वको समयमा पनि मैदानमै रहनुपर्ने अवस्था बन्न सक्छ ।

एनपीएलले थप्नेछ घरेलु व्यस्तता
ओमान भ्रमणलगत्तै नेपाली क्रिकेटमा घरेलु फ्रेन्चाइज क्रिकेटको माहोल सुरु हुनेछ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अक्टोबर २६ देखि २१ अर्थात् कात्तिक ९ देखि मंसिर ५ सम्म आयोजना हुनेछ ।
एनपीएलमा राष्ट्रिय टोलीका सबैजसो खेलाडी व्यस्त हुनेछन् । अन्तर्राष्ट्रिय खेलसँगै फ्रेन्चाइज क्रिकेटमा समेत खेलाडीले आफ्नो लय र फिटनेस कायम राख्नुपर्नेछ ।
एनपीएलबाट टी-२० को लय कायमै रहँदा ओडीआईको लयमा भने उतारचढावको सम्भावना रहन्छ किनभने नेपाली खेलाडीले यसबीचमा ओडीआई र टी-२० दुवै प्रतियोगिता खेलिरहेका हुनेछन् ।
आयरल्यान्ड र भारत ‘ए’ सँग नेपालमै शृङ्खला
नेपालले यसै अवधिमा आयरल्यान्डको भ्रमण वा आयरल्यान्डलाई घरेलु मैदानमा आतिथ्य गर्ने सम्भावना पनि छ । आयरल्यान्डको नेपाल भ्रमण सेप्टेम्बरको व्यस्ता तालिकाबीच हुने सम्भावना नरहँदा त्यो नोभेम्बरलाई सर्न सक्छ ।
त्यसपछि डिसेम्बरमा नेपाली क्रिकेटले अर्को ठूलो अवसर पाउनेछ । नेपालले काठमाडौंमा भारत ‘ए’सँग तीन खेलको शृङ्खला खेल्ने पक्का भइसकेको छ ।
डिसेम्बर ९, ११ र १३ अर्थात् मंसिर २३, २५ र २७ मा नेपाली टोलीले भारतको बलियो ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
यू–१९ महिला विश्वकप पनि नेपालमै
राष्ट्रिय टोलीको व्यस्ततासँगै नेपाली क्रिकेटको अर्को महत्वपूर्ण जिम्मेवारी भनेको यू–१९ महिला विश्वकप आयोजना गर्नु हुनेछ । आईसीसी यू–१९ महिला विश्वकप २०२७ नेपाल र बंगलादेशको संयुक्त आयोजनामा हुनेछ । प्रतियोगिता २०२७ को जनवरी–फेब्रुअरीमा आयोजना हुनेछ ।
यसरी हेर्दा अबको केही महिना नेपाली क्रिकेटका लागि लगातार अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगिताले भरिनेछ । राष्ट्रिय टोलीले एकदिवसीय मान्यता जोगाउने अभियानदेखि एसियाड र अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा चुनौती सामना गर्दा खेलाडीहरू एनपीएलमा पनि व्यस्त हुनेछन् ।
लगातारको खेलले खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव र लय कायम राख्ने अवसर दिने भए पनि फिटनेस, खेलाडी व्यवस्थापन र पर्याप्त तयारी नेपाली टोलीका लागि उत्तिकै महत्वपूर्ण हुनेछन् ।
खासगरी लिग २, एसियाड र अन्य अन्तर्राष्ट्रिय शृङ्खलाबीच खेलाडीलाई उचित आराम र तयारीको समय व्यवस्थापन गर्न सक्नु नेपाली क्रिकेटको आगामी यात्रामा महत्वपूर्ण बन्नेछ ।
प्रतिक्रिया 4