News Summary
Generated by OK AI. Editorially reviewed.- क्रिकेट स्कटल्यान्ड र नेदरल्यान्ड्सले आईसीसीद्वारा पुरुष ५० ओभर विश्वकपको छनोट प्रक्रिया र संरचनामा गरिएको परिवर्तनप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
- उनीहरूले विश्वकप सुरु हुन १८ महिना बाँकी रहँदा गरिएको यस्तो निर्णयले एसोसिएट राष्ट्रको क्रिकेट विकासमा प्रत्यक्ष नकारात्मक असर पार्ने आरोप लगाएका छन् ।
- एसोसिएट सदस्यहरूसँग पर्याप्त परामर्श नगरी निर्णय गरिएको भन्दै दुवै संघले आईसीसीलाई तत्काल पुनः संवादमा आउन र प्रक्रिया स्पष्ट पार्न आग्रह गरेका छन् ।
२५ साउन, काठमाडौं । क्रिकेट स्कटल्यान्ड र नेदरल्यान्ड्सको रोयल डच क्रिकेट संघ (केएनसीबी) ले आईसीसी पुरुष ५० ओभर विश्वकपको छनोट प्रक्रिया र प्रतियोगिता संरचनामा गरिएको परिवर्तनप्रति असन्तुष्टि जनाएका छन् ।
दुवै क्रिकेट संघले विश्वकप सुरु हुन १८ महिनाभन्दा कम समय बाँकी रहँदा आईसीसीले छनोट संरचनामा महत्वपूर्ण परिवर्तन गरेको भन्दै यसले एसोसिएट राष्ट्रको क्रिकेट विकासमा असर पार्ने बताएका छन् ।
संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले पछिल्ला वर्षमा विश्व क्रिकेट विस्तारका लागि एसोसिएट राष्ट्रले गरेको प्रगतिलाई नयाँ संरचनाले कमजोर बनाउन सक्ने बताएका छन् ।
उदीयमान राष्ट्रलाई विश्वकपजस्ता ठूला प्रतियोगितामा अर्थपूर्ण अवसर घटाउनु क्रिकेटलाई विश्वव्यापी बनाउने अभियानकै विपरीत हुने उनीहरूको भनाइ छ ।
पर्याप्त परामर्शबिना परिवर्तन गरिएको आरोप
स्कटल्यान्ड र केएनसीबीले छनोट संरचनाजस्तो महत्वपूर्ण विषयमा एसोसिएट सदस्यसँग पर्याप्त परामर्श नगरी निर्णय गरिएको आरोप लगाएका छन् । उनीहरूले यस्ता निर्णय स्पष्ट प्रक्रिया, पारदर्शी छलफल र सदस्य राष्ट्रसँगको प्रभावकारी परामर्शपछि मात्रै गरिनुपर्ने बताएका छन् ।
विश्वकप छनोट चक्र सुरु भइसकेपछि छोटो समयमै संरचना परिवर्तन गर्दा खेलाडी तथा संघको तयारी, आर्थिक योजना र सञ्चालनमा अनिश्चितता थपिने उनीहरूको भनाइ छ ।
दुवै संघका अनुसार विश्वकप खेल्ने लक्ष्यसहित एसोसिएट राष्ट्रका खेलाडी र संघले वर्षौं तयारी र लगानी गर्ने भएकाले छनोटको बाटो बीचमै परिवर्तन गर्दा उनीहरूलाई प्रत्यक्ष असर पर्छ ।
आईसीसीसँग दुईपटक छलफल, जवाफ नआएको दाबी
परिवर्तन सार्वजनिक भएपछि क्रिकेट स्कटल्यान्ड, केएनसीबीसहित अन्य एसोसिएट सदस्यले आईसीसीसँग दुईपटक छलफल गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले परिवर्तनबारे आधिकारिक लिखित जानकारी, प्रक्रियाबारे स्पष्टता तथा भविष्यमा निर्णय प्रक्रियालाई थप व्यवस्थित बनाउन सकारात्मक कदम चाल्न माग गरेका थिए । साथै एसोसिएट सदस्यलाई फुल मेम्बर राष्ट्रसँग हुने द्विपक्षीय योजना बैठकमा सहभागी गराउन पनि आग्रह गरिएको थियो ।
तर दोस्रो बैठक भएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि आईसीसीबाट थप प्रतिक्रिया नआएको उनीहरूको दाबी छ । दुवै संघले यसलाई निराशाजनक र आफूहरूले उठाएका विषयको महत्वलाई बेवास्ता गरेको रूपमा लिएका छन् ।
विश्वकपको अवसरले एसोसिएट क्रिकेटमा लगानी बढाउने दाबी
स्कटल्यान्ड र नेदरल्यान्ड्सले विश्वकपमा छनोट हुनु एसोसिएट राष्ट्रका लागि खेलभन्दा बाहिर पनि महत्वपूर्ण अवसर भएको बताएका छन् । विश्वकप सहभागिताले खेलाडीलाई प्रेरित गर्नुका साथै लगानी, प्रायोजन र सरकारी सहयोग आकर्षित गर्न तथा नयाँ समर्थक जोड्न सहयोग गर्ने उनीहरूको भनाइ छ ।
आईसीसीका ठूला प्रतियोगितामा एसोसिएट राष्ट्रले फुल मेम्बरलाई चुनौती दिएका तथा पराजित गरेका खेलहरू विश्व क्रिकेटका सम्झनलायक क्षण बनेको उल्लेख गर्दै उनीहरूले सफलता मैदानमा प्रदर्शनका आधारमा निर्धारण हुनुपर्ने बताएका छन् ।
आईसीसीलाई पुनः संवादमा आउन आग्रह
क्रिकेट स्कटल्यान्ड र केएनसीबीले आईसीसीलाई एसोसिएट सदस्यसँग पुनः संवादमा आउन र उनीहरूले उठाएका मागमाथि छलफल गर्न आग्रह गरेका छन् ।
विश्वकप छनोटको बाटो स्थिर, स्पष्ट र पूर्वानुमान गर्न सकिने हुनुपर्ने भन्दै उनीहरूले सबै सदस्य राष्ट्रलाई प्रतिस्पर्धा, विकास र सफलता हासिल गर्ने समान तथा वास्तविक अवसर प्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।
दुवै संघले आगामी पुरुष विश्वकप प्रतिस्पर्धात्मक र सफल बनाउन आईसीसीसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताएका छन् । क्रिकेटको दीर्घकालीन विकासका लागि सबै सदस्यको अर्थपूर्ण सहभागिता र निष्पक्ष अवसर आवश्यक रहेको उनीहरूको निष्कर्ष छ ।
प्रतिक्रिया 4